त्रिशुली जलविद्युतको चुक्ता गर्न बाँकी रकम जम्मा गर्ने आज अन्तिम दिन

विदुर खबर २०७९ फागुन १७ गते १२:२०

नुवाकोट । नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई असोज ४ गतेदेखि माग गरेको चुक्ता हुन बाँकी रकम जम्मा गर्ने आज (फागुन १७ गते) अन्तिम दिन रहेको छ।

Advertisement

कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो।

सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिशेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म भुक्तानी गर्न माग गरेको थियो।

Advertisement

सो अवधिमा आवेदन नगरेका साविकका ४६ हजार १७९ जना सर्वसाधारण शेयरधनीहरुलाई भुक्तानी हुन बाँकी ८७ रुपैयाँमा रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८ प्रतिशतका दरले लाग्ने प्रतिशेयर ब्याजदर रकम १ रुपैयाँ ७४ पैसा थप गरी भुक्तानी हुन बाँकी रकम ८८ रुपैयाँ ७४ पैसा भुक्तानी गर्न मंसिर १८ गतेदेखि माग गरेको हो।

आजसम्ममा रकम नबुझाउने साविक शेयरधनीहरुको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको शेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको शेयर कायम गरी शेयरधनीहरुको नाममा रहेको बाँकी शेयर जफत गरिने कम्पनीले जनाएको छ।

Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन सक्नेछन्।

 

प्रतिक्रिया