खुल्ला फुटसल प्रतियोगिताको उपाधि प्रहरीलाई

विदुर खबर २०७९ चैत १८ गते २०:०७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीको टोलीले हात पारेको छ । नेपाल खेलकुद महासंघ समाजवादी नुवाकोटद्धारा आयोजित प्रतियोगिताको फाइनलमा नुवाकोट युनाइटेड फुटसल क्बललाई २–१ गोल अन्तरले पराजित गरि प्रहरीले उपाधि उचालेको हो ।

Advertisement

निकै प्रतिष्पर्धात्मक बनेको फाइनल खेलमा पहिलो गोल भने नुवाकोट युनाइटेडले गरेको थियो । उसका लागि सागर दर्जीले उत्कृष्ट गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए । तर प्रहरीको लागि पवन नेपालीले गोल गर्दै खेल एक÷एक को वरावरीमा पुराएका थिए । त्यस्तै प्रहरीको लागि रामजीत राईले गोल गरेका थिए ।

त्यसपछि खेलमा दुबै टोलीले पाएको मौकाको सदुपयोग गर्न नसक्दा खेल २–१ गोल अन्तरमै सकिएको हो ।

Advertisement

प्रतियोगिताको उपाधि विजेता नेपाल प्रहरीको टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता नुवाकोट युनाइटेडले ५ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई पुर्व सांसद राजेन्द्र प्रकाश लोहनी लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै पुर्व सांसद लोहनीले नुवाकोटमा पछिल्लो समय फुटसल लोकप्रिय बन्दै गएको भन्दै खुशी व्यक्त गरे । उनले फुटसल खेललाई व्यवसायीकरण गर्न सके नुवाकोटलाई खेल पर्यटनको माध्यमबाट चिनाउन सकिने बताए ।

Advertisement

प्रतियोगितामा १९ फुटसल टिमको सहभागिता रहेको नेपाल खेलकुद महासंघ समाजवादी नुवाकोटका अध्यक्ष रामकाजी दिक्षितले जानकारी दिए । उनले नुवाकोटमा पछिल्लो समय फुटसल लोकप्रिय बनेकोले प्रतियोगिता आयोजना गरिएको बताए ।
कार्यक्रममा नेकपा समाजवादी नेता पदम उप्रेती, राजु सडौला, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया