केरुङ नाकामा तस्करी नियन्त्रण गर्न चिनियाँ अधिकारीको प्रतिबद्वता

विदुर खबर २०७६ असार १८ गते १३:३३

नुवाकोट असार १८, सुन लगायत सबै सामानहरूको चोरी तस्करी नियन्त्रण गर्न सहयोग गर्ने चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

Advertisement

बुधवार स्याफ्रूबेसीमा नेपाल र चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुबीच भएको छलफल कार्यक्रममा सुन लगायत सबै सामानहरूको चोरी तस्करी नियन्त्रण गर्न चिनियाँ अधिकारीले सहयोग गर्ने प्रतिबद्वता जनाएका हुन् । पछिल्लो समय तस्करले रसुवागढी नाकाको प्रगोग गर्न थालेपछि नियन्त्रण गर्न बुधबारको बैठकमा नेपाली पक्षले चिनियाँ अधिकारीहरूलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। ‘सुन लगायत सबै मालवस्तुहरुको चोरी तस्करी नियन्त्रण गर्न चिनियाँ पक्षले सहयोग गर्ने प्रतिबद्वता जनाएको छ’ उनले भने। नाकाबाट हुन सक्ने चोरी तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा चेकजाँच अझ कडा गरिने कुरामा चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएको भण्डारीले बताए।

नाकामा संयुक्त कमाण्ड सेन्टर स्थापना गर्ने विषयमा पनि छलफल भएको छ। ‘अबको एक महिनाभित्रमा संयुक्त कमाण्ड सेन्टर स्थापना हुनेछ। सहमतिपत्रको ड्राफ्ट तयार भइसकेको छ। गृह मन्त्रालयबाट अनुमति लिएर सहमति पत्रमा हस्ताक्षर हुन्छ’ उनले भने। नाकामा संयुक्त कमाण्ड सेन्टर स्थापना भएपछि मानव बेचबिखन, लागूपदार्थ ओसारपसार, वन्यजन्तुका अंगहरु निकासी, बहमूल्य जडीबुटी तथा अवैध सुन लगायतका सामाग्रीहरूको ओसार पसार नियन्त्रण गर्न सहयोग पुग्नेछ। यसले नाकामा हुने समस्या तत्काल हल गर्न सहज हुने अपेक्षा गरिएको छ। यस्तै, केरुङसम्म जानका लागि जिल्ला बाहिरका बासिन्दालाई एकदिने पास र व्यवसायीलाई बिजनेश पासको व्यवस्था लागू गर्न नेपाली पक्षले बैठकमा पुनः चिनियाँ अधिकारीहरूलाई अनुरोध गरेको छ। एक दिने पास लागु गर्ने विषयमा माथिल्लो निकायमा जानकारी गराउने चिनियाँ पक्षले बैठकमा बताएका छन्। वान डे पासको व्यवस्था नहुँदा रसुवा जिल्ला भन्दा बाहिरका व्यापारीलाई केरुङ पुगेर व्यापार व्यवसाय गर्न असहज भएको छ।

जिल्ला बाहिरका व्यापारी केरुङ जान पाइरहेका छैनन्। कन्टेनर चालकलाई १५ दिनको पास दिने कुरामा चिनियाँ अधिकारीहरूले प्रतिबद्धता जनाएका छन्। जिल्ला भन्दा बाहिरका व्यापारीले एकदिने पासको व्यवस्था नहुँदा केरुङसम्म जान नसकेको गुनासो गर्दै आएका छन्। रसुवा जिल्ला भन्दा बाहिरकालाई केरुङसम्म जाने पहुँच छैन। केरुङसम्म जान खुकुलो व्यवस्था भए व्यापार–व्यवसायले गति लिने व्यापारीहरू बताउँछन्। चेलीबेटी बेचबिखनको विषयमा पनि बैठकमा छलफल भएको छ। बैठकमा नेपालको तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी लगायत सुरक्षा अधिकारी र चिनियाँ पक्षबाट जनवादी गणतन्त्र चीनको केरुङस्थित फ्रन्टायर इन्स्पेक्सन स्टेसनका मेजर कर्नेल गाओ हुइहाइ सहित सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया