लम्पी स्किनबाट १३ लाखभन्दा बढी पशु संक्रमित

विदुर खबर २०८० साउन ३२ गते १६:४६

नुवाकोट । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताएका छन् ।

Advertisement

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण प्रस्तुत गर्दै मन्त्री भुसालले भारत र चीनबाट लम्पी स्किनविरुद्ध खोप आयातको पहल भइरहेको बताएका हुन् ।

कृषि मन्त्री भुसालले दिएको जानकारीअनुसार अहिलेसम्म १३ लाख ५ हजार ३ सय ६१ पशुमा लम्पी स्किन संक्रमण भएको छ । त्यसमध्ये उपचारपश्चात १० लाख ८२ हजार १ सय ५९ पशु निको भइसकेका छन् । त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायम रहेको पनि मन्त्री भुसालको भनाइ छ ।

Advertisement

त्यस्तै पछिल्लो तथ्यांकअनुसार लम्पी स्किनबाट मर्ने पशुको संख्या ४७ हजार ६ सय ४९ रहेको उनले बताए । यद्यपि पशु सेवा विभागले भने साउन १२ गतेसम्ममै लम्पीबाट मर्ने पशुको संख्या ५० हजार नाघेको बताएको थियो । मन्त्री भुसालले अहिलेसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकिएको पनि बताए ।

७७ वटै जिल्लामा गाईभैंसीमा लम्पी स्किन संक्रमण पुष्टि भए पनि मनाङ र मुस्ताङमा भने पूर्ण रूपमा नियन्त्रणमा आइसकेको मन्त्री भुसालले समितिलाई जानकारी दिए । पहाडी जिल्लाहरूमा संक्रमण क्रमश: घटिरहे पनि मधेश र वाग्मती प्रदेशका केही जिल्लामा संक्रमण देखिइरहेको उनको भनाइ छ ।

Advertisement

लम्पी स्किन रोग नियन्त्रणका लागि पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ । सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न ७वटै प्रदेशमा टोली परिचालन गरिएको समेत मन्त्री भुसालले जानकारी दिए ।

 

प्रतिक्रिया