रसुवाको टिमुरेमा अर्को महिनाबाट सुख्खा बन्दरगाह निर्माण थालिने

विदुर खबर २०७५ असोज ११ गते १२:०५

Advertisement

रसुवा असोज ११, रसुवाको टिमुरेमा अक्टोबरबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहको लागत स्टिमेटसहितको फाइनल डिजाइन तयार गरिसकेको छ ।

नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ । बन्दरगाह ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गरी जग्गाको व्यवस्थापन भइसकेको छ । जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासनमार्फत करिब ४८ करोड भुक्तानी भइसकेको छ । बन्दरगाहमा ५ हजार २ सय स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न मुख्य भवन हुनेछ । भवनमा भन्सारका लागि अफिस र क्वाटरसहितको सुविधा हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू रहनेछन् । बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यले बताए । ७ सय ५० स्क्वायर वर्ग मिटरको क्षेत्रफलमा गोदाम घर निर्माण हुनेछ । २ हजार २ सय स्क्वायर वर्गमिटरको सेड निर्माण हुनेछ । सामान जाँचपास टर्मिनल, चेकपोस्टलगायत आधारभूत संरचना निर्माण हुनेछ ।

Advertisement

रसुवागढी नाका हुँदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाहमार्फत नेपाल भित्रिनेछ । भन्सार, अध्यागमनलगायतका कामसमेत सुक्खा बन्दरगाहबाट हुनेछ । चीनले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गर्ने बताएको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करिब ४ सय ५० किमि छ । चीनले सन् २०२३ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ । पछिल्लो समय चीनसँग स्थल मार्गबाट यही नाका हुँदै व्यापार भइरहेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको व्यावसायिक महत्त्व बढदै गएको छ । रेलबाट ल्याएको सामानलाई सिधै ट्रकमा लोड गरी सुक्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुनेछ । रसुवागढी नाकाबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एसिया जोड्ने सबैभन्दा छोटो रुटको सडक हुनेछ ।

प्रतिक्रिया