रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता

विदुर खबर २०८३ असोज २८ गते १८:३८

नुवाकोट। नेपाल रेडक्रस सोसाइटी र बिदुर नगरपालिका बिच गत भदौ १० गतेको आकस्मिक बाढीको प्रतिक्रिया, पुनर्लाभ तथा पुनस्र्थापनाका लागि साझेदारी सम्झौता भएको छ ।

Advertisement

बाढीबाट प्रभावित समुदायहरुको तत्कालिन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनर्लाभ, पुनस्र्थापना र भबिष्यमा हुन सक्ने विपद एवं जलबायुजन्य जोखिमप्रति उत्थानशीलता अभिबृद्धीका लागि सहकार्य गर्ने उद्धेश्यले साझेदारी सम्झौता गरिएको रेडक्रसले जनाएको छ ।

बुधबार बिदुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषीरमण खनाल, अन्तराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघका नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Advertisement

सम्झौता पत्रमा दुबै पक्षले स्वास्थ्य संबन्धि सहायता, खानेपानी सरसफाई तथा स्वच्छता, आवास तथा आश्रय संबन्धि सहायता, मर्मत तथा पुनस्र्थापना, जीविकोपार्जन पुनस्र्थापना तथा आर्थिक पुनर्लाभ, नगद सहायता तथा आवश्यकतामा आधारित नगद सहयोग र विपद जोखिम न्यूनिकरण, पूर्वतयारी तथा समुदायको उत्थानशीलता अभिबृद्धीका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

सम्झौता अनुसार रेडक्रसले बाढीका कारण बेपत्ता परिवारका बिधवा, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रति परिवार एकलाख रुपैयाँ तथा दुईहजार घरधुरीलाई बहुद्धेश्यीय नगद सहायता, उपलब्ध गराउने छ । यसैगरी एकहजार परिवारलाई जीविकोपार्जन पुनस्र्थापना सहायता, दुईहजार घरधुरीलाई स्थायी आवासको व्यवस्था नभएसम्म घरभाडा भुक्तानी, ६सय घरधुरीलाई संक्रमणकालीन आवासको व्यवस्थापन रेडक्रसले गर्ने समझदारीपत्रमा उल्लेख छ ।

Advertisement

यसैगरी रेडक्रसले बाढीका कारण प्रभावित बिदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाईपलाईनको मर्मतका साथै बिदुर, बुधसिंघाट, सिर्खाली र महारानिडिही क्षेत्रमा ३० हजार जनसंख्या लाभान्वित हुनेगरी खानेपानी प्रणालीको मर्मत तथा पुनस्र्थापना गर्ने छ । यस्ते, स्वास्थ्य तथा सामाजिक पूर्बाधारको पुनर्निर्माण तथा पसनस्र्थापना, आधारभूत स्वास्थ्य तथा आपतकालिन स्वास्थ्य सेवा, बिद्यालय तथा शैक्षिक पूर्बाधारको पुनस्र्थापना, शिविर ब्यवस्थापना तथा प्रभावित ब्यक्तिको सहयोग लगायतका क्षेत्रमा समेत रेडक्रसले काम गर्ने समझदारीपत्रमा उल्लेख छ ।

यसैगरी समझदारी अन्तर्गतका कार्यक्रम तथा गतिबिधिहरुको समन्वय , मार्गदर्शन, अनुगमन तथा समिक्षा गर्न नगर प्रमुख वा नगरप्रमुखले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम संचालन समिति गठन गरिने छ ।

समझदारी पत्रमा हस्ताक्षर पछि बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले रेडक्रसको प्रभावित क्षेत्रमा सहयोग गर्ने तत्परता र क्रियाशिलताले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना र नागरिकको सहज जीवन यापनका लागि महत्वपूर्ण योगदान पुग्ने बिश्वास ब्यक्त गर्दे विपदलाई अवसरको रुपमा समेत लिँदै रेडक्रससंगको प्रभावकारी सहकार्य मार्फत विपदको पीडालाई बिस्मृतिमा पु¥याउन स्थानीय तह क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गरे ।

त्यसक्रममा रेडक्रसका महामन्त्री खनालले बाढी प्रभावित क्षेत्रका नागरिकको बहुपक्षीय सहयोगमा रेडक्रसको निरन्तर क्रियाशिलता रहने बताउँदै निर्धारित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र रेडक्रसका संरचनाहरुको प्रभावकारी समन्वयमा जोड दिए ।

प्रतिक्रिया