मिटरब्याज नियन्त्रणसम्बन्धी विधेयक अविलम्ब संसद्‌मा पेस गर्न सांसद तामाङको माग

विदुर खबर २०७९ चैत १५ गते २१:५५

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ का सांसद  सांसद् हितबहादुर तामाङले मिटरब्याज नियन्त्रणसम्बन्धी विधेयक अविलम्ब संसद्‌मा प्रस्तुत गर्न माग गरेका छन् ।

Advertisement

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद तामाङले तत्काल उक्त विधेयक अघि बढाउन माग गरेका हुन् । सांसद तामाङले भनेका छन्, ‘नेपाल सरकारले वार्ता टोली गठन गरेर मिटरब्याज पीडितको समस्याको अध्ययन गर्ने र त्यो समस्या सामधानका लागि सरकारलाई सहयोग गर्ने भनेको छ, त्यो ज्यादै स्वागतयोग्य छ ।

साथै यो खालका समस्या समाधानका लागि संसद्‌मा विधेयक दर्ता गर्ने तयारीको कुरा सार्वजनिक भएको छ । अबिलम्ब त्यससम्बन्धी विधेयक संसद्मा दर्ता गराएर, व्यापक छलफल गराएर पारित गराई समस्या सधैँका लागि निर्मूल पार्नुपर्छ । यो खालको शोषणको जञ्जालबाट मुक्त गरेर मुलुकलाई सही ढंगले अगाडि बढाउनुपर्छ ।’

Advertisement

मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । पछिल्लो समय महोत्तरीबाट ११ दिन पैदलै हिँडेर काठमाडौं आएर मिटरब्याजपीडितले सरकारलाई दबाब दिएपछि कानुन संशोधनको तयारी भएको हो ।

सांसद तामाङले सुदखोरहरुका कारण व्यक्तिहरुलाई सम्पत्तिबाट विमुख गराउने र सामाजिक हिसाबले पनि बिग्रह पैदा गराउने स्थितिमा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरे ।

Advertisement

‘हाम्रा वित्तीय संस्थाहरु अत्यन्तै जटिल अवस्थामा छ । जसले नागरिकहरुलाई दु:ख दिने अवस्था बनेको छ । सामान्य मान्छेले बैंक, सहकारीबाट र अन्य कुनै पनि वित्तीय संस्थाबाट ऋण लिन सक्दैनन् । झन्झट बेहोर्नु पर्ने । बाध्यतावश तिनै सुदखोरहरुको पाउ वा शरणमा पर्नुपर्ने । र उनीहरुको सर्तअनुसार ऋण सकारेर आउनुपर्ने अवस्था छ,’ उनले भने, ‘काठमाडौं र ठूला सहरहरुमा । क्यासिनोमा समेत ती खालका मानिसहरु प्रवेश हुने गरेका छन् ।

जसकारणले महँगो ब्याज, महिनौं पछाडिसम्मको ब्याजको निम्ति चेक खिचेर राख्ने । पछि ऋण फिर्ता दिएन भने उसको घरसम्पत्ती धितो, बन्धकी राखेको असुल गरेर व्यक्तिहरुलाई सम्पत्तिबाट विमुख गराउने र सामाजिक हिसाबले पनि विग्रह पैदा गराउने स्थितिमा पुगिराखेको छ ।’

प्रतिक्रिया