प्रचण्डले वाचा पूरा गरे, हितबहादुर बने दोस्रो पटक मन्त्री

विदुर खबर २०८० फागुन २४ गते १२:०६

नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ दोस्रो पटक मन्त्री बनेका छन्।

Advertisement

सत्ता समीकरण फेरिएपछि तामाङले दोस्रो पटक मन्त्री बन्ने अवसर पाएका हुन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले सोमबार विनाविभागीय मन्त्री बनाए पनि बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिएका हुन्।

यसअघि तामाङ २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए। त्यसबेला उनले तीन महिना मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए। कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रले चार राजनीतिक दललाई लिएर नयाँ सत्ता समीकरण बनाएको छ।

Advertisement

गत माघ २७ गते सोनाम ल्होसारको अवसरमा काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री दाहालले केही समयमै मन्त्रिपरिषद पुनर्गठन हुने र तामाङ समुदायबाट एकजनालाई मन्त्री बनाउने घोषणा गरेका थिए। २०२१ सालमा पन्चकन्या गाउँपालिका वडा नम्बर ३ घले भन्ज्याङमा जन्मिएका मन्त्री तामाङले २०३६ सालदेखि विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरु गरेका हुन् ।
राजनीति गर्ने क्रममा उनी पटक(पटक जेल समेत परे। उनी २०५२ देखि २०६१ सालसम्म भूमिगत भएर माओवादी राजनीतिमा सक्रिय रहे।

तामाङ अनेरास्ववियुको जिल्ला सचिव,जनमोर्चाको जिल्ला नेतृत्व हुँदै हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । ६० वर्षीय तामाङ गत वर्ष नुवाकोटको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित थिए।

Advertisement

तामाङले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । तामाङ २०३९ मा अनेरास्ववियूका नुवाकोट सचिव भएका थिए । २०४७ सालमा नेकपा चौथोको महाधिवेशनको सदस्यता प्राप्त गरेका थिए भने २०५२ सालमा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए ।

तामाङ २०५८ सालमा माओवादीको केन्द्रीय सदस्य बनेका थिए । माओवादी देशको शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए ।

पहिलो संविधान सभा सदस्य निर्वाचन २०६४ र दोस्रो संविधान सभा सदस्य निर्वाचन २०७० मा पराजित तामाङ २०७४ र २०७९ मा नुवाकोट- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया