बागमतीका करार तथा अस्थायी कर्मचारीले मासिक महँगी भत्ता पाउने

विदुर खबर २०८२ भदौ २२ गते ८:४१

नुवाकोट । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत दरबन्दीमा कार्यरत करार र अस्थायी कर्मचारीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

Advertisement

आर्थिक वर्ष ०८२/८३ को बजेट कार्यान्वयन गर्दै मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी पाँच हजार महँगी भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रिपरिषद्को १२ साउनमा बसेको बैठकले नेपाल सरकारले बजेटमा गरेको व्यवस्थाअनुसारको स्वीकृत दरबन्दीमा कार्यरत करार र अस्थायी कर्मचारीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णयलाई अनुमोदन गरेको थियो।

Advertisement

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार बागमती प्रदेशअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग, सचिवालय तथा कार्यालयमा कार्यरत करार र अस्थायी कर्मचारीलाई मासिक पाँच हजारका दरले भत्ता उपलब्ध हुनेछ।

उनले प्रदेशको महँगी भत्ताअन्तर्गत विनियोजित रकमबाट खर्च गर्ने व्यवस्था मिलाइएको बताए। यदि उक्त शीर्षकको बजेट अभाव भए उपलब्ध बजेट अभाव शीर्षकबाट समेत आवश्यक रकम माग गरी भत्ता उपलब्ध गराउने मन्त्री तामाङले जानकारी दिए।

Advertisement

आर्थिक मामिला मन्त्रालयको निर्णयसँगै बागमती प्रदेशमा करार र अस्थायी सेवामा रहेका कर्मचारीले अबदेखि अतिरिक्त महँगी भत्ता पाउने भएका छन्।

प्रतिक्रिया