देउवाले जिते पनि हाम्रो अभियान रोकिँदैन

विदुर खबर २०७४ फागुन २१ गते ११:४६

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल यतिबेला पार्टी शुद्धीकरण अभियानमा क्रियाशील छन् । ‘६ भाइ’ युवाको समूहमा रहेका पौडेल पार्टीभित्रको नेतृत्व परिवर्तन हुनुपर्ने र वैचारिक शुद्धीकरण हुनुपर्ने अभियानमा जुटेका छन् ।

Advertisement

अनलाइनखबरसँगको अन्तरवार्तामा युवा नेता पौडेलले नेपाली कांग्रेस फेरिएको सन्देश दिनका लागि पनि पार्टी सभापति देउवाले पार्टी सभापति र संसदीय दलको नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

तर, चाँडै महाधिवेशनमा जाने हो भने अहिलेकै नेतत्वले गराउने महाधिवेशनमा जान आफूहरु तयार रहेको पौडेलको भनाइ छ ।

Advertisement

सभापति देउवाले संसदीय दलको नेता आफैं हुन कोशिश गर्नु सही नभएको भन्दै पौडेलले उनी दलको नेतामा विजयी भएमा पनि  आफूहरुको अभियान जारी रहने बताए ।

कांग्रेस नेता पौडेलसँग अनलाइनखबरले गरेको सामयिक कुराकानी :

Advertisement

आम चुनावमा कांग्रेस पराजित भएपछि तपाईसहित ‘६ भाइ’ ले नेतृत्व परिवर्तनको माग गर्दै आउनुभएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवा नै दलको नेता बन्ने तयारीमा हुनुहुन्छ । कसरी हेर्नुभएको छ ?

दलको चुनावसँग हाम्रो पार्टीको अहिलेको अवस्थालाई जोड्नुपर्छ भन्ने लाग्छ । हाम्रो पार्टी कमजोर अवस्थामा छ । चुनावमा हामीले जितेका होइनौं, पुरानो शाख जोगाउन सकेका पनि होइनौं । हामीले स्वीकार गर्नुपर्छ, कांग्रेसले चुनाव हारेको हो । चुनाव हारेको पार्टीले आफूलाई भोलिका दिनमा जित्न कस्तो रणनीति अख्तियार गर्नुपर्छ भन्ने मुख्य हो ।

हामीले चुनावको समिक्षा पनि गरिसकेका छैनौं । चुनाव सम्पन्न भएको तीन महिनासम्म पनि समीक्षा नहुनु आफैंमा सुध्रिने छाँटकाँट छैन भन्ने देखिन्छ ।

कमजोर हुन्छ भन्ने जाँन्दाजान्दै नेतृत्व आफ्नो पद सुरक्षित गर्न चाहिँ किन चाहन्छ ?

हामी सभापतिकै नेतृत्वमा हामी चुनावमा गएका हौं । वाम गठबन्धन थियो र कांग्रेस हार्ने सम्भावना थियो तर, पार्टी सभापति नेतृत्वको सरकारले चुनाव गरायो ।

हाम्रो नेतृत्व राष्ट्रलाई जिताउन आफू हार्न तयार भएको जस्तो देखिन्छ । यसमा हामी गर्व गर्छौं । तर, देशलाई जिताउन चाहने, लोकतन्त्रका निम्ति बलिदानी गर्न चाहने तर, पार्टी बचाउन आफनो स्वयंमले त्याग गर्न किन नचाहने ?

कांग्रेसमा अझ कमजोर हुन्छ भन्ने जाँन्दाजान्दै नेतृत्व आफ्नो पद सुरक्षित गर्न चाहिँ किन चाहन्छ ?

त्यसैले हाम्रो भनाइ, पार्टीको सिद्धान्तको पुनव्र्यख्या गर्न जरुरी छ, कार्यशैली बदल्न जरुरी छ । व्यवहारिक पक्षमा देखिएको सामन्तवादी शैली फेर्न जरुरी छ, संगठनलाई चुस्त, दुरुस्त र आधुनिकीकरण गर्न जरुरी छ । यो सबै यथास्थितिको नेतृत्वबाट सम्भव छैन ।

तर, तपाईहरुले भनेको जस्तो कांग्रेसले चुनाव हारेकै हो भन्ने स्वीकार समेत नेतृत्वले गरेको देखिँदैन । दोस्रो र तेस्रो दल एमाले र माओवादी मिलेका कारण मात्र कांग्रेस प्राविधिक रुपमा पछि परेको मात्र हो भन्छन् ।

तपाईले भनेको जस्तो कम्युनिष्टहरु मिले त्यसकारण हामी हार्‍यौं, पार्टी एकता नभइदिए हामी बलियो भइरहन्थ्यौं भन्ने तर्कहरु पनि आएका छन् ।

तर, अब एमाले र माओवादी मिल्दैछन्, अर्को चुनावसम्म अरु कम्युनिष्ट पार्टीहरु पनि मिल्लान्, त्यसकारण पनि कांग्रेस बलियो हुन आवश्यक छ ।

अर्को कुरा, वाम गठबन्धन चुनाव अघि नै बनेको हो, त्यसपछि हाम्रो रणनीति के भयो ? लोकतान्त्रिक गठबन्धन भन्यौं । अन्त हामीसँग मिलेको राप्रपाले झापामा वाम गठबन्धनसँग मिलेर हाम्रा नेता हरायो ।

कमल थापालाई बोलाएर झापामा वाम गठबन्धनसँग मिल्ने हो भने तिमीलाई मकवानपुरमा सहयोग गर्न सक्दैनौं भनेर किन भनेनौं ? उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राईहरुलाई हामीले केका लागि छाडेको ? उहाँहरुले हाम्रो विमलेन्द्र निधिलाई समेत छोड्नुभएन ।

बाबुराम भट्टराईजीको पार्टीसँग हाम्रो गठबन्धन छ । म प्रदेशमा चुनाव लडेर ५ मतले हारेँ, त्यहाँ नयाँ शक्तिले ३५० मत ल्याएको छ । दुबै राप्रपाले तीन-साढे तीन सय मत ल्याएको छ । त्यसैले हाम्रो प्रश्न छः त्यो लोकतान्त्रिक गठबन्धन केका लागि गरेको ?

कमल थापालाई बोलाएर झापामा वाम गठबन्धनसँग मिल्ने हो भने तिमीलाई मकवानपुरमा सहयोग गर्न सक्दैनौं भनेर किन भनेनौं ? उपेन्द्र यादव, महन्थ ठाकुर, अशोक राईहरुलाई हामीले केका लागि छाडेको ?

दोस्रोः कम्युनिष्ट आयो भने रुन पाउँदैन भनेर हाम्रो नेतृत्वले भन्यो । त्यही कम्युनिष्टसँग आन्दोलन गर्ने, त्यही कम्युनिष्टसँग मिलेर सरकार बनाउने, त्यही कम्युनिष्ट पार्टीका नेताकी छोरीलाई चितवनमा मेयर बनाउने, अनि अहिले कम्युनिष्ट आयो भने रुन पाउँदैन भनेर जनताले पत्याउँछ ?

हाम्रो रणनीति यति कमजोर रहृयो कि बलियो गठबन्धनसँग प्रतिस्पर्धा नै गर्न सकेनौं । यो रणनीति निर्माणमा कसको भूमिका हुन्छ ? प्रश्न यहाँ छ ।

तपाईहरुले जति कराए पनि पार्टी नेतृत्व विचार र कार्यशैलीमा त सुधार गर्न तयार भएन भएन, तपाईहरुकै शब्दमा ‘असफल’ भइसक्नु भएका पार्टी सभापति नै संसदीय दलको नेता बन्ने तयारीमा हुनुहुन्छ….

हाम्रो पार्टी सभापति शेरबहादुर देउवा चुनावको समयमा प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । तर, चुनावमा पार्टीले आशातीत सफलता पाउन सकेन । यसको बढी भारी उहाँले बोक्नुपर्छ । अरु सुधार पनि गर्नुपर्छ र नविन कांग्रेस बनाउनुपर्छ, त्यसमा सभापतिले सहयोग गर्नुस् भनेका हौं ।

यदि शीघ्र महाधिवेशनमा जान तयार हो भने यही नेतृत्वबाट महाधिवेशनमा जान तयार छौं । तर, नेतृत्वले हामीले उठाएका सुधारका विषयहरु स्वीकार गर्नुपर्‍यो र कांग्रेस सुधि्रएर आयो भन्ने देख्नुपर्‍यो ।

अहिले संसदीय दलको नेतामा उहाँ (शेरबहादुर) ले नै उम्मेदवारी दिँदा त यही तरिका र कार्यशैलीमा जाँदा नै कांग्रेसको गिरेको शाख फर्काउन सकिन्छ भनेजस्तो देखियो । तरिका नबदल्न खोजेको देखिन्छ ।

जब कि अब कांग्रेस ५ वर्ष सत्तामा जाने सम्भावना छैन । जति प्रभावकारी ढंगबाट प्रतिपक्षी भूमिका निर्वाह गर्न सक्छ, त्यति नै सुधारेको देखाउन सक्छ ।

जिम्मेवार प्रतिपक्ष हुनु बाहेक विकल्प छैन । त्यसका लागि संसदीय दलको नेता पनि त्यस अनुसारकै हुनुपर्छ, रणनीति पनि त्यसै अनुसार हुनुपर्छ । यसका लागि पार्टीमा रुपान्तण जरुरी छ र नेतृत्व पनि परिर्वतन भएर आएको सन्देश दिनुपर्छ ।

पार्टी सभापति दलको नेता बन्नुहुन्न भन्ने हो ?

अहिले संसदीय दलको नेतामा उहाँ (शेरबहादुर) ले नै उम्मेदवारी दिँदा त यही तरिका र कार्यशैलीमा जाँदा नै कांग्रेसको गिरेको शाख फर्काउन सकिन्छ भनेजस्तो देखियो । तरिका नबदल्न खोजेको देखिन्छ ।

हो, नैतिक हिसाबले पार्टी सभापतिकै सन्दर्भमा पुनर्विचार गर्न आवश्यक थियो भन्ने बाहिर भनाइ छ । त्यो त सभापतिले ख्याल गर्नुभएन भएन, संसदीय दलको नेतामा पनि आफैंलाई प्रस्तुत गर्दा कांग्रेस सच्चिएको, रुपान्तरणका लागि कोसिससम्म नगरेको जस्तो देखियो ।

फेरि शेरबहादुर देउवा नै दलको नेता केका लागि ? प्रधानमन्त्री हुन कि ?

नेपालको राजनीतिमा परिस्थिति मिलेर नहुने कुरा पनि भएको देखिन्छ । त्यस्तै हुन्छ भनेर अन्तरकुन्तरमा सम्भावना देखेर पनि हुनसक्छ ।

अर्कोः हाम्रो नेताहरुलाई पार्टीको भन्दा टिमको चिन्ता भयो । आफैं शक्तिमा हुँदा लिगेसी आफूले चाहेको मानिसलाई हस्तान्तरण गर्न पाइयोस् भन्ने छ । चर्चामा परिवारभित्रका मानिसहरु पनि छन् । त्यस्तै कुनै अभिष्ट पूरा गर्न हो कि ? अथवा रुपान्तरण आवश्यक छ भन्ने बोध नभएर पनि हुन सक्छ । यो मैलेभन्दा उहाँले नै जान्ने भन्ने कुरा हो ।

तर, देउवा आफैं उम्मेदवार बन्नुभयो भने तपाईहरुसँग रोक्ने तागत छ ?

संसदीय दलको चुनावमा मतदाता पनि सभापतिज्यूले नै बनाउनुभएको हो । आफूले बनाएका मतदाताले आफैं उम्मेदवार हुँदा भोट नहाल्ने कुरै भएन । कसैले विवेक प्रयोग गर्छ भन्ने मलाई लाग्दैन । किनकि ऋणले, गुणले थिचिएपछि अनुग्रहित हुनैपर्‍यो । सांसद पनि धेरै उहाँ आफैंले बनाएका छन्, उनीहरुले भोट हाल्छन् भन्नेमा ढुक्क हुनुहुन्छ ।

उहाँ दलको नेता हुनुभयो भने के गर्नुहुन्छ ?

हो, उहाँले चाहनुभयो भने दलको नेतामा सुरक्षित हुनुहुन्छ । तर, हाम्रो भनाइ, उहाँले त्याग देखाउन जरुरी छ । अरुलाई अवसर दिन जरुरी छ । यसले उहाँको पहिचान बदल्ने  र पार्टीमा आम एकताको स्थिति बन्न सक्छ ।

उहाँले दलको नेतामा मेरो उम्मेदवार यो हो पनि नभनी सकेसम्म मिलेर आउनुस् भन्ने र चुनाव नै हुने भयो भने प्रतिस्पर्धामा निरपेक्ष बस्नु राम्रो हुन्छ ।

त्यसो गर्नुभएन र आफैं उम्मेदवार हुनुभयो भने उहाँले जित्नुहुन्छ । प्रक्रियाबाट जितेर आएपछि हाम्रो केही लागेन । तर, हाम्रो अभियान रोकिँदैन ।

के अभियान गर्नुहुन्छ ? देउवा टिमका सदस्यहरुले बहुमतबाट पार्टी चलाउने कुरा गर्न थाल्नुभएको हो ?

