बाग्मति प्रदेशको मुख्यमन्त्रिमा लामाको संभावना बढ्यो

विदुर खबर २०७९ मंसिर १६ गते २२:०७

नुवाकोट । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । मत परिणाम अनुसार सामान्य बहुमत उन्मुख लोकतान्त्रिक–बाम गठबन्धन केन्द्रदेखि प्रदेशसम्म पावर सेयरिङ र सरकार गठनको गृहकार्यमा जुटिसकेको छ । 

Advertisement

यसैबीच, सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको बागमती प्रदेशमा गठबन्धनबाट मुख्यमन्त्री को ? भन्ने चर्चा शुरुहुन थालेको छ । सत्ता गठबन्धनबाट बागमतीको मुख्यमन्त्रीमा काँग्रेसबाट केन्द्रीय सदस्य बहादुरसिंह लामा र प्रदेश सभापति ईन्द्र बानियाँ तथा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्य दावेदार रहेका छन् । 

पावर शेयरिङमा यसपाली बागमतीको मुख्यमन्त्री काँग्रेसले पाउने सम्भावना बढी छ । काँग्रेसको भागमा मुख्यमन्त्री परेमा संविधानसभा सदस्य एवं प्रतिनिधिसभाको सांसद भइसकेका काँग्रेसका केन्द्रीय सदस्या बहादुरसिंह लामा प्रदेश सभापति बानिया भन्दा बलियो देखिन्छन् । पार्टीको सिनियर नेता मात्र नभई जातीय क्लस्टर मिलाउनुपर्ने बाध्यताको हिसावले पनि लामाको सम्भावना बलियो देखिएको छ । 

Advertisement

तथ्यांकअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको छ । तामाङ यस प्रदेशको सबैभन्दा ठूलो जातीय समूह हो । यस प्रदेशमा कुल जनसख्याको २०.५४ प्रतिशत तामाङ जाति रहेका छन् । १३ जिल्ला रहेको वागमती प्रदेशमा ६ जिल्लाका काँग्रेसका सभापति तामाङ समुदायकै छन् । दोलखामा बर्मा लामा, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), रसुवामा पेम्बाछिरिङ्ग तामाङ्ग, सिन्धुपाल्चोकमा जंगबहादुर लामा, काभ्रेमा तीर्थबहादुर लामा र मकवानपुरमा बुद्ध लामा काँग्रेसका सभापति हुन् । 

नेपाली काँग्रेसभित्रको आन्तरिक समीकरण हेर्दा समेत संसदीय दलको निर्वाचनमा बानियाँ भन्दा लामाकै पल्ला भारी हुने धेरैको तर्क छ । मुख्यमन्त्रीको उम्मेदवार बन्नका लागि संसदीय दलको नेता चुनिनुपर्छ । संसदीय दलको नेताका लागि कांग्रेसका केन्द्रीय नेताहरुको लविङ समेत तिव्र बनेको छ ।

Advertisement

उपसभापति पूर्णबहादुर खड्काको जोड बाँनियालाई मुख्यमन्त्री बनाउने रहेको देखिन्छ । पार्टीका प्रवक्ता प्रकाशशरण महत, सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना तथा प्रभावशाली केन्द्रीय सदस्य मोहन बस्नेत बहादुरसिंह लामालाई मुख्यमन्त्री बनाउने पक्षमा देखिएका छन् । बागमती प्रदेशसभामा राम्रो पकड राख्ने नेता प्रकाशमानसिंह समेतको समर्थन लामाले पाउने काँग्रेस वृत्तमा चर्चा छ । 

मकवानपुरमा जीत सुनिश्चित देखिएको सह–महामन्त्री डीना उपाध्यायलाई हराउन न्वारनदेखिको बल लगाएर अन्तरघात गरेको आरोप खेपिरहेका बानियाँलाई मुख्यमन्त्री दिनु त परको कुरा कारवाही गर्नुपर्ने माग पार्टी सभापति देउवा समक्ष पुगिसकेको समाचार स्रोतले जनाएको छ । त्यसैले बानियालाई मुख्यमन्त्री बन्न फलामको चिउरा चपाए सरह हुने अनुमान गरिएको छ ।

यसैले बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा तामाङको संभावना बलियो बन्दै गएको चर्चा हुन लागेको छ ।

प्रतिक्रिया