ओली : दक्षिणपन्थी फासिवादको नेपाली आयाम


राजमान तामाङ
नुवाकोट असार १३, समाजको विकास र परिवर्तन त्यो समाजमा रहेका विपरीत वर्गबीचको आपसी सम्बन्ध र सङ्घर्षका माध्यमबाट हुनेगर्छ । त्यसैले कार्लमार्क्सले मानव जातिको इतिहासलाई वर्गसङ्घर्षको इतिहास भनेर संश्लेषण गर्नुभएको हो । त्यसरी हेर्दा आजको नेपाली समाजमा जेजति घट्नाक्रम विकसित भइरहेको छ ।
त्यो समाजमा विद्यमान दुई विपरीत वर्गबीचको वर्गसङ्घर्षको परिणाम हो । वर्गसङ्घर्ष कहिले आधीझैँ उर्लेको हुन्छ, कहिले शान्तिपूर्ण र सुषुप्त रूपमा अभिव्यक्त भइरहेको हुन्छ । नेपाली समाजको अहिलेको वर्गसङ्घर्ष एकीकृत जनक्रान्तिका रूपमा अभिव्यक्त भइरहेको छ । एकातिर श्रमजीवी जनताले आफूलाई महासचिव विप्लवको नेतृत्वमा क्रान्तिलाई नयाँ ढङ्गले उठाउने प्रयत्न गरिरहेको छ भने अर्कोतिर यसको विरुद्ध दक्षिणपन्थी सामाजिक फासिवाद यसको घाँटी निमोठ्ने अभियानमा लागेको छ ।
जसको अगुवाइ झापाविद्रोहमार्फत उदय भएको तर पछिल्लो समय उग्र दक्षिणपन्थ र अनुदारवादी वर्गको नायकका रूपमा पतन भएको केपी ओलीले गरिरहेका छन् । यी दुई वर्ग र दुई नेतृत्वले क्रमशः श्रमजीवी जनताको लोकतान्त्रिक प्रणाली वैज्ञानिक समाजवादी अर्थराजनीतिको अगुवाइ गरिरहेका छन् भने अर्कोले दलाल पुँजीवादी अर्थराजनीतिको निकृष्ट फासिवादको अगुवाइ गरिरहेका छन् । समाजमा अरू पनि केही मध्यमार्गी वर्ग र विचारधाराहरू रहेका छन् । मध्यम वर्गको उदय भएको समाजमा यस्ता खाले विचारधारा एउटा कालखण्डसम्म कायम नै रहनु स्वाभाविक छ । मध्यम वर्गको सबै तप्का निर्णायक रूपमा किनाराकृत हुनसक्दैन । आफ्नै परम्परागत विचारधाराको अगुवाइ गर्ने प्रयत्न गरिरहेको समूह पनि नेपालमा केही समय रहनु स्वाभाविक छ ।
अहिले विकसित भएको यो घट्नाक्रमको कुनै एक अमुक देश र समाजसँग मात्र सम्बन्ध रहने कुरा होइन । भूमण्डलीकृत आजको विश्वमा यसको अन्तर्राष्ट्रिय सम्बन्ध स्वतः रहन्छ वा प्रभावित हुन्छ ।
अन्तर्राष्ट्रिय अर्थराजनीतिमा सोभियत सङ्घको विघटन र पूर्वी युरोपमा पुँजीवादको पुनस्र्थापनापछि पुँजीवादको दिग्विजय घोषणा गरियो । फ्रान्सिस फुकुयामाको एन्ड अफ हिस्ट्रीले समाजवादको इतिहास र भविष्य नरहेको घोषणा गर्यो । सोभियत सङ्घ र पूर्वी युरोपमा अभ्यास गरिएको विकृत र भ्रष्ट समाजवादको पतनलाई नै मार्क्सवाद वा वैज्ञानिक समाजवादको पतनको रूपमा परिभाषित गर्दै फुकुयामाले पश्चिमी सभ्यता निर्विकल्प रहेको जिकिर गरे । सोभियत सङ्घको विघटनसँगै शीत युद्धको अन्त्य पनि भयो । दुई ध्रुवीय विश्व एक ध्रुवीय विश्वमा परिणत भएको डङ्का पिटियो ।
बजारको सर्वोच्चतालाई प्राथमिकतामा राख्ने नवउदारवादी अर्थराजनीतिको बेरोकतोक प्रयोग अघि सारियो । बित्तीय पुँजीको भूमण्डलीकरणले सिङ्गै विश्वलाई प्रभावित बनायो । यसले नेपाल अपवाद रहेन ।
