बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज
नुवाकोट । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।
बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो २ बजेको समयपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसैगरी, बानियाँले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक सांसदले जानकारी दिए । बानियाँले मुख्यमन्त्रीको सपथ लिए लगत्तै कांग्रेस र एमालेबाट केही मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
बागमतीमा एक वर्ष अगाडिबाट अर्थात ९ साउन ०८१ देखि कांग्रेस र एमालेको संयुक्त सरकार छ । कांग्रेसबाट बागमतीमा पहिलो पटक मुख्यमन्त्री बनेका नुवाकोटका बहादुर सिंह लामाले आइतबार राजीनामा घोषणा गरेर सोमबार प्रमुख स्वकीय सचिव छत्र लामामार्फत प्रदेश प्रमुख कार्यालयमा राजीनामा दर्ता गराएका थिए ।
९ साउनमा आफ्नै सांसदले हालेको अविश्वासको प्रस्तावको १३ साउनमा मतविभाज हुँदा अल्पमतमा पर्दै लामाले दल नेताको हैसियत गुमाएका थिए । १४ साउनमा भएको संसदीय दलको निर्वाचनमा लामालाई हराएर बानियाँ दलको नेता चयन भएका थिए ।

बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति थियो । जसअनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गरी आगामी फागुनमा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया