जनता सरकारसँग रुष्ट छन्, तर कांग्रेससँग पनि खुसी छैनन् : गगन थापा

विदुर खबर २०७६ वैशाख १८ गते ०:४६

तीनै तहको निर्वाचन सम्पन्न गर्ने कुरा सजिलो थिएन। कांग्रेसको नेतृत्वमा सरकारमा हुँदा संविधान बनेको तर निर्वाचन नभएको अवस्था थियो। यसमा प्रत्येक कांग्रेसले गौरव गरे हुन्छ।

Advertisement

तर, गम्भीर गल्तीहरू हुने गरेका छन्। भरतपुरमा हामीले जीवनमा नगरेको कार्य हसियाँ हथौडामा भोट हाल्यौं। हामीसँग सरकारमा रहेको माओवादी रातारात अर्को पार्टीसँग एकता गर्न पुग्यो। हाम्रो क्षमता कस्तो? शासन सञ्चालनमा कमजोर भएका छौं। पार्टी सञ्चालनमा कमजोर भएका हौं। कांग्रेसका सभापतिहरु सुशील कोइरालाको नेतृत्वमा संविधान र शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन भएकोमा गर्व गरौं। र, गल्ती र कमजोरी भएका ठाँउमा निर्मम समीक्षा गरौं। तब मात्रै पार्टी सही ढंगबाट सञ्चालन हुन सक्दछ।

आजको दिनमा नेपाली कांग्रेसको दायित्व के हो? अर्को निर्वाचन जित्न चाहन्छौं, त्यसमा शंका छैन। हामी भक्तपुरको मजदुर किसान पार्टी होइनौं, मादल बजाएर भक्तपुर परिक्रमा गर्ने। हामी नेपाली कांग्रेस हौं, १ सय ६५ स्थानमा चुनाव लड्छौं र जित्छौं पनि।  तर, कांग्रेस बनेको एउटा चुनाव जित्नको लागि होइन। कांग्रेस एकपटक हारेर सकिने पनि होइन। कांग्रेसले लय समात्यो भने निर्वाचनको परिणाम कांग्रेसलाई पछ्याएर आएको छ। निर्वासनमा रहनुभएका बिपी राष्ट्रभन्दा ठुलो केही होइन भनी जीवन हत्केलामा राखी नेपाल प्रवेश गर्नुभयो। देशप्रतिको कर्तव्य त्यही थियो। सशस्त्र युद्धमा रहेको माओवादीलाई गिरिजाप्रसाद कोइरालाले संसदीय राजनीतिमा ल्याउनुभयो। त्यो बेला देशप्रतिको कर्तव्य त्यही थियो ।आज कांग्रेसको देशप्रतिको कर्तव्य के हो? मूल्यांकन गर्ने बेला आएको छ।

Advertisement

वर्तमान समयमा कांग्रेसको कर्तव्य संविधान जोगाउनु हो। विभेदपूर्ण समाजमा राखिएका मूल्यमान्यता केवल कागजी कुरा मात्रै हुन्छ। हिजोको एमाले र माओवादीले बोकेको मूल्यमान्यता कांग्रेसले बोकेको मूल्यमान्यता फरक छ। त्यसकारण संविधानको स्वामित्व कांग्रेसले लिन सक्छ। त्यसो भन्नु कांग्रेसको ड्युटी हो। संविधान असफल भयो भने नेपालले पूरानो नियति भोग्छ। तसर्थ संविधान जोगाउनु कांग्रेसको कर्तव्य हो। संविधानमा खतरा कोबाट छ? विप्लव पार्टीको माग के हो, अहिलेसम्म बुझेको छैन। उसले चाहेको के हो? बुझ्न सकेको छैन। सिके राउतबाट पनि संविधानमाथि खतरा छैन। मन्दिर-मन्दिर घुम्ने पूर्वराजा र पूर्वपञ्चबाट पनि संविधानमाथि खतरा छैन। संविधानलाई खतरा कोहीबाट छ  भने यसै संविधानमार्फत् सपथ खाएको सरकारबाट छ। आजका लागि डरलाग्दो विषय नै यही हो।

संवैधानिक मर्यादामा बस्नुपर्ने राष्ट्रपति पूर्व राजसंस्थाको भद्दा नक्कल गरेकाले प्रत्येक दिन जनता आजित भएका छन्। संविधानको सफल कार्यान्वयनका लागि पनि महामहिम राष्ट्रपतिज्युलाई हात जोडेर बाहिर ननिस्कनुस् भन्नुपर्नेछ। व्यवस्था हिजोको जस्तो छैन। ७ सय ५३ वटा सरकार छन्। तर, प्रधानमन्त्री त्यसलाई मान्दै मान्नुहुन्न। प्रदेशको मुख्यमन्त्री, मुख्यमन्त्री जस्तो लाग्दै लाग्दैन, प्रधानमन्त्रीको कारिन्दा जस्तो लाग्छ। प्रदेशको अधिकार र हकका लागि मुख्यमन्त्री लड्छ। मुख्यमन्त्री भएको आभासै नभएपछि प्रदेशको अधिकारको लागि बोलेकै सुनिन्न। नेकपाको कार्यकर्ता भएर प्रदेश मुख्यमन्त्री चलिरहेका छन्। न प्रदेश सरकारले प्रदेश चलाउन सकेको छ। न स्थानीय सरकारहरु चल्न सकेका छन्। न प्रधानमन्त्रीले संघीय व्यवस्था सञ्चालन गर्ने क्षमता विकास गर्नुभएको छ। संविधान,गणतन्त्र र लोकतन्त्रप्रतिको प्रतिबद्धताको कमीले सिंगो व्यवस्था धरापमा पर्ने अवस्था छ।लोकतन्त्रको आधारभूत मान्यता भनेको कोहीसँग पनि अधिकार असीमिति हुनुहुँदैन। अर्को पटक तह लगाइदेलान् भनी मेरा मतदातासँग म डराउँछु। त्यसैले वडा अध्यक्षलाई सुनाउने गुनासा म कहाँ आएपनि मैले सम्बोधन गर्छु। हामी डराउँछौं।

Advertisement

पार्टीको झन्डा ओढेको कर्मचारीलाई निर्वाचन आयुक्त बनाइएको छ। वाइडबडी काण्डमा अख्तियारलाई छलेर छुट्टै आयोग बनाउने कार्य भएको थियो। अदालत, लोकसेवा आयोगलगायतका संवैधानिक निकायलाई ‘पङ्गु’ बनाउन खोजिएको छ। संसद् र अदालतलगायतका सबै निकाय पङ्गु बनाउँदै गर्दा यो व्यवस्था धरापमा पर्छ। संघीय लोकतान्त्रिक व्यवस्थालाई धरापमा पार्ने डर वर्तमान सरकारबाट छ। शान्ति सुरक्षा दुनियाको सामु जगजाहेर छ। भ्रष्टाचारको कुरा गर्दा बालुवाटारमा ऐना छ कि छैन भन्दा उत्तर दिन सक्नुभएन। बिपी कोइरालाको सरकारभन्दा पनि शक्तिशाली सरकारले असाधारण काम गर्नुपर्नेमा सामान्य भन्दा सामान्य काम गर्न सकेको छैन। बिपी कोइरालासँग दुई तिहाइ थियो तर तरबारमा दरबारको हात थियो। प्रधानमन्त्रीको आँखाबाट प्रतिपक्ष कमजोर छ। प्रतिपक्ष कमजोर हुनु त प्रधानमन्त्रीलाई लाभ नै हो ।तातो कुर्चीमा बस्न आएका ओलीको सपनाको केन्द्रमा के हो? प्रधानमन्त्री भन्नुहुन्छ ‘दुइतिरबाट रेल आएको छ। हामी प्रधानमन्त्रीलाई फेरि भन्छौं विद्यालयमा शिक्षक छैनन्। उहाँ भन्नुहुन्छ, पख बाबु पख पहिले रेल आउँछ त्यसमै चढेर शिक्षक आउँछन्। स्वास्थ्यचौकी खालफ भएको भन्छौं। प्रधानमन्त्रीको जवाफ हुन्छ,‘पानी जहाज जढेर गाउँगाउँ पुग्छन्।’