नवउदारवादको अभ्यास गर्ने क्रममा खाडीयुद्ध प्रायोजन गरियो । त्यहाँको तेल कब्जा गर्ने रणनीतिअन्तर्गत आतङ्कवाद विरोधी युद्धको नाटक मञ्चन भयो । अतः सेप्टेम्बर ११ को तेल माफिया गिरोहको प्रायोजित आक्रमणपछि एकैपटक संसारभरका न्यायपूर्ण र जनवादी आन्दोलनलाई एउटै डालोमा हालेर आक्रमण तीव्र पारियो । तेस्रो विश्वका बहुमूल्य प्राकृतिक स्रोत सस्तो श्रमको लुटको कुनै सीमा रहेन । त्यसका निम्ति इराक, अफगानिस्तान, लिबिया र सिरियासम्म सैन्य हस्तक्षेप गर्न पश्चिमी साम्राज्यवाद पछि परेन ।
तर दिग्विजय घोषणा गरेको दुई दशक नबित्दै नवउदारवाद सन् २००८ मा आइपुग्दा पश्चिमी मुलुकको केन्द्रमा आएको आर्थिक सङ्कटसँगै असफल हुनपुग्यो । यसले इतिहासमै सबैभन्दा बढी आर्थिक असमानता बढाएको, बेरोजगारी बढाएको मात्र छैन गरिबी र अभाव तीव्र पारेको छ । आक्सफामले पछिल्लो पटक प्रकाशित गरेको प्रतिवेदनअनुसार १५ धनाढ्यको स्वामित्वमा विश्वको कुल गार्हस्थ उत्पादनको ८२ प्रतिशत धन थुप्रिएको छ । यो नवउदारवादी अर्थराजनीतिक प्रणालीको असफलताको गतिलो उदाहरण हो ।
उत्पादक शक्तिका रूपमा विज्ञान प्रविधिमूलतः डिजिटल प्रविधिको विकासले पुँजी निर्माण र अर्थतन्त्र निर्माणमा खेलेको नेतृत्वदायी भूमिकाले भयानक बेरोजगारी र असमानता बढाएको पछिल्लो समयका भौतिक विज्ञानका भिष्मपितामह स्व। स्टेफन हकिङ्सले समेत बताउनुभएको थियो । उदार लोकतन्त्रको नाममा संसदीय प्रणाली अर्थनीतिका रूपमा नवउदारवादी ज्यानमारा बजारवाद र अति सैन्यकृत रणनीति मात्रै होइन, दोस्रो विश्वयुद्धपछि अघि सारिएको बहुराष्ट्रिय अवधारणा र संस्थाहरू अन्तर्राष्ट्रिय मुद्राकोष विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घ औचित्यहीन बन्दै गएको छ । यसको विकल्पमा विश्व शक्तिका रूपमा चीनको उदयसँगै यी संस्थाहरूको विकल्पहरू देखापरेका छन् ।
यो असफलतापछि युरोपमा दक्षिणपन्थी लोकप्रियतावाद र राष्ट्रवादको उदय भयो । बेलायतलाई युरोपेली युनियनबाट अलग गर्ने जसलाई ब्रेक्जिटहरूको उदय । त्यसपछि अमेरिकामा डोनाल्ड ट्रम्पको विजयपछि दुनियाँ भर दक्षिणपन्थी फासिवादी शासकहरूको उदय हुन थाल्यो । बहुराष्ट्रिय कम्पनीका मालिकहरू ९ कार्पोरेट हाउसका० ले स्ट्रङ लिडरको खोजीको नाममा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनायो र उसको उदयको निम्ति सबै हर्कत प्रयोग गर्यो । यसले के प्रष्ट पार्छ भने पुँजीवाद फासिवादको टोपी लगाएर आइरहेको छ । पछिल्लो पटक समेत झन्डै एकैसाता २०१९ मा युरोपेली युनियनको संसदको र भारतमा भएको लोकसभा निर्वाचनमार्फत युरोपमा उग्र दक्षिणपन्थी रुझान राख्ने दलहरूको विजय र मोदीको पुनः शक्तिशाली पुनरुदयले राष्ट्रवादी फासिवाद अब पुँजीवादको अर्थराजनीतिक र वैचारिक हतियार बनेको छ ।
