सुन प्रकरण : नुवाकोट प्रहरी प्रमुख थापा जिम्मेवारीबाट हटाइए

विदुर खबर २०८० चैत ३ गते १८:२८

नुवाकोट । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका नुवाकोटका जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ ।

Advertisement

सुन तस्करीको अनुसन्धानबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुन तस्करीबारे अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालिएको छ ।

त्यसक्रममा सीआईबी प्रमुख किरण बज्राचार्य, एसपी थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही सिफारिस भएको छ । कारबाही सिफारिस भएपछि थापालाई नुवाकोट प्रहरी प्रमुखबाट शुक्रबार हटाइएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए ।

Advertisement

नुवाकोटबाट हटाइएका एसपी थापामाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ मागेको आरोप समेत छ । सीआईबीमा हुँदा उनले सुन तस्करीबारे अनुसन्धानको नेतृत्व गरेका थिए ।

चलाउनेलाई एसपी थापाको कोठामा कागज गराएर अधिकृतहरुले छाडेका थिए । त्यसको केही दिनपछि ‘बाजेको सेकुवा रेष्टुरेन्ट’मा बोलाएर आफूलाई पैसा मागिएको जीवनले बयान दिएका छन् ।

Advertisement

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा दोषीहरुलाई उन्मुक्ति दिने सबैलाई कारबाही गरिने बताएका छन् ।

प्रतिक्रिया