संसारमा अनुदार शासकसँग के हुन्छ भने जनतासँग कर उठाउने, दातृ राष्ट्रसँग ऋण लिने अनि भत्ता बाँड्ने। यो सबैभन्दा सजिलो बाटो हो। दाबीका साथ भन्न सकिन्छ, अब आउने बजेटमा वृद्धभत्ता बढ्छ। तर, त्यो पैसा कहाँबाट आउँछ ,कसैले सोच्दैनन्। भत्ता बाड्नु सरकारको सफलताको मानक होइन। सरकारको सफलताको मानक गएको एक वर्षभित्र किसान कति भए, कुन श्रमिक खुसी भए? उद्योगधन्दा कति दर्ताभए, खुले। सरकारको सफलताको मानक हुन्। बाहिरी लगानीकर्ता को आए? कोही आउदैनन्। यस्तै अवस्था रहँदै गरे हाम्रो अवस्था कमजोर हुँदै जान्छ। यस्तो अवस्था किन आयो? निर्वाचन आयोगमा कागजी दर्ता गरेर मात्रै पार्टी हुन सक्दैन। डर र लोभबाट कम्युनिस्ट नेकपा बनेको हो। पार्टी विचारको आधारमा बन्छ। नीति र विचारको आधारमा नेकपा बनेको होइन। प्रचण्डको डर र केपी ओलीको लोभका कारण नेकपा बनेको हो।

यी दुई दुई पार्टीको सैद्धान्तिक आधार छैन। चार वर्ष यस सरकारले बेढंगको काम गर्छ। यस सरकारले बिगार्ने मात्रै काम गर्छ। चार वर्षमा खुत्रेके कम हुँदै जान्छ। अवसर सिर्जना हुँदैन। अबको निर्वाचन ४० लाख मतदाता थपिन्छन् । ती युवालाई यो सरकारले अवसर सिर्जना गर्नै सक्दैन। चार वर्षमा सरकारसँग  जनताको असन्तुष्टि चुलिन्छ। सरकारसँग रिसाएको युवामा निराशा पैदा हुन्छ। त्यस बेला संघीयता काम लागेन भन्दै विभिन्न बहानामा बल्छी हान्न आउनेहरु हुन्छन्। त्यसबेला कांग्रेस ढुक्क उभिएर भन्न सक्छ कि सक्दैन? हिजो सूर्यलाई भोट हाल्दा सूर्यले मलाई पोल्यो छहारी दिने रुख छ भन्ने अवस्था सिर्जना गर्न कांग्रेसले सक्छ कि सक्दैन? कांग्रेसले विश्वास दिलाउन सकेमात्रै पुग्छ। त्यस्तो अवस्था बने/नबनेको इमान्दारितापूर्वक समीक्षा गरौं। मान्छे कम्युनिस्ट पार्टीसँग रिसाएको छ। तर,कांग्रेससँग खुसी भएको पनि छैन।

गौरवशाली इतिहास कांग्रेसको छ। त्यसमा गर्व गरौं। तर, अब हामीले हेर्ने भनेको ०७९ सालको निर्वाचन हो। त्यस चुनावमा कांग्रेसले जित्दै गर्दा ०१५ सालमा बिपी कोइरालाले यसो गर्नुभएको थियो भनेर हुँदैन। नागरिकता विभेदमा भएको सन्दर्भमा कांग्रेस ठिङ्ग उभिनुपर्छ। अनेक विषय छन्। सरकारले बालुवाटारदेखि बूढीगण्डकीसम्म सरकारले सकेको छ। सबै विषयमा सरकारसँग कांग्रेस मिलेको भन्ने भ्रम छ। त्यो भ्रम कांग्रेसले मेटाइदिनुपर्छ। माथिदेखि तलसम्म कांग्रेस सुर्धानु छ। प्रतिपक्षको जिम्मेवारीमा रहेको कांग्रेससँग एउटा मात्रै बाटो छ। त्यो हो संगठनको बाटो। कांग्रेससँग तागत सिंहदरबार र बालुवाटार होइन। विधान बनाएका छौं तर संघीयता अनुसार प्रादेशिक संरचना बन्न सकेको छैन।

(नेपाली कांग्रेस रुपेन्देही-२ को क्षेत्रीय सम्मेलनमा थापाले गरेको सम्बोधनको सम्पादित अंश)

प्रतिक्रिया