रसुवाका अधिकांश स्थानीय तह शिक्षा शाखा प्रमुखविहीन

विदुर खबर २०७५ असोज १९ गते २:२२

रसुवा– सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा रसुवाका अधिकाशं स्थानीय तहका शिक्षा शाखा प्रमुखविहीन बनेका छन्।

जिल्लाको पाँच गाउँपालिका मध्ये चार गाउँपालिका अझै शिक्षा शाखा प्रमुखविहीन बनेका छन्। शिक्षा शाखा प्रमुखबिहीन हुँदा जिल्लाका स्थानीय तहले शिक्षा सम्बन्धी कामकाज गर्न असहज भएको बताएका छन्। सरकारी दरबन्दीअनुसार जिल्लाको आमाछोदिङमो गाउँपालिकामा एक शाखा अधिकृत बाहेकको दरबन्दी हुनसकेको छैन। गाउँपालिकामा एक शाखा अधिकृत र एक प्राविधिक सहायकको दरबन्दी रहेको छ। तर, रसुवाका कुनै पनि स्थानीय तहमा त्यो दरबन्दी पदपूर्ति हुनसकेको छैन।दरबन्दी पदपूर्ति नहुँदा शिक्षासम्बन्धी कामकाज गर्न समस्या भइरहेको नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले बताइन्।उनले भनिन्, ‘स्रोत व्यक्तिले सबै कुरा जानेको हुँदैन्, फिल्डमा गएर काम गर्नुपर्ने उहाँहरुलाई प्रशासनिक केहि थाहा हुँदैन्, जसले गर्दा धेरै समस्या भएको छ।’

संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएको भए पनि शिक्षाका दरबन्दी पदपूर्ति नहुँदा समस्या भएको छ।संविधानको व्यवस्थासँगै गाउँपालिकामा गाउँ शिक्षा शाखामा साविकमा विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेका शिक्षाका अधिकृतलाई नै स्थानीय तहमा शिक्षा शाखा प्रमुखका रूपमा खटाइएको थियो।शिक्षा अधिकारी नहुँदा स्थानीय तहमा शिक्षा कार्यक्रम, नीति नियम निर्माण, विद्यालयको व्यवस्थापन, अनुगमन र निरीक्षणको काम प्रभावित भएको छ। जिल्लाका कुनै पनि स्थानीय तहमा सरकारी दरबन्दीअनुसार कर्मचारी नहुँदा समस्या हुँदै आएको छ।

जिल्लाका ४ वटा स्थानीय तहमा शिक्षाका निजामती कर्मचारी नभएको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका प्रमुख बालकृष्ण सिंखडाले बताए।स्रोत व्यक्तिले नै हाल जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखा सम्हालिरहेका छन्।कर्मचारी पदपूर्ति नहुँदासम्म स्रोत व्यक्तिलाई शिक्षा शाखाको जिम्मेवारी दिइएको सिम्खडाले बताए। शिक्षकबाट काजमा रहेका स्रोत व्यक्ति यसअघि विभिन्न क्षेत्रमा खटाइएका थिए। ती स्रोत व्यक्तिले नै अहिले स्थानीय तहका शाखाको जिम्मा पाएका हुन्।स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन बन्दा शिक्षा नियमावली बनाउने, विद्यालय मर्ज गर्नुपर्ने काम र शिक्षा बजेट नै खर्च गर्न नसकिने अवस्था रहेको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाले जनाएको छ।

Advertisement

प्रतिक्रिया