रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या ४० पुग्यो
नुवाकोट । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा हुन् ।
योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको छ ।परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको हो ।असार १० सम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३४ थियो । त्यसपछि थप दुई जना संजोग आचार्य र नवीन शाहीको मृत्यु भएको थियो । त्यसपछि थप चार जनाको मृत्यु भएको हो ।
‘उनीहरुको घर कहाँ हो भन्ने बारेमा भने अझै पत्ता लागिसकेको छैन । व्यक्तिमात्र पत्ता लागेको छ । उनीहरुको घर पत्ता लगाउन सकिएको छैन,’ परराष्ट्र स्रोतले भन्यो,‘हामी सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर काम गरिरहेका छौं ।’हालसम्म रुस–युक्रेन युद्धमा रुसी सैनिक बनेर भाग लिएका ७ जना नेपालीको नाम खुले पनि उनीहरुको जिल्ला पत्ता लाग्न सकेको छैन ।
सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।परराष्ट्र मन्त्रालयले रुस–युक्रेनको युद्धमा परेर मृत्यु हुने नेपालीको बारेमा सुरुवातमा प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिएपनि पछिल्लो समय मृत्यु हुनेहरु सबैको नामावली सार्वजनिक गरेको छैन ।रुस मामिलामा परराष्ट्र मन्त्रालयले कुनै पनि जानकारी दिन छाडेको छ । मस्कोस्थित नेपाली दूतावासले पनि परराष्ट्र मन्त्रालयको निर्देशनपछि नेपालीहरुको सम्बन्धमा सूचना प्रवाह गर्न छाडेको छ । दूतावासका कर्मचारीहरु प्रेससँग सम्पर्कमै आउन चाहदैनन् ।
अर्कोतर्फ रुसबाट १७४ जना नेपाली सकुशल घर फर्किएका छन् । परराष्ट्र मन्त्रालय र दूतावासको सहकार्यमा उनीहरुलाई घर फर्काइएको हो । नेपाल सरकारद्वारा पटक–पटक रुससँग कुटनीति संवाद गर्दै नेपालीहरुको विषयमा चासो राख्दै आइरहेको छ । तर रुसको परराष्ट्र मन्त्रालयद्धारा रक्षा मन्त्रालयलाई देखाउदै जवाफ दिन आलटाल गरिरहन्छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गत साता नेपालका लागि रुसी राजदूत एलेक्सी नोभिकभले रुसी सेनामा नेपालीहरु भर्ती सम्बन्धमा बोलाएर सोधपुछ गरेका थिइन् । उक्त अवसरमा राणाले रुसी सेनामा कति नेपाली छन्, मृत्यु हुनेको क्षतिपूर्ति, नेपालीहरुलाई फिर्ता पठाउने, नेपालीको शवलाई नेपालमा ल्याउने लगायतका विषयमा कुरा गरेकी थिइन् ।
परराष्ट्र स्रोतका अनुसार जवाफमा राजदूत नोभिकभले अहिले आफ्नो मुलुकमा युद्ध चलिरहेको र त्यस विषयमा आफ्नो विदेशमन्त्रालय नभई रक्षा मन्त्रालयले हेरिरहेको जवाफ दिएका थिए । ‘हामीले नेपालीहरुको सम्बन्धमा चासो राखेर कुरा गयौं । तर रुसी पक्षबाट अहिले युद्ध भइरहेको र रक्षा मन्त्रालयले हेरिरहेको भन्ने जवाफ आयो,’ परराष्ट्रमन्त्री राणाले भनिन्,‘तर पनि हामीले कुटनीतिक पहलमार्फत लगातार रुपमा नेपालीहरुलाई फर्काउनको लागि कोशिस गरिरहेका छौं । उनीहरुलाई क्षतिपूर्तिको लागि पनि काम गरिरहेका छौं ।’
राणामात्र होइन, यस अघिका दुई परराष्ट्रमन्त्रीहरु एनपी साउद र नारायणकाजी श्रेष्ठले पनि रुससँग कूटनीतिक पहल गरेर नेपालीहरुलाई फर्काउन र क्षतिपूर्ति पाउनको लागि लगातार रुपमा कोसिस गरेका थिए ।त्यसका बाबजुद पनि रुसले नेपाली पक्षको कुरा सुनेन ।पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले असारमा इरानको राजधानी तेहरानमा सम्पन्न भएको एसिया सहयोग संवाद (एडीसी) मा रुसी उपविदेशमन्त्री रुडेन्को आन्रेय यूरेविचसँग साइडलाइनमा भेटवार्ता गर्दा रुसी सेनामा भर्ती नेपालीहरुको अवस्था बारेमा छलफल गरेका थिए ।
श्रेष्ठले युद्धमा मृत्यु भएका नेपालीको शव नेपाल पठाइदिन, युद्धमा मृत्यु हुने नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन, घाइते भएका र रुसी सेनामा भर्ना भएकालाई फिर्ता पठाइदिन, नेपालीलाई रुसी सेनामा भर्ती नगर्न, रुसी सेनामा भर्ती भएका नेपालीको संख्या नेपाल सरकारलाई जानकारी दिन तथा रुसी सेनामा भर्ती भएर युक्रेनी सेनाको कब्जामा परेकाको जानकारी दिन अनुरोध गरेका थिए ।
रुसी उपविदेशमन्त्री युरेविचले आफू मस्को फर्केपछि राजदूत मिलन तुलाधरलाई आफ्नो कार्यालयमा पठाउन र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यस बारेमा के भयो भन्ने बारेमा अहिलेसम्म कुनै घटना बाहिर आएको छैन । श्रेष्ठले यस अघि पनि गत फागुन २४ मा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभसँग काठमाडौंबाट टेलिफोनमा संवाद गरे र नेपालीहरुलाई रुसी सेनामा भर्ना गरेको विषयमा कुरा उठाए । लाभ्रोभले पनि नेपालमा रहेको रुसी राजदूत नोभिकभले जस्तै रुसमा अहिले युद्ध भइरहेको र उक्त विषय रक्षा मन्त्रालयले हेर्ने भन्दै पन्छिएका थिए । उनले त्यस विषयमा रक्षा मन्त्रालयसँग कुराकानी गर्ने प्रतिबद्धता भने गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया