बाग्मतिमा बानियाँको परीक्षा : बाँडफाँटमा अड्कियो सहमति
नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्तासाझेदार दल नेकपा एमालेले पनि निर्देशन (ह्वीप) जारी गरेको छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप जारी गरेको हो ।
‘बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अनुरोधमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि मंगलबार दिनको ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । उक्त बैठकमा अनिवार्य उपस्थित भइ विश्वासको मतको पक्षमा मतजाहेर गर्नुहुन निर्देशानुसार अनुरोध गर्दछु,’ एमाले बागमतीका प्रमुख सचेतक एकालाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
त्यसअघि एमालेले साउन २७ गते दिउँसो १ बजे संसदीय दलको बैठक आह्वान गरेको छ । साउन २० मा मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ ।
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले यसअघि नै निर्देशन (ह्वीप) लगाइसकेको छ । ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले मंगलबार सबै सांसद्लाई अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र विश्वासको मतको पक्षमा मतदान गर्ने गरी तीन बुँदामा ह्वीप जारी गरेको संसदीय दलका प्रवक्ता तथा प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।
बानियाँलाई नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद् गरी ६४ सांसद्को समर्थन रहे पनि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका १४ सांसद्को मत निर्णायक हुने देखिएको छ । आफ्नै दलभित्र अविश्वास प्रस्ताव ल्याएर आफूलाई सत्ताबाट हटाएको भन्दै लामा पक्ष असन्तुष्ट छ ।
संसदीय दलमा बहुमत गुमाएपछि पनि मुख्यमन्त्री नछाड्ने अडान लिएका लामाले सभापति शेरबहादुर देउवाले निर्देशनपछि राजीनामा दिएका थिए । मार्गप्रशस्त गर्नुअघि सभापति देउवालाई जानकारी गराइ बानियाँसँग गरिएको सहमति कार्यान्वयन नभएको लामाको गुनासो छ । उनका अनुसार साउन १४ मा आफूले नियुक्त गरेका ३ मन्त्री (गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ) लाई जिम्मेवारी दिने सहमति थियो ।
प्रदेशमा पावर सेयरिङ हुने गरी आफ्नो पक्षका सांसद्लाई मन्त्री दिनेलगायत विषयमा सहमति भएको भनिए पनि मुख्यमन्त्री बानियाँले लामाको अघिल्लो मन्त्रिपरिषद्का ती मन्त्रीलाई समेट्नु भएन । बानियाँले भने विश्वासको मतपछि मन्त्रिपरिषद् बिस्तार गरिने बताएका छन् ।
‘साउन २७ अघि हाम्रो माग सम्बोधन भएन भने विश्वासको मत दिँदैनौं,’ लामाले भने–हाम्रो सहमति (३ मन्त्री) कार्यान्वयन हुनुप¥यो, नत्र हामी सामूहिक राजीनामा दिनेछौं । बानियाँले विश्वासको मत लिने लक्ष्यसहित आफ्ना समूहमा रहेका सांसद्लाई पद वितरण गरिरहेको लामा पक्षको आरोप छ । ‘बानियाँ समूहका २२ जनामध्ये कृष्ण तामाङ र शिवराज अधिकारीलाई मन्त्री, मीनकृष्ण महर्जनलाई संसदीय दलको सचिव, सुरजचन्द्र लामिछानेलाई प्रवक्ता र कन्चनचन्द्र वादेलाई प्रमुख सचेतक बनाएर सेटल गर्दा मन्त्री बन्ने लाइनमा देखिनुभएकी विन्दु रायमाझी (पौडेल) लाई अनुशासन समितितिर पठाउनुभएको छ,’ लामा पक्ष भन्छ ।
नेकपा माओवादी केन्द्रले बानियाँ नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अन्य दललाई पनि विश्वासको मत नदिन आह्वान गर्ने भएको छ । प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामीले उक्त जानकारी दिँदै भने–सरकारले विकास गर्न सकेन, अस्थिरतामात्र ल्यायो । शान्ति, सुरक्षा, विकास र निर्माणका सबै क्षेत्रमा असफल भयो । उनले थपे–त्यही पार्टीको नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेर मुख्यमन्त्री परिवर्तन गरेर हाल त्यही पार्टीको नेतृत्वमा फेरि राम्रो काम होला भन्ने विश्वास छैन ।
कुल १ सय १० सदस्यीय प्रदेशसभामा बानियाँले कांग्रेसका कुल ३७ मध्ये आफ्नो पक्षका २२ र एमालेका २७ गरी कुल ४९ मतमात्र पाए विश्वासको मत पारित हुनेछैन । किनकि, उनलाई कम्तिमा ५६ मतको खाँचो छ ।
यहाँ नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा (एस) का ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद् छन् । बानियाँ नेतृत्वको सरकारको स्थायित्व राजनीतिक समझदारी र कार्यसम्पादनमा निर्भर रहनेछ । खासगरि आगामी ८ महिनामा उनले कांग्रेसकै लामा पक्ष र एमालेबीच सत्ता बाँडफाँट, बजेट कार्यान्वयन र प्रदेश सरकारको विश्वसनीयता कायम राख्नुपर्ने चुनौती देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया