विश्व रेकर्ड बनाएको १२ वर्षपछि म्यानमारविरुद्ध भिड्दै नेपाल

विदुर खबर २०७५ असोज १६ गते १२:११

नुवाकोट असोज १६, सन् २००६ को एसिसी ट्रफीमा नेपाल समूह ‘सी’ मा परेको थियो। पाँच टिम रहेको समूहमा नेपालले पहिलो खेलमा  कुवेत, दोस्रो खेलमा भुटान र तेस्रो खेलमा हङकङलाई सहज रुपमा पराजित गर्दै सानदार सुरुवात गरेको थियो।

समूह चरणको चौथो खेलमा भने नेपालले सनसनी मच्चायो। २००६ अगस्ट २० तारिकमा म्यानमारविरुद्धको खेलमा नेपालले विश्व रेकर्ड बनाएको थियो। पहिले ब्याटिङ गरेको म्यानमार १२.१ ओभरमा १० रनमै अलआउट भयो। म्यानमारका कुनै पनि ब्याट्सम्यानले २ रन समेत जोड्न सकेनन्। नेपाली बलरसामूह निरिह बनेका म्यानमारका ५ ब्याट्सम्यान १ रनमा आउट भए। ६ ब्याट्सम्यान शून्य रनमै पेभेलियन फर्कन बाध्य भए।  म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका मेहबुब आलामले ७ विकेट लिएका थिए। उनले ६.१ ओभर बलिङ गर्दा ३ रन मात्र खर्चिए। बाँकी ३ विकेट विनोद दासले हात पारे। दासले ६ ओभरमा ४ रन खर्चिएका थिए। दासले २ मेडन र आलामले ३ मेडन फ्याँकेका थिए।

बलिङमा सनसनी मच्चाएको नेपालले ११ रनको लक्ष्य केवल २ बल खेलेर पार गरेको थियो। २ बलमा लक्ष्य पार गर्दा विश्व रेकर्ड बनेको थियो। खेलमा नेपालको ओपनिङमा महेश क्षेत्री र धिरेन्द्र चन्द थिए। दुवैले १–१ बलको सामाना गर्दा समान नटआउट ३–३ रन बनाएका थिए। बाँकी पाँच रन नेपालले वाइडबाट पाएको थियो।

(नेपाल र म्यानमारबीच १२ वर्षअघि भएको खेलको स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस् )

१२ वर्षपछि नेपाल र म्यानमारका सिनियर टिम मैदान उत्रदैछन्। आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र म्यानमारबीच बुधबार प्रतिस्पर्धा हुन लागेको हो। खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्यान्ह सवा १२ बजे प्रतिस्पर्धा हुनेछ। १२ वर्षअघि म्यानम्यारविरुद्ध खेलेका ४ जना खेलाडी अहिले पनि नेपाली टिममा छन्। टी–२० विश्वकप खेल्न मलेसियामा रहेका पारस खड्का, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर १२ वर्षअघि म्यानमार विरुद्ध मैदान उत्रिएका थिए। चारै जनाले बलिङ र ब्याटिङ गर्ने मौका नपाए पनि ऐतिहासिक खेलमा फिल्डिङ गरेका थिए।

पछिल्ला नतिजाको विश्लेषण गर्ने हो भने म्यानमार भन्दा नेपाल बलियो छ। किनकी पछिल्ला ६ वटा टी–२० खेलमा म्यानमारले लगातार हार बेहोरेको छ। ६ वटै खेलमा म्यानमारले सय रन पनि बनाउन सकेको छैन। उसले मलेसिया, सिंगापुर, थाइल्यान्ड र इन्डोनेसियासँग एसइए टी–२० गेम्समा खेलेका सबै खेल गुमाएको थियो। टी–२० विश्वपकप छनोटअन्तर्गत पूर्वी एसिया क्षेत्रको यो प्रतिस्पर्धाको उपाधि जित्ने लक्ष्य लिएको नेपालका लागि म्यानमार सहज प्रतिद्वन्द्वी हुन सक्छ। किनकी पछिल्लो सयम नेपालसँग बलिया प्रतिद्वन्द्वीसँग खेलेको अनुभव र प्रतियोगितामा तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धा छन्। नेपालका प्रशिक्षक जगत टमाटाले उपाधि लक्ष्यलाई प्रत्येक खेलले असर पार्ने भएकाले कुनै पनि टिमलाई कमजोर नआक्ने मलेसिया उड्नुअघि बताएका थिए।

प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गर्नेछन्। एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने  प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी,  विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी । वैकल्पिक खेलाडी : सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन ।

पहिलो चरणको छनोटमा नेपालको खेल 
असोज १७– नेपाल भर्सेस म्यानमार
असोज २०– नेपाल भर्सेस मलेसिया
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड
असोज २३  – नेपाल भर्सेस भुटान
असोज २४– नेपाल भर्सेस चीन
असोज २६– नेपाल भर्सेस  सिंगापुर

Advertisement

प्रतिक्रिया