नुवाकोटमा काकाको हत्यामा संलग्न श्रीमान श्रीमती पक्राउ

विदुर खबर २०८० फागुन २४ गते १२:२२

नुवाकोट । नुवाकोट जिल्लामा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका वडा नं.–३ ठूलोगाउँका टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनको भतिजी दम्पति पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटले शुक्रबार पत्रकार सम्मेलन गरेर हत्यामा सहभागी रसुवाको कालिका गाउँपालिका वडा नं.–२ धैबुङका अनिल भुषाल र उनको श्रीमती दिपा (भट्ट) भुषाल रहेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) सञ्जयसिंह थापाको अनुसार ७१ वर्षिय भट्टको हत्यामा संलग्न रहेको अभियोग लागेको दिपा भट्टको दम्पतिलाई काठमाडौंबाट पक्राउ गरेर बिहीबार नुवाकोट ल्याईएको थियो । नुवाकोट ल्याए लगत्तै कारबाहीको लागि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ ।

Advertisement

उनीहरुलाई कर्तब्य ज्यान मुद्दाको अभियोगमा कारबाही गर्न अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं.–५ स्थित पोलोरोपाखा जंगलमा गत मंगलबार मृत भेटिएका भट्टको घटनास्थलको प्रकृति, तालिम प्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धानबाट रिसिईबीको कारण ती बृद्धको हत्यामा उनकै भतिजी ३१ वर्षिय दिपा र दिपाको श्रीमान ४१ वर्षिय अनिलले गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका दम्पतिले घटनामा आफुहरुको संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं.–५ खत्रीकुना जङ्गलमा भिरबाट लडेको अवस्थामा मृत भेटिए पनि उनको टाउको फुटाएको अवस्थामा शव विभत्स पाईएसँगै हत्या गरिएको अनुमानमा प्राप्त प्रमाणका आधारमा अपराध भएको र त्यसमा उनको भतिजी दम्पतिको संलग्नता देखिएको हो । “यसअघि अन्यत्र विवाह गरेर पाँचवटा बच्चा जन्माएपछि उक्त घर छाडेर दुई वर्षअघि दिपाले धैबुङका अनिलसँग विवाह गरेको पाईएको छ ।”

Advertisement

प्रनाउ खड्काले भन्नु भयो “भट्टले आफ्नो भतिजी दिपासँगको कुराकानीमा अनिललाई छाड्न आग्रह गरेको पाएसँगै उनै दिपाको सहयोगमा अनिलले लाठो प्रहार गरेर हत्या गरेको खुल्न आएको छ ।” तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले उनीहरुले प्रयोग गर्ने मोबाइल फोनको ‘लोकेशन’ को आधारमा घटना भएको दिन गत मंगलबारदेखि पछ्याउँदै आएपनि शुक्रबार नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।

प्रतिक्रिया