संसार भर चलेको यो हावाहुरीबाट नेपाल मुक्त हुन सक्दैन थियो । पहिलो संविधान सभाको निर्वाचनमा माओवादीको उदयसँगै नेपालको अनुदार वर्गले आफ्नो नायकको खोजी गर्दै थियो । राजतन्त्रको अन्त्यसँगै त्यो नायकको रूपमा पात्रहरू खोजिने क्रममा अहिलेको महान भनिएको उपलब्धिहरू गणतन्त्र, सङ्घीयाता, समावेशिता र समानुपातिक प्रणालीको उग्र विरोधी ओलीलाई त्यहीबेलादेखि नायकका रूपमा उभ्याउँदै थियो । संयोग कस्तो भइदियो भने भारतीय नाकाबन्दीको मार खेपेका काङ्ग्रेसका तत्कालीन सभापति प्रधानमन्त्री सुशील कोइरालाले सत्ता छोडेलगत्तै प्रधानमन्त्री बनेका ओलीका सल्लाहकारहरू (अनुदार वर्ग)ले बाम राष्ट्रवादी लोकप्रियतालाई प्रयोग गरे । रातारात ओली राष्ट्रवादका नायक बनाइए ।संसदीय निर्वाचनको पूर्वसन्ध्यामा माओवादी आन्दोलनको प्रमुख नेतृत्वलाई समेत ओलीसँग आत्मसमर्पण गर्न दबाब सिर्जना गरियो । माओवादी आन्दोलनको बाँकी रहेका केही अवशेष पनि ओलीमा विलय गराइदियो ।
अन्ततः यही दक्षिणपन्थी फासिवादको अन्तर्राष्ट्रिय आयमसँग जोडेरै ओलीको उदय भएको कुरा प्रष्ट छ ।जसरी वितीय पुँजीको भूमण्डलीकरणले संसारलाई लपेटेको छ । अहिलेको दक्षिणपन्थी फासिवादले पनि संसारलाइ लपेट्नु अन्यथा होइन । फासिवाद र भूमन्डलीकृत पुँजीवादको आन्द्रा जोडिएको छ । सोभियत सङ्घको विघटनपछि समाप्त भएको घोषणा गरिएको माक्र्सवाद र वैज्ञानिक समाजवाद सन् २००८ को आर्थिक सङ्कटसँगै रिटन ब्याक कार्लमार्क्स भन्न थाले । आर्थिक सङ्कट सुरु भएपछि कार्लमार्क्सको विख्यात कृति पुँजी युरोपेली बौद्धिक बजारमा सर्वाधिक बिक्री र खोजीको विषय बन्यो ।
अमेरिकी सहरहरूमा हामी उनान्सय, वाल स्ट्रिट कब्जा आन्दोलनहरू अघि बढ्यो । अमेरिकामा बर्निस्यान्डर्सहरूको उदय, जर्मनीमा केभिन कुनट्र्को उदय युरोप र सिङ्गो पश्चिमी समाजमा समाजवादी विचारको पुनरुदयले त्यहाँको संस्थापन विचारक दाबी गर्नेहरू अहिले झस्केका मात्र छैनन् । आतङ्कित हुन थालेका छन् ।
संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कम्युनिस्ट र समाजवादीप्रति गरेको टिप्पणी कति घृणात्मक छ । उसले कम्युनिस्ट र समाजवादीलाई शत्रुको संज्ञा दिएका थिए ९सन् २०१८ को संयुक्त राष्ट्र सङ्घको महासभा० ।
पाँच सय वर्षको पुँजीवादको असफलता कारण मानव जातिले भोग्नुपरेको आर्थिक असमानता, गरिबी, बेरोजगारी, अभाव युद्ध र बर्बर हिंसा मात्रै होइन प्रकृतिको विनास एकातिर छ भने अर्कोतिर बिसौँ शताब्दीमा संसारको एकतिहाइ भूभागमा अभ्यास गरिएको समाजवाद विकृत भई पतन हुनुले यो सताब्दीमा नयाँ ढङ्गले मानव जातिको हित अनुकुल अर्थराजनीतिक व्यवस्थाको विकल्प पेश नगरी सुख छैन । पश्चिमी सभ्यता अर्थात पश्चिमा पुँजीवादी सभ्याता प्रतिक्रियावादी भएकाले यसको विकल्प खोज्नुपर्ने दलिल अमेरिकी राजनीति तथा सौन्दर्यशास्त्री डेबिट ब्रुक्सले गरेका छन् ९पेटृक जे० । देनिनले पुँजीवादको असफलताबारे लेखिरहेका छन् । त्यसैले पुँजीवादको विकल्पको रूपमा जब समाजवादी विचार र मार्क्सवादको उपदेयत बड्दै गयो । पुँजीवाद अब फासिवादमा पतन हुनु राष्ट्रवादको सहारा लिनु ऊभित्र अन्तरनिहित विशेषता हो । ट्रम्पको घृणा यसैमा अन्तर्निहित छ ।
भारतमा माओवादी कम्युनिस्टहरू, त्यहाँको आदिवासीहरू अल्पसङ्ख्यक मुस्लिम समुदाय र गरिब किसानमाथि हिन्दु फासिवादको विरुद्ध रहेका बौद्धिक समुदाय लेखक पत्रकारहरूमाथि मोदीको नेतृत्वमा बर्बर हत्या आतङ्क मच्चाइएको छ । नेपालमा कम्युनिस्ट क्रान्तिकारीहरू, दलित, जनजाति, महिला, मधेसी र किसान मजदुर र श्रमिक वर्गमाथि बर्बर हिंसा मच्चाउन सुरु गरिएको छ । नेकपाको प्रतिबन्ध र त्यस यता मूलतः सर्लाही हत्याकाण्डसम्म आइपुग्दा ओलीको बाम राष्ट्रवादी लोकप्रियतावाद सामाजिक फासिवादको पराकाष्ठामा पुगेको छ । यसले आगामी दिनहरू अझै निर्मम बन्दै जानेछ भने वर्गसङ्घर्ष अझै पेचिलो हुनेछ । फासिवादको युद्ध पिपासु चरित्र हुन्छ । त्यसैले उसले देश र जनतामाथि जबरर्जस्त युद्ध लादिरहेको छ । हामी कम्युनिस्ट क्रान्तिकारीहरूले देशको स्वाधीनता, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रसहितको वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति कुशलतापूर्वक पाइला अघि बढाउनुपर्ने छ ।
हामी जुन खालको भूराजनीतिक अवस्थितिमा बसेर समाजवादको झण्डा उठाइरहेका छौँ । यो निकै संवेदनशील अवस्थिति हो । विश्व पुँजीवादको केन्द्र पश्चिमबाट यही क्षेत्रमा सरिरहेको छ । चीन र भारतजस्ता उदयीमान विश्व अर्थ र सैन्य शक्तिको बीचमा हाम्रो अवस्थिति छ । यिनका आफ्नै शत्रुता र मित्रता सहकार्य र सङ्घर्ष छ । भारतको परम्परागत नेहरू डक्ट्रिन ९उत्तरी हिमालयको रेन्जलाई आफ्नो सिमाना मान्ने०, अमेरिकी नेतृत्वको भारतसमेत संलग्न र साझेदार रहेको इन्डोप्यासिफिक रणनीति र चिनियाँ बीआरआई ९जसलाई चिनियाँ विशेषताको भूमण्डलीकरण भनिन्छ०को दबाब रवाफ र चेपुवामा पर्ने रणनीतिक लडाइँको बीच हामीले कसरी क्रान्तिको अगुवाइ गर्ने भन्ने गम्भीर प्रश्न स्वाभाविक रूपमा उठ्छ । यसलाई समेत निकै चातुर्यतापूर्वक अध्यन गर्दै अघि बढ्न सक्नुपर्छ ।
इतिहास सरल रेखाबाट अघि बढेको छैन । यो बाङ्गोटिङ्गो बक्ररेखा पार गर्दै अघि बढ्छ । निःसन्देह नेपालले यो यात्रा पार नगरी दलाल पुँजीवाद र त्यसको आधरमा खडा भएको सामाजिक फासिवादको अहिलेको दुश्चक्रबाट मुक्ति सम्भव छैन । के सच्चा लोकतान्त्रिक शक्ति र व्यक्तिहरू, देशभक्त र अग्रगामी प्रगतिशील तप्कासँग अहिलेको फासिवादसँग लड्ने एकीकृत जनक्रान्तिबाहेक अर्को वैज्ञानिक बाटो छ । आउनुस् बिना हिच्किचाहट बहस गरौँ । वैज्ञानिक समाजवादभन्दा अर्को उताम अर्थराजनीतिक प्रणाली अहिलेसम्म दुनियाँमा देखिएको छैन । यसको बारेमा पनि बहस गरौँ । आउनुस अहिलेको शताब्दीको फासिवादविरुद्ध निर्मम विद्रोह गरौँ । सर्वनासबाट जोगिने बाटो यही मात्रा हो ।
(यो लेखकको निजी विचार हो ।)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया