बाढीले क्षति गरेको संरचना बनाउन चीनको सहयोग

नुवाकोट । रसुवामा बाढीले क्षति पुर्याएका भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ताका क्रममा सियाओदोङले भौतिक संरचना पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जनाएका छन् ।
अर्थ मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाबारे छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले बताएको छ ।
द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसमा नेपालका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र चीनका तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका हुन् ।
दुई देशबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । यसबाट १ हजार २ सयभन्दा बढी सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ । उक्त अवसरमा रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्ष सियाओदोङले हस्ताक्षर गरे ।

अर्थमन्त्री पौडेलले विपद्लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया