माथिल्लो सान्जेनको निर्माणले गति लियो

विदुर खबर २०७५ असोज १ गते ५:२४

रसुवा असोज १, रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ६८ प्रतिशत भौतिक प्रगति भएको छ । सन् २०१४ बाट निर्माण सुरु भएको १४.८ मेगावटको आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ ।

Advertisement

सुरुङ निर्माण सकिएसँगै सुरुङको सर्पोटको काम भैरहेको आयोजनाले जनाएको छ । यो आयोजनाको भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । आयोजनामा हेडवर्कसकोतर्फ निर्माणको कार्य भइरहेको छ । हेडवर्कसतर्फ कङ्ग्रिट राख्ने काम भैरहेको छ । आयोजनामा पेनस्टक राख्ने, सुरुङभीत्र सिमेन्ट लगाएर बलियो बनाउने र पावर हाउस निर्माणको कार्य भइरहेको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए । सिभिल ठेकेदार इसिआई बज्रगुरुले निर्माण गरिरहेको आयोजना २०७५ माघसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘यहि गतिमा आयोजना निर्माण हुने हो भने तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुन्छ, प्रशासकीय अधिकृत रेग्मीले भने, आगामी माघसम्ममा निर्माण सम्पन्न हुन्छ ।’ आयोजनाको चार चरणमा काम भइरहेको छ । चारवटा ठेकेदारले निर्माण कार्य गरिरहेका छन् । सिभिल कार्यमा इसिआई बज्रगुरु जेभि, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ ।

Advertisement

चारवटै ठेकेदारले डिजाइन, आयात, जडान, परीक्षण र कमिसनिङको काम गर्ने प्रशासकीय अधिकृत रेग्मीले बताए । आयोजनाको सिभिलतर्फ ६७ दशमलव ८०,  इलेक्ट्रोमेकानिकलतर्फ ५३ दशमलव ३५ र हाइड्रोमेकानिकलतर्फ ६० दशमलव ३० प्रतिशत काम सम्पन्न भएको उनले बताए । आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म ७ किलोमिटर प्रशारण लाइन निर्माण गर्नुपर्छ । १३२ केभी क्षमताको प्रशारण लाइन निर्माणका लागि मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएर कार्य अघि बढेको आयोजनाले जनाएको छ ।

२०७४ बैसाख २४ गते ठेक्का सम्झौता भएको थियो । यसमा डिजाइन, निर्माण, जडान, परीक्षण र कमिसनिङ लगायत कार्य पर्छ । आयोजनाले दिएको जानकारी अनुसार सर्भे, माटो परीक्षण तथा डिजाइनको काम अन्तिम चरणमा पुगेको छ । अहिले जग्गा प्राप्तीको काम भइरहेको प्रशासकीय अधिकृत रेग्मीले बताए ।

Advertisement

प्रतिक्रिया