नुवाकोटमा शल्यक्रिया पछि सुत्केरीको मृत्यु, आफन्तद्वारा सडक अवरूद्ध

विदुर खबर २०७९ फागुन १३ गते २०:५४

नुवाकोट। नुवाकोटमा शल्यक्रियाका क्रममा अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरूले सडक अवरूद्ध पारेका छन् ।

Advertisement

पासाङल्हामु र गल्छी–काठमाडौं जाने सडक पिपलटारमा सडक अवरूद्ध भएको हो । जिल्लाबाट बाहिर जाने र यहाँ आउने सवारी रोकिएका छन् । बुधबार जिल्ला अस्पताल त्रिशूलीमा शल्यक्रिया गरिएकी विदुर नगरपालिका–५ पिपलटारकी २६ वर्षिया सरिता न्यौपानेको मृत्यु भएको थियो ।

बिहीबार पीडित पक्षले अस्पतालको लापरबाहीले उनको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालयको रोहबरमा पीडित पक्ष र अस्पताल प्रशासनबीच क्षतिपूर्ति तथा घटनाको छानबिन गर्ने सहमति भइ टुंगोमा पुगिसकेको विषयलाई त्रिशूली अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेण्डेन्ट (मेसु) दिपेन्द्र पाण्डेले शुक्रबार विज्ञप्ति जारी गरेपछि पीडित पक्ष आन्दोलनमा उत्रेर सडक बन्द गराएका छन् ।

Advertisement

मेसु पाण्डेले जारी गरेको विज्ञप्तिमा पीडित पक्ष स्वयंले हस्ताक्षर गरी शल्यक्रिया गराइएको, क्षतिपूर्ति अस्पताल प्रशासनले नभइ विदुर नगरपालिकाले शिशुको पालनपोषणको लागि लगायतका विषयवस्तु आएपछि पीडित पक्ष आक्रोशित हुन पुगेका छन् । मृतकका मामा कृष्णप्रसाद भट्टले सहमति गरिसकेको विषयलाई अस्पतालका मेसुले विज्ञप्ति निकालेर पीडा दिने काम गरेको बताए ।

‘उहाँ मेसुले किन विज्ञप्ति निकालेर पीडा दिने कार्य गरे ? हामीलाई लागेको दाग मेटिन्छ र ? बच्चाको चिन्ता छ एकतिर अनि मृतककी आमाको अझै होस् खुलेको छैन,’ उनले भने, ‘सिद्धिसकेको कुरालाई अस्पतालले कोट्याएर पीडा दिए ।’ पीडित पक्षले त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष र मेसुले माफी माग्नुपर्ने बताएका छन् ।

Advertisement

प्रमुख जिल्ला अधिकारी किरण थापाले अस्प्तालले गल्ती सच्याउन भनिसकेको र अवरुद्ध सडक सञ्चालनमा आउने बताए । मृत्यु भएकी सुत्केरी न्यौपानेको सोमबार त्रिशूली अस्पतालमा सुत्केरी गराइएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पतालमा पठायो । त्यहाँ उनको बुधबार मृत्यु भएपछि पीडित पक्षले त्रिशूली अस्पतालको ढोकामा शव ल्याएर राखेर दोषीमाथि कारबाही माग गरे । त्यसपछि विवादले चर्को रुप लिएपछि जिल्ला प्रशासनको रोहबरमा बिहीबार राति छ बुँदे सहमतिपछि पीडित पक्षले शव उठाएका थिए ।

सहमतिपत्रमा घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको संयोजकत्वामा ५ सदस्यीय छानबिन समिति गठन, दोषीमाथि कारबाही, नवजात शिशुको पालनपोषण, अस्पताल र विदुर नगरपालिका समेतले १३ दिनभित्रमा ५ लाख रुपैयाँ उपलब्ध गराउने, अस्पतालले शिशुको स्वास्थ्य तथा शिक्षाको ग्यारेन्टी गर्ने सहमति भएको छ ।

प्रतिक्रिया