यसकारण नुवाकोटमा अर्जुन दाईलाई ‘नो’

विदुर खबर २०७९ मंसिर १ गते २०:४५

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नुवाकोट क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार हुन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । उनका बारेमा वरिष्ठ पत्रकार तथा समसामयिक राजनीतिक, आर्थिक र विशेषगरी सेयर बजार विश्लेषक दिनेश आचार्यले टिप्पणी गरेका छन् ।

Advertisement

१. अर्जुनदाई अर्थात अर्जुन नरसिंह केसी २०३६ सालमा काँग्रेस छाडेर जनमत संग्रहमा निर्दलको प्रचारक हुनुभयो । सत्ता स्वार्थका लागि पार्टीलाई धोका दिनुभयो ।

२. पञ्चायतको चुनाव जितेर वि.स.२०३८ सालमै मन्त्री हुनुभयो । केही गर्नुभएन । वि.स. २०४३ को चुनाव हार्नुभयो । अनि फेरि गाउफर्कतिर लागेर जिल्ला पञ्चायत सभापति हुनुभयो । पदका लागि जे नि गर्नुभयो ।

Advertisement

३. वि.स.२०४६ सालको आन्दोलनको प्रतिकारमा लाग्नुभयो । त्यसबेला सारा काँग्रेसीहरुलाई जेल पुर्याउनुभयो ।

४. वि.स.२०४७ मा राप्रपा थापा समूहको सस्थापक बन्नुभयो । प्रवक्ता हुँदै चुनाव नजितिने थाहा पाएको भोलिपल्ट काँग्रेस छिर्नुभयो ।

Advertisement

५. वि.स. २०४८ मा कांग्रेस छिर्नुभयो । सामदाम खर्चेर टिकट लिनुभयो । कांग्रेसीले पार्टी भनेर जिताइदिए ।

६. वि.स.२०५१ मा फेरि टिकट लिनुभयो । पार्टीभित्रको अन्तरद्वन्द्वमा सस्थापन पक्ष भन्दै फेरि जिताइयो । वि.स. २०५६ मा फेरि टिकट लिएर आउनु भयो । धन र शक्तिको घमण्ड यति बढेको थियो कि हिजो काँध थाप्ने कांग्रेसहरु उनलाई चाहिएन । कतिलाई गुन्डा लगाएर कुटाउनुभो, कतिलाई पार्टी कारबाहीको उजुरी गर्नुभो । जनताले अत्ति भो भनेर हराइदिए ।

७. राजाको शाशन टिकेको भए उनी मन्त्री खान तयार भएर बसेका थिए । उनका एक भाइ धिरेन्द्र प्रतिष्ठान खोलेर शाही शाशनको नियुक्ति खाइसकेका थिए । उनका थुप्रै नातेदार दरबारिया नै थिए । तर दुर्भाग्य, शाही शासन टिकेन र उनी कांग्रेस नै बनिरहन पाए ।

८. वि.स. २०६४ को चुनावमा उनको शक्ति झनै चुलियो । फेरि टिकट लिएर आए । तर अघिल्लो पटक हारेको साविक ३ नम्बर (बिदुर नगर क्षेत्र) बाट उनी भागे । हामी बिदुरवासीलाई सत्तोसराप गरे । अनि १ नम्बरका जनताले धुलो चटाए, नामै नसुनेकी बिमला सुवेदीको भन्दा आधा भोट नि पाएनन ।

९. फेरि वि.स. २०७० मा उनी आफै टिकट लिएर आए । त्यसपाली जिते र मन्त्री पनि बने । तर के काम गरे ? उनैलाई थाहा छैन ।

१०. अघिल्लोपटक वि.स. २०७४ मा फेरि टिकट लिएर आए । यसपटक फर्केर बिदुर नै आउनुपर्यो । अनि बिदुरवासीले हराइदिए । नारायण खतिवडाभन्दा झन्डै ११ हजार भोटले तल पारिए ।

११. अब फेरि वि.स. २०७९ मा टिकट लिएर आएका छने । अझै बाँचिरहे अक्सिजन सिलिन्डर बोकेरै उनी आगामी चुनाबहरुमा नि भोट माग्न आई रहनेछन् । किनकि उनका लागि चुनाव एउटा बिजनेस हो । उनीजस्ता नेताका लागि चुनाव जिते नी हारे नी ५ बर्षमा चम्किने ब्यापार हो । चुनाव लड्न भनेर पार्टी, साथिभाई, कार्यकर्ता र व्यापारीसङ्ग उठाइएको १० करोड बढी रकमम मुस्किलले १ करोड खर्चने र अरु नाफा गर्दै जेथा जोड्ने धन्दा हो ।

१२. अर्जुन दाई वि.स.२०३८ सालदेखि निरन्तर राजनीतिको केन्द्रमा छन् । हारे नी जिते नी शक्तिमा छन् । उनी र उनका केही भाईहरु कुनै व्यापार–व्यवसाय नगरे पनि करोडौं, अर्बका मालिक बनेका छन् । तर त्यति धेरै सम्पती कहाँबाट आयो भनेर प्रश्न गर्ने कोहि छैनन् । बरु उनले दिने दुईचार हजार पकेट खर्छ र चुनावमा खुवाउने मासु रक्सीमा मक्ख परेर चाकरी गर्दैछन ।

१३. अर्जुन दाईले चालिस बर्षसम्म राजनीति गरेर नुवाकोटलाई कस्तो बनाउनु भयो ? उहाँलाई जिल्लाले के दियो र उहाँले के–के दिनु भयो ? के दुई दर्जन कार्यकर्तालाई हेल्थ पोस्ट र स्कुलमा सहायक स्तरको जागिर खुवाउनु नै उपलब्धी हो ? हनुमानहरुलाई जागिर खुवाउन उनी शिक्षामन्त्री हुँदा जथाभावी खोलिएका स्कुलहरु अधिकांश बन्द भइसके । त्यसको हिसाब गर्नु भएको छ ?

आफू मन्त्री हुँदा कहिल्यै जिल्ला नटेकेकी आफ्नी बुहारीलाई राउतबेशीको माबी शिक्षक भन्दै बर्षौसम्म तलब खुवाईरहन मनले मान्यो ? त्यसबेला माओवादीले थाहा पाएर कारबाही नगरेको भए दशकौंदेखि शिक्षकको तलब खाँदै अहिले हजुरको बुहारी पेन्सन खाने हुन्थिन । यस्तो भंगेरो छाती र नैतिकताले कसरी समाजसेवा गर्नुहुन्छ ?

१४. अस्ति एउटा भाषण सुनेँ, कोभिडको बेला मैले मास्क र अक्सिजन बाँडे भनिएको रहेछ । डा. केदार नरसिंहलाई आफ्ना साथीहरूले निशुल्क पठाएको सामान बाँडेर नुवाकोटे जनतालाई भ्रम छर्न अलिकति सरम त लाग्नैपर्ने हो है । तर यस्ता प्रश्न गर्ने स्वाभिमान भएकाहरु तपाईंसङ्ग कोहि छैनन । छन त, केवल भाटगिरी गर्ने जमात मात्र ।

१५ अर्जुन दाइ, तपाईं दशकौंदेखि सत्ता र शक्तिमा हुँदा नुवाकोटमा एउटा देखाउन मिल्ने, भन्न सकिने