रसुवामा जनता आवास कार्यक्रम नै अलपत्र, अन्याेलमा भूकम्पपीडित

विदुर खबर २०७५ मंसिर १७ गते १३:४४

रसुवा ।रसुवामा जनता आवास कार्यक्रम अलपत्र परेको छ।

मुलुक संघीयतामा गएसँगै अहिले जिल्लामा रहेको कार्यालय खारेज भएपछि कार्यक्रम अलपत्र परेको हो। सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत कार्यक्रम सञ्चालन भएको भए पनि कार्यालय खारेज भएसँगै कार्यक्रम अलपत्र परेको हो।कार्यालय खारेज भएपछि लाभग्राही अन्योलमा परेका छन्। कार्यालय खारेज भएसँगै आफूहरु अन्योलमा परेको कालिका गाउँपालिका–३ इटपारेका मुरलीबहादुर दमैले बताए। उनले दुःखेसो पोखे, ‘कार्यालय खारेज भयो रे, अब हामीलाई घर बनाउन रकम दिन्छ कि दिँदैन हो। हामी अब कहाँ जाने?’

त्यस्तै पहिलो किस्ता बुझेका उत्तरगया गाउँपालिका ४ का काजीमान थिङ पनि अन्योलकै कारण आफूहरू समस्यामा परेको ताउँछन्। उनी भन्छन्, ‘पहिलो किस्ता त बुझेँ अब बाँकी रकम लिन कहाँ जाने?’कार्यालयमा साउनदेखि नै बजेट नआउँदा जनता आवास कार्याक्रमका लाभग्राहीले अनुदान पाउन सकेका छैनन्। जनता आवास कार्यक्रमको लागि साउनदेखि नै थप बजेट नआएको लेखापाल कृष्णप्रसाद अधिकारीले बताए। उनले भने, ‘नुवाकोटमा डिभिजन कार्यालय स्थापना भएपछि प्रदेश अन्तर्गत रकम दिने भनिएको छ, तर अहिलेसम्म स्थापना भएको छैन्।’ लाभग्राहीको गुनासो आउन थालेसँगै गुनासो सम्बोधन गर्न सहरी विकास तथा भवन निर्माण विभागमा पत्र लेखी पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। जनता आवास कार्यक्रम अन्तर्गत रसुवामा एकल महिला, दलित, विपन्न आदीबासी गरि ५० जना छनोटमा परेका थिए। छनोट गरिएका मध्ये ७ जनाले मात्र घर निर्माण गरेका छन्।

निर्माण गर्नेमा जिल्लाको कालिका ३ का डिल्ली प्रसाद पौडेल,  उत्तरगया ४ का नविना घिमिरे, गोसाईकुण्ड गाउँपालिका ३ का ध्युर्मे लामा, कालिका ३ कि बिन्दा पौडेल, आमाछोदिङ्मो ५ कि कामी याङजेन तामाङ, गोसाईकुण्ड ३ कि कामी लामा, कालिका ३ का कृष्ण कुमारी न्यौपाने रहेको लेखापाल अधिकारीले बताए। जनता आवास कार्यक्रम अन्तर्गत रसुवामा हालसम्म ४ जनाले पहिलो किस्ता, १६ जनाले दोस्रो किस्ता, ६ जनाले तेस्रो किस्ताको रकम पाएका छन्। जसमध्ये १७ जना लाभग्राहीले गत आर्थिक वर्षमा काम नै सुरु गरेको बताइएको छ।आवासबिहीन सिमान्तकृत, दलित तथा विपन्न समुदायका परिवारलाई आवास उपलब्ध गराउने उदेश्यसहित २०७४ मंसिरदेखि जनता आवास कार्यक्रम सुरु गरिएको थियो। चार किस्तामा उपलब्ध गराइने हुदाँ प्रतिघर ३ लाख ३२ हजार पाउने छन्।

जनता आवास कार्यक्रम अन्तर्गत रसुवा ५० घर निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ। जसमा पहिलो किस्ता बापत ८३ हजार १ सय २५, दोस्रो किस्ता बापत ९९ हजार ७ सय ५०, तेस्रो किस्ता बापत १ लाख १६ हजार ३ सय ७५ र चौथो किस्ता बापत ३३ हजार २ सय ५० प्रदान गरिने बताइएको थियो।

प्रतिक्रिया