पेट्रोल बोकेको गाडी विस्फोट हुँदा नाइजेरियामा ४५ जनाको मृत्यु

विदुर खबर २०७६ असार १८ गते १:३६

नुवाकोट असार १८, नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले मङ्गलबार जनाएको छ।

Advertisement

पेट्रोल गाडी सडकमा पल्टिएपछि यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको बताइएको छ। ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो। सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले घटनाको पुष्टि गर्दै भने, ‘हामीले ४५ मृत शरीरलाई घटनास्थलबाट निकालेका छौँ भने कम्तीमा १ सय घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।’

अधिकांशका शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन्। मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना बालबालिका छन्।अधिकारीका अनुसार घटनास्थल नजिकैबाट एउटा बस पार हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको हो। घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो। 

Advertisement

रासस/एएफपी

प्रतिक्रिया