चिनीको दशैँ तिहारमा हाहाकार हुने संकेत

विदुर खबर २०८० असोज १० गते २१:३१

नुवाकोट । चिनी उद्योगहरुले स्टक सकिएको जानकारी दिँदा पनि समयमै आयातको प्रवन्ध नमिलाउँदा यसपालीको दशैँ तिहारमा चिनीको अभाव हुने संकेत देखिएको छ ।

Advertisement

स्वदेशी चिनी उत्पादकहरुले मौज्दात नरहेको भन्दै कर छुटको चिनी ल्याउनुपर्ने बताउँदै आएका थिए । तर, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले यस सम्बन्धमा समयमै तदारुकता देखाएन ।

भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले भारतबाट २० हजार मेट्रिक टन चिनी ल्याउने र यसमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेपनि चिनी आयातको अनुमति पत्र दिइएको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई चिनी आयातको अनुमति दिने मन्त्रिपरिषदको निर्णय भएपनि अहिलेसम्म यी दुइ वटै संस्थानले चिनी ल्याउने अनुमति पाएका छैनन् ।

Advertisement

एकातिर स्वदेशी उद्योगसँग मौज्दात शून्य हुनु र अर्कातिर भन्सार छुटको चिनी ल्याउन खाद्य र साल्ट ट्रेडिङलाई समयमै अनुमति नदिइनुले यसपालीको दशैँ र तिहारमा चिनी अभाव हुने देखिएको छ । तर, बल्ल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङसँग १०÷१० हजार मेट्रिक टन चिनी ल्याउने विषयमा छलफल सुरु भएको छ ।

सरकारले टेण्डर माग गरेको भएपनि स्वीकृत गरिसकेको छैन । त्यसकारण भन्सार छुटको २० हजार मेट्रिक टन चिनी दशैँ अगाडी आउने सम्भावना टरेको खाद्य र साल्ट ट्रेडिङकै अधिकारीहरु बताउन थालेका छन् ।

Advertisement

‘२ महिना अगाडी नै चिनी आयातको अनुमति माग गरेका थियौँ, त्यतिबेला अलिअलि स्टक थियो, तर स्टक नसकिउन्जेलसम्म उद्योग वाणिज्य मन्त्रालय र सरकारले कुनै चासो दिएनन्’ खाद्यका एक अधिकारी भन्छन्, ‘अब ल्याउने भनिएको २० हजार टन चिनी दशैँ अगाडी नै आउने सम्भावना छैन ।’

प्रतिक्रिया