चर्चित ‘खीर बाजे’को निधन

नुवाकोट । भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको साहुखर्कमा खीर पसल सञ्चालन गर्दै आएर ‘खीर बाजे’का रुपमा चर्चित भएका शेरबहादुर देउवाको निधन भएको छ।
गन्यापधुरा गाउँपालिका–१ घर भएका देउवाको ७५ वर्षको उमेरमा निधन भएको हो। देउवाले विगत ३५ वर्षदेखि साहुखर्कस्थित भीमदत्त राजमार्ग किनारमा पसल राखेर खीर बेच्दै आएका थिए।
सडक पुग्नुभन्दा पहिले भैंसी चराउने लेकका रुपमा सीमित रहेको साहुखर्क सडक पुगेपछि भने यात्रुहरुले खाना–खाजाका लागि सवारी रोक्ने ठाउँ बनेको थियो। साहुखर्कमा देउवाले नै खीर बेच्न सुरु गरेका थिए।
गाउँका किसानले भैंसी चराउन लेक ल्याएका बेला दूध खेर जान थालेपछि देउवाले खीर बनाएर यात्रुलाई खुवाउन सुरु गरेका थिए।
पछि व्यवसायिक रुपमा खीर पसल चलाएका देउवाले पछिल्लो समय दूधबाट बन्ने अन्य परिकार समेत बेच्दै आएका थिए। यात्रुहरु उनको पसलमा पाक्ने मिठो खिर र चियाका लागि साहुखर्कमा रोकिने गर्थे।
प्रतिक्रिया