राजसंस्था पुनःस्थापनाका लागि राप्रपाले आन्दोलन गर्ने

विदुर खबर २०७५ पुष ६ गते ११:०९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना सहितको माग अघि सार्दै देशव्यापी जनसंघर्षको अभियान सुरु गर्ने बताएका छन् ।

Advertisement

मिडिया नेपाल कास्की शाखाले सुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले राप्रपाले आगामी फागुन ७ गतेदेखि राजसंस्था पुनःस्थापना सहितको माग राखेर संघर्ष गर्ने जानकारी दिए ।

राजसंस्थाको पुनस्र्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनका लागि राप्रपाले आन्दोलन गर्ने तयारी गरेको उनले बताए । ‘मुलुकको सामाजिक, सांस्कृतिक क्षेत्रका साथै राजनीतिक दलमा पनि हिन्दूराष्ट्रका पक्षमा झुकाव बढ्दै गएको छ,’ थापाले भने, ‘नेपाली कांग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरेमा सहकार्य गरेर अगाडि बढ्न सकिन्छ ।’

Advertisement

पोखरामा पूर्वराजा ज्ञानेन्द्र साह आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टि गरेको उनको भनाई थियो । जन संघर्षलाई बेवास्ता गरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिँदै उनले जनसंघर्ष कुनै धर्म, सरकार एवं पार्टीविरुद्धमा नभई जनताको आस्था, विश्वास र पहिचानका लागि हुने दवी गरे ।

महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा बहस सुरु गरेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने विश्वास व्यक्त गरे ।

Advertisement

उनले नेपालमा योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै आएको र हालसम्म करिब १२ लाख नेपालीलाई धर्म परिवर्तन गराइसकेको ठोकुवा गरे । ‘तराइ तथा मधेश छुट्टै देशको नारा लगाउँदा प्रशासन मौन छ, सरकारको यस्तै अकर्मन्यताले देश विखण्डनमा पुग्न सक्ने खतरा छ,’ थापाले भने, ‘यसप्रति सरकार गम्भीर छैन ।’

प्रतिक्रिया