माओवादी–एकीकृत समाजवादी एकता गृहकार्यको चर्चा

विदुर खबर २०७९ मंसिर १५ गते १०:४३

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ ।

Advertisement

सत्ता समीकरणको जोडघटाउ मिलाउने गरी शक्ति सञ्चयको लागि एकीकृत समाजवादीसँग एकताको प्रक्रिया थल्न सकिने विषयमा चर्चा शुरू भएको हो ।

निर्वाचनको परिणाम हेर्दा प्रत्यक्षमा चौथो नम्बरमा आएको एकीकृत समाजवादीलाई समानुपातिकमा थ्रेसहोल्ड कटाउन मुस्किल परेको छ । राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक मत नआउँदा नेकपा एकीकृत समाजवादीका १० सांसद स्वतन्त्र हैसियतामा हुने भएकाले उनीहरूलाई पार्टीको ह्विपसमेत लाग्दैन ।

Advertisement

सरकार गठनका लागि यो परिणाम खतरापूर्ण देखिएकाले एकीकृत समाजवादीको थ्रेसहोल्ड कटोस् भन्नेमा सत्ता गठबन्नधका नेताहरूको सहानुभूति छ । यदी थ्रेस होल्ड नकटेको खण्डमा आफ्ना संसदहरूलाई संसदीय मर्यादामा राख्नका लागि पनि पार्टी आवश्यक हुने भएकाले माओवादीसँगको पार्टी एकता हुन सक्ने कुरालाई नेताहरूले नकार्न सकेका छैनन् ।

चुनावअघि नै दुई दलबीच एकता प्रक्रिया थाल्ने भनेर कार्यदल नै गठन गरिएको बताइए पनि आधिकारिक रूपमा कसरी जाने भन्ने छलफल शुरू नभएको बताउँदै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो– ‘राजनीतिमा विकल्पहरू खाली नै हुन्छन् । तर, अहिले नै आधिकारिक रूपमा कुनै निर्णय भइसकेको छैन । राजनीतिमा विकल्पहरू खोज्ने कुरा स्वाभाविक हो ।’

Advertisement

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताको लागि माधव नेपालसँग बुधबार प्रस्ताव राख्नुभएको माओवादी निकट स्रोतको भनाइ छ । नेकपा माओवादी केन्द्रका एक नेताले भने– ‘प्रस्ताव राख्नेबित्तिकै एकता नै भइहाल्ने भन्ने कुरा छैन । तर, कुराकानी सामान्य चलेकै छ । सच्चा कम्युनिस्टहरू एक ठाउँमा हुँदा देशले सकारात्मक बाटो पहिल्याउन सक्ने अवस्था हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’

मंंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि एमाले बाहेकका कम्युनिस्टहरूबीच एकता गर्ने विषयमा सामान्य छलफल चलेको प्रवक्ता खतिवडाले स्वीकार गर्नुभयो । उक्त विषयमा निर्णय गर्न अहिले नै हतार गर्न नहुने भन्दै एकीकृत समाजवादीकै कतिपय नेताहरूले असहमति जनाएको बुझिएको छ । पार्टी एकताको लागि माधव नेपालभन्दा प्रचण्ड बढी सक्रिय देखिनुभएको छ भने माधव नेपाल पनि सकारात्मक रहेको नेताहरूको भनाइले पुष्टि गर्छ ।

दुवै दलले कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निष्कर्ष निकाल्दै सरकार गठन गर्नुअघि नै दुई दलबीच एकता गरिसक्ने तयारी गरेका छन् । चुनावको नतिजा आउँदै गर्दा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर बधाई साटासाट गर्नुको साथै सरकार गठनमा सहकार्यको प्रस्ताव राख्नुभएको थियो । तर, दाहालले कांग्रेसलाई छाडेर एमालेसँग सरकारको लागि सहकार्य गर्न असम्भव रहेको प्रतिक्रिया दिनुभएको थियो ।

माओवादी र एकीकृत समाजवादी एकता गरेर सरकारमा गए सरकारको नेतृत्व आलोपालोसहित मुख्य पदमा दाबी गर्ने उनीहरूको दाउ छ ।एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा अझै आश गर्ने ठाउँ बाँकी नै रहेको जिकिर गर्दै नेता खतिवडाले निर्वाचन परिणामपछि मात्रै सबै सम्भावनाका विषयमा छलफल गर्ने बताउनुभयो ।

हालसम्म एकीकृत समाजवादीको समानुपातिक मत २ लाख ८३ हजार आएको छ । उक्त मत कुल सदर मतको २.८६ प्रतिशत हुन आउँछ । उहाँले निर्वाचन आयोगको तथ्यांकअनुसार अझै सात लाख हाराहारी मत गणना बाँकी रहेको भन्दै आफ्नो पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड कटाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया