दसैं नजिकिएसँगै रसुवाका अधिकांश ग्रामीण सडकको निर्माण सुरु

विदुर खबर २०७५ असोज ११ गते १४:०५

रसुवा- वर्षाका कारण अवरुद्ध रसुवाका अधिकांश ग्रामीण सडक मर्मत सुरु गरिएको छ।

नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै जिल्लाका पाँचवटै स्थानीय तहका ग्रामीण सडक मर्मत सुरु गरिएको हो। वर्षायाममा बाढी पहिरोका कारण अवरुद्ध सडकहरु मर्मतको अभावमा यातायात नियमित सञ्चालनमा आउन सकेका थिएनन्। चाडपर्वका समयमा यात्रुलाई आवतजावत गर्न तथा सामान ढुवानी गर्न सहज बनाउनका लागि बिग्रिएका सडकहरुको मर्मत थालिएको जिल्लाका ५ वटै स्थानिय तहले बताएका छन्।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङका अनुसार वर्षाले अवरुद्ध बृद्धिम, खाम्जिङ र थुमनका ग्रामीण सडक निर्माण सुरु गरिएको हो। दसैंअगावै मर्मत सक्नेगरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष तामाङले बताए। त्यस्तै कालिका गाउँपालिकाका अध्यक्ष सीता अधिकारीका अनुसार गाउँपालिकाको वडा नम्बर १ स्थित पलेप ग्राङ, धुसेनी रुप्सेपानी जिवजिबे हुँदै ज्याङलाङ पुग्ने ग्रामीण सडकको मर्मत सकिएको छ। त्यस्तै वडा नम्बर ३ को तारुके, वडा नम्बर ५ को धारापानी हुँदै भदौरेसम्म पुग्ने बाटोको मर्मत थालिएको छ। अबको १० दिनभित्र अवरुद्ध सडक सञ्चालनमा आउने अधिकारीको भनाइ छ।

नौकुण्ड गाउँपालिकामा भने अवरुद्ध सडक सुचारु गर्न टेन्डर आह्वान गरिएको र १३ गतेबाट सडक सुचारु गर्ने गरी कार्य अघि बढाएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले बताइन्। जिल्लाको आमाछोदिङमो गाउँपालिकामा भने केहि दिनपछि मात्र काम सुरु हुने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए। ‘अवरुद्ध सडक सुचारु गर्न डोजर नहुँदा समस्या भएको छ,’ उनले भने।

Advertisement

प्रतिक्रिया