बागमतीका मुख्यमन्त्री लामाले राजीनामा दिने, बानियाँ मुख्यमन्त्री बन्ने

नुवाकोट । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने भएका छन् ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा छलफलपछि लामा राजीनामा दिन तयार भएका हुन् । राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
कांग्रेसको आन्तरिक विवादले केही दिनयता बागमती प्रदेशमा राजनीतिक अस्थिरता देखिएको थियो । अविश्वासको प्रस्तावबाट प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री लामालाई हटाइएको थियो । तर, संवैधानिक रूपमा मुख्यमन्त्रीको पद नजाने भएकाले उनले राजीनामा नदिने बताउँदै आएका थिए । संविधानको धारा १६८ (२) अन्तर्गतको संयुक्त सरकारको नेतृत्व लिन संसदीय दलको नेता हुनुपर्ने बाध्यता छैन । सोही कारण लामालाई हटाउन र नयाँ सरकार निर्माणमा बानियाँ पक्षलाई अप्ठ्यारो परेको थियो ।
शनिबार आफ्नो पक्षका १४ सांसदसहित लामा र मुख्यमन्त्रीका दाबेदार बानियाँबीच छलफल भएको थियो । सभापति देउवाको उपस्थितिमा भएको बैठकमा सरकार सञ्चालन र मन्त्री भागबन्डामा सहमतिपछि लामा राजीनामा दिन तयार भएका हुन् । नयाँ सरकारमा लामा पक्षले प्रस्ताव गरेका कम्तीमा तीन मन्त्रीको सहभागिता हुनुपर्ने सहमति भएको छ । उनले आर्थिक मामिला तथा योजना मन्त्रालय आफ्नो पक्षले पाउनुपर्ने माग पनि गरेका छन् ।
दुई दलीय सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसका ८ र एमालेका ६ मन्त्री थिए । आन्तरिक विवादका कारण कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी मात्रै छन् । राजीनामा दिएका पाँच मन्त्री बानियाँको पक्षमा छन् ।
त्यसपछि लामाले आफ्नो पक्षबाट तीन मन्त्री नियुक्त गरे पनि उनीहरूलाई केन्द्रकै दबाबमा शपथ खुवाउनबाट रोकिएको थियो । लामाले आफूले नियुक्त गरेका प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका सांसद गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा निरन्तरता दिनुपर्ने र अर्थमन्त्री आफ्नो पक्षले पाउनुपर्ने अडान लिँदै आएका थिए । ‘तीन मन्त्रीलाई निरन्तरता दिन सहमति भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लाग्नुभएको हो,’ बानियाँ पक्षका एक सांसदले भने, ‘आइतबार नै राजीनामा र नयाँ मुख्यमन्त्रीको नियुक्ति हुन्छ ।’
आर्थिक मामिलामन्त्री काफ्लेले पनि मुख्यमन्त्रीको राजीनामा आइतबार आउने बताए । सरकार सञ्चालन र मन्त्री नियुक्तिमा सबै पक्षको भावनाको प्रतिनिधित्व हुने गरी अघि बढ्ने र तत्कालीन सरकारका निर्णयहरूलाई शतप्रतिशत कार्यान्वयन गर्नेमा सहमत भएपछि नयाँ सरकार गठनलाई मार्गप्रशस्त गर्ने उनले जानकारी दिए ।
‘आन्तरिक छलफलसमेत नगरेर रातारात अविश्वासको प्रस्ताव ल्याउनुपर्नाका कारणबारे हामीले सभापतिलाई सोध्यौं, तर सभापतिले थाहा नभएको जवाफ दिनुभयो । निर्णय भइसकेपछि त्यसलाई मानेर जानुपर्छ भन्नुभयो,’ काफ्लेले भने, ‘कांग्रेसभित्र सबैको भावनाको प्रतिनिधित्व हुन सकेन भने आज जस्तो घटना घटाइएको छ, त्यस्तै भोलिका दिनमा नहोला भनेर भन्न सकिन्नँ ।’ लामाले आइतबार आफूले पनि प्रदेश प्रमुखलाई राजीनामा बुझाउने बताए ।
स्रोतका अनुसार लामाले मुख्यमन्त्री नछाडेमा उनलाई माओवादी र राप्रपाले समेत साथ दिन सक्ने संकेत थियो । दुई वर्ष नपुगेसम्म मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नमिल्ने भएकाले संवैधानिक रूपमा उनलाई हटाउन एउटा मात्रै विकल्प सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिने बाटो थियो । त्यसो हुँदा लामाले ३० दिनभित्र विश्वासको मत लिनुपर्थ्यो । त्यतिबेला माओवादी, एकीकृत समाजवादी र राप्रपाले विश्वासको मत दिएमा लामाले निरन्तरता पाउन सक्ने सम्भावना थियो ।
यसअघि कोशीमा नेता शेखर कोइराला पक्षले गरेको जस्तै घटना दोहोरिन सक्ने चिन्ताले पनि सभापति देउवाले लामाका सरोकारलाई पूरा गर्ने प्रतिबद्धताका लागि प्रस्तावित नयाँ मुख्यमन्त्री बानियाँलाई समेत साथमा राखेर छलफल गरेका थिए । ‘अब बन्ने सरकारलाई हामीले गुण र दोषका आधारमा नै समर्थन गर्ने हो ।

अर्को पक्षलाई पेलेर जान खोजियो र वर्तमान सरकारले गरेका निर्णय उल्ट्याउन खोजियो भने अहिले जे भएको छ, त्यही नियति फेरि दोहोरिनेछ,’ काफ्लेले भने, ‘पार्टीभित्रको बृहत् एकताका लागि निकास दिने पक्षमा हामी उभिएका छौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया