आइतबार सार्वजनिक बिदा

नुवाकोट । गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले पहिलोपटक आगामी साउन २५ गते (आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीद्वारा जारी सूचनामा मन्त्रिपरिषद् निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेकाले बिदा दिइएको उल्लेख छ ।
नेवार समुदायको मौलिक संस्कृति झल्किने यस पर्व प्रदेशको सांस्कृतिक विविधता र समावेशीपनको परिचायक मानिने भएकाले प्रदेश सरकारले यस वर्षदेखि गाईजात्रालाई सार्वजनिक बिदा सूचीमा राखेको हो । यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिने गरिए पनि अब बागमती प्रदेशअन्तर्गत सबै जिल्लामा समानरुपमा सार्वजनिक बिदा लागु हुनेछ ।
गाईजात्रा पर्व विशेषगरि नेवार समुदायमा मनाइने प्रमुख सांस्कृतिक पर्व हो । काठमाडौं उपत्यकासहित नेवार समुदायको बाक्लो बसोबास रहेको ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरलगायत जिल्लामा गाईजात्रा उल्लासपूर्वक मनाइन्छ । यस पर्वमा गाई वा मानिसलाई गाईसरह सिंगारी नगरपरिक्रमा गराइन्छ ।
यस पर्व नेवार संस्कृतिबाट प्रारम्भ भएकाले खासगरि काठमाडौं उपत्यका र देशविदेशमा नेवारहरुको बसोबास भएका सहरहरुमा विशेष महत्वसाथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवंगत पितृहरुको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने लौकिक विधान छ । प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म यस पर्व मनाउने गरिन्छ ।
पछिल्लो समयमा गाईजात्रा हास्यव्यङ्ग्य विधालाई उजागर गर्ने पर्वका रुपमा पनि स्थापित हुँदै आएको छ । यस पर्वको अवसरमा विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्यका विशेषांक निकाल्छन् भने हास्यकलाकारले समाज र राष्ट्रमा हुने गरेका विकृति–विसंगतिलाई व्यङ्ग्यात्मक प्रहसनमार्फत् औंल्याउने गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया