एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल

विदुर खबर २०८३ असोज २८ गते २२:५५

नुवाकोट । १० भदौको भोटेकोशी बाढी आउँदा नुवाकोट विदुर–१०, एक नम्बर पुलका शैलेन्द्रराज प्याकुरेल निर्माण व्यवसायी महासंघको जिल्ला कार्यालय विदुरमा थिए ।

Advertisement

विनाशकारी बाढीले त्रिशूली बजार र ढुंगेसमेत बढारेको थाहा पाएपछि घरमा सम्पर्क गर्ने प्रयास गरे । घरमा ७७ वर्षकी आमा मात्रै थिइन् । घर वरिपरि दाजुभाइ र आफन्त थिए । तर तत्काल कसैसँग फोन सम्पर्क हुन सकेन ।

प्याकुरेलको पक्की घर मात्र होइन, २३ रोपनी जग्गा पनि बाढीले बगायो । गाउँ–छिमेक बगरमा परिणत भए । बाढीमा परी काकाकी बुहारी र नातिनी पनि बेपत्ता छन् । गाउँका कति बगे यकिन छैन र उनले अब त गन्न पनि छाडिदिएका छन् ।

Advertisement

‘एक–दुई दिन त के गर्ने, के नगर्ने भन्ने अन्योलमै बित्यो,’ निर्माण व्यवसायी महासंघका जिल्ला अध्यक्षसमेत रहेका प्याकुरेलले भने, ‘बाढीमा हजारौं बेपत्ता भए, हजारौं आफन्तहरू पीडामा मूर्छित भएको देखें ।’ बाढीले त्रिशूली बजारकै दुई वटा पक्की पुल बगायो । बजार र ढुंगेको सडक सम्पर्क नै टुट्यो । त्रिशूली अस्पतालसम्म पुग्न पनि हेलिकोप्टर पर्खनुपर्ने भयो । नुवाकोट जिल्लाकै ठूलो जनघनत्व रहेको मेघाङ, किस्पाङ, रसुवाको उत्तरगयाका केही वडा, विदुर नगरपालिकाका तुप्ते, आँगुटार, भैरमकोट, नुवाकोटका देउराली, सामरी डेउडी टक्सारलगायत स्थानसँग जिल्ला सदरमुकामको सम्पर्क टुट्यो ।

यसैबीच प्याकुरेललाई विपद्को समयमा केही महत्त्वपूर्ण काम गर्नुपर्छ भन्ने लाग्यो । र, तत्काल त्रिशूली पुलमाथि झोलुंगे पुल बनाउन पहल थाले । झोलुंगे पुलका ठेकेदारसमेत रहेका प्याकुरेलले पुल बनाउनुपर्‍यो भनेर निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरे । अध्यक्ष पाण्डेले प्याकुरेलको सुझाव मन पराए र साथीहरूसँग छलफल गरिहाल्छु भन्ने जवाफ दिए । पाण्डेले त्यही दिन महासंघको केन्द्रीय सचिवालयको बैठक डाके र प्याकुरेलको झोलुंगे पुल निर्माण गर्ने प्रस्तावमा सबैले समर्थन गरे । त्यसपछि उनैले प्रक्रिया अघि बढाउन प्याकुरेललाई आग्रह गरे ।

Advertisement

‘महासंघको सकारात्मक जवाफ पाएपछि मैले सस्पेन्सन ब्रिज डिभिजनका अधिकारीहरूसँग कुरा गरें,’ उनले भने, ‘इन्जिनियरहरूसँग पनि सम्पर्क गरें, उहाँहरूले पुल तत्काल निर्माण गर्न डीपीआर तयार गर्नुभयो ।’ ३ करोड १८ लाखभन्दा बढीको लागत तयार भयो ।

महासंघले आफ्नै स्रोतमा पुल निर्माण गर्ने निर्णय गरिसकेकाले सरकारी प्रक्रिया कुर्नुपरेन । महासंघका सदस्य ठेकेदारहरूले ठेक्का रकमको अन्तिम भुक्तानी हुँदा ०.१० प्रतिशत रकम निर्माण व्यवसायी कोषमा जम्मा गर्ने व्यवस्था छ । त्यही कोषको रकम प्रयोग गर्ने गरी असोज १ बाट निर्माण सुरु भयो ।

पुलमा प्रयोग हुने लट्ठा र बुलडग ग्रिप भने सरकारले नै उपलब्ध गरायो । प्याकुरेलले आफ्नै कम्पनीमा काम गर्ने जनशक्ति परिचालन गरे । कामदारलाई दैनिक ज्यालासमेत दिएका छन् । ‘पुल निर्माण विशुद्ध सामाजिक काम भएकाले र बाढीपछिको अवस्थामा त विशुद्ध मानवीय र पुण्यको काम भएको छ । नाफा कमाउने उद्देश्य छैन,’ उनले भने

पुलको कामको अनुगमन पनि नियमित रूपमा आफैंले गर्थे । त्यसका लागि बिहान ७ बजेदेखि नै साइटमा खटिए । पुलमा प्रयोग गर्न फलाम फ्याक्ट्रीसँग ६५ लाख मूल्यको फलाम किनेको उनले सुनाए । करिब एक महिनामा २६८ मिटर लामो झोलुंगे पुल तयार भएको छ । पुल बनेपछि त्रिशूली बजार र ढुंगेबीचको सम्पर्क पुनः स्थापित भएको छ । ‘अब मान्छे हिँड्न मिल्छ,’ उनले भने, ‘३० असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्षको हातबाट उद्घाटन गराउने तयारी गर्दै छौं । पुलले गर्दा तुइनको असुरक्षित र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ, बिरामीहरू सजिलै अस्पताल पुग्न सक्नेछन्, सामान ढुवानीमा पनि सहजता हुनेछ भने बजारसम्म आइपुग्न पनि सहज हुनेछ ।’

स्लाबको केही काम र पुल नहल्लियोस् भनेर पुलको दुवैतिर लट्ठा राख्ने (विन्ड गाई केबल) को काम भने दसैंपछि सकिने उनको भनाइ छ । मोटरसाइकलसमेत ओहोरदोहोर गर्न मिल्ने गरी आवश्यक संरचनाहरू थप्ने क्रम जारी छ । पुलको सबै काम सम्पन्न हुँदासम्म १ करोड ७५ लाख खर्च पुग्ने अनुमान रहेको उनको भनाइ छ ।

एक महिनाको अवधिमा २६८ मिटर लामो झोलुंगे पुल बनेर सञ्चालनमा आउनु नेपालमै पहिलो पटक भएको प्याकुरेलको दाबी छ । ‘ढुंगेमा बनेको झोलुंगे पुलले अहिलेको अवस्थामा धेरै नै ठूलो जनसंख्यालाई निकै ठूलो राहत दिनेछ,’ नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाका प्रमुख उद्धव रिजालले भने, ‘यो पुल त शैलेन्द्रराज प्याकुरेलको पहल नभएको भए यति छिटो सम्भव नै थिएन ।’

प्याकुरेलको निर्माण कम्पनीले सिन्धुपाल्चोक, स्याङ्जा र रुकुममा पनि झोलुंगे पुल निर्माणको ठेक्का पाएको छ । ती जिल्लामा पनि निर्माणको काम सुरु भइसक्नुपर्ने थियो । तर सरकारी निकायलाई केही समय यता व्यस्त हुनुपरेकाले दसैंपछि मात्र काम सुरु गर्ने बताएका छन् ।

‘म ५० वर्षको भएँ । जीवनमा यस्तो खालको विपत्ति आउला, हेर्नु र भोग्नुपर्ला भन्ने कहिल्यै कल्पना पनि भएन,’ उनले भने, ‘हाम्रोतिर त सबै सकिएको छ, जनतालाई राहत दिन आवतजावत सहज गर्न तत्कालै अन्य स्थानमा पनि पुल बनाउनुपर्नेछ । त्यसका लागि राज्यले तत्काल पहल थाल्नुपर्छ ।’

प्रतिक्रिया