उहाँले चाहनुभयो भने दलको नेतामा सुरक्षित हुनुहुन्छ । तर, हाम्रो भनाइ, उहाँले त्याग देखाउन जरुरी छ । अरुलाई अवसर दिन जरुरी छ । यसले उहाँको पहिचान बदल्ने  र पार्टीमा आम एकताको स्थिति बन्न सक्छ ।

उहाँ दलको नेता भए पनि रुपान्तरणको बहस टुंगिँदैन । संसदीय दलको चुनावपछि चुनावी हारको समीक्षाका लागि केन्द्रीय समिति बैठक बस्छ । यसका लागि पनि हामीले एकदम धेरै अनुरोध र दबाव दिनुपर्ने हुन सक्छ ।

त्यसपछि महासमिति बैठक हुन्छ र हामी पार्टीलाई दीर्घकालीन रुपमा सुधार गर्ने अभियान सुरु गर्छौं । नेतृत्वले महासमितिलाई आफ्नो अनुकुल उपयोग गर्न खोज्छ । महासमिति सानो संख्यामा हुँदैन, देशभरिका नेता साथीहरु उपस्थित हुनुहुन्छ । महासमितिले सुधारको एजेण्डा पास गर्छ भन्ने विश्वास । त्यसमा पनि नेतृत्व केन्द्रीय समितिको आकार बढाएर, पदाधिकारी थप गरेर आफूलाई सुरक्षित गर्ने बाटोमा जान खोज्न सक्छन् । त्यसलाई हामीले रोक्न सक्नुपर्छ ।

हाम्रो नेतृत्व लामो योगदान गरेर आएको हो । रणनीति कमजोर भएका कारण हामीले चुनाव हार्‍यौं । तर, अपमान गर्नुपर्छ भन्ने होइन । त्यसैले महाधिवेशन भएको दुई वर्ष भयो । अब २ वर्ष बाँकी छ । हाम्रो भनाइ छ, महासमितिबाट एक वर्षभित्र महाधिवेशन गर्ने तोकौं भन्ने छ । यसमा नेतृत्व तयार भएन भने कित्ताबन्दी हुन्छ र महासमितिले निर्णय गर्छ ।

तर, पार्टीमा रुपान्तरणको प्रश्न उठाउँदा कांग्रेसभित्रको गुट उपगुटलाई भुल्न सकिन्छ ? पार्टीमा वरिष्ठ नेता छन्, महामन्त्री छन् । उहाँहरु पनि पार्टी सभापतिजस्तै असफल हो कि केही फरक धारणा छ ?

कांग्रेसको गुट विचारसँग जोडिएको गुट होइन । कार्यक्रम र योजनाहरुसँग जोडिएको गुट होइन । त्यो व्यक्तिप्रधान गुट हो । आफूले चाहेको व्यक्तिलाई पार्टीको उच्च तहमा पुर्‍याउने र आफूले अवसर लिने ।

एक ढंगले अवसरवादीहरुको गुट हो । पार्टीको १२ औं महाधिवेशनमा सभापतिका दुई उम्मेदवार हुनुहुन्थ्यो, १३ मा तीनजना हुनुहुन्थ्यो । १२ औं सुशील कोइराला सभापति हुनुभयो, उहाँको नीति पास भएको हो त ?

१३ मा शेरबहादुर देउवाको नीति पास भएको हो त ? उहाँको नीति, कार्यक्रम, दस्तावेज रामचन्द्र पौडेल र कृष्ण सिटौलाको भन्दा फरक थियो र ? उहाँहरु कसैसँग पनि दस्तावेज नै थिएन ।

त्यसैले अब नीतिको जगमा नबनेको गुट अब अन्त्य गर्नुपर्छ । २१ औं सताब्दीको समाजवाद कस्तो हुनुपर्छ, त्यसमा कुनै बहस छैन । हिजो वीपी कोइरालाको समयमा थुप्रै सामाजिक मुद्दाहरु कांग्रेसमा थिए । आज सबै सकिएका हुन् त ? अहिलेको समयमा सामाजिक मुद्दा केके हुनुपर्छ कुनै बहस छैन तर, गुट छ ।

त्यसैले सिद्धान्त, विचार, कार्यक्रमसँग नजोडिएको गुट समाप्त गर्नुपर्छ । गुट बनाउने, आफ्नो भागवण्डा मिलेसम्म विधान विपरित पनि सहमति गर्ने, जब भागवण्डा मिल्दैन तब सभापतिले विधान मिच्यो भनेर बहस गर्नु त लोभलालची कुरा भयो ।

यसबाट ६ भाइ कति मुक्त छन् ?

हामी पुरै मुक्त छौं । व्यक्तिगत रुपमा मलाई भन्नुहुन्छ भने मैले पार्टी केन्द्रीय कार्यसमितिमा आफूलाई लागेको कुरा राख्दै आएको छु र राख्छु ।

नाकाबन्दीदेखि सुशील कोइरालाको उम्मेदवार सबैमा बलिया गुटले जे गरे, त्यसमा सहमति जनाएका छैनौं । आफ्ना कुरा राखेका छौं ।

प्रतिक्रिया