तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण

विदुर खबर २०८३ असोज २६ गते २०:४४

नुवाकोट । तारकेश्वर गाउँपालिकाले हरेक तीन–तीन महिनामा सञ्चालन गर्दै आएको महत्वकांक्षी ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम अन्तर्गत वडा नम्बर २ को वडा कार्यालय र ठूलोटारमा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

कार्यक्रममा नियमित सामाजिक सुरक्षा भत्ता वितरणसँगै यसपटकबाट कार्यान्वयनमा आएको थप प्रोत्साहन भत्ताको पहिलो किस्ता समेत वितरण गरिएको छ।

चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमार्फत गाउँपालिकाले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा र बालपोषण भत्ता पाउने दलित समुदायका व्यक्तिहरूले खाईपाई आएको भत्तामा वार्षिक रु. ५,००० प्रोत्साहन तथा जीविकोपार्जन भत्ता वृद्धि गर्ने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनुसार पहिलो किस्ता स्वरूप रु. २,५०० थप गरी लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको हो।

Advertisement

भत्ता वितरणसँगै कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक निःशुल्क औषधि समेत वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन तथा अनुगमन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य परीक्षण र औषधि वितरणको कामलाई अझ विशेष प्राथमिकताका साथ प्रभावकारी ढङ्गले सञ्चालन गर्न स्वास्थ्य शाखालाई कूटनीतिक तथा प्रशासनिक निर्देशन दिनुभएको छ।

Advertisement

गाउँपालिकाले सार्वजनिक गरेको तालिका अनुसार अब बाँकी वडाहरूमा पनि क्रमिक रूपमा कार्यक्रम सञ्चालन हुनेछन् । जस अन्तर्गत वडा नम्बर १ मा आगामी बिहीबार, वडा नम्बर ३ र ६: भोलि मङ्गलबार, वडा नम्बर ४ र ५ मा पर्सि बुधबार कार्यक्रम सञ्चालन हुनेछन् ।

स्थानीय सरकारले ज्येष्ठ नागरिकको सम्मान, सामाजिक सुरक्षा र स्वास्थ्य सेवालाई एकसाथ जोडेर अगाडि बढाएको यस कार्यक्रमप्रति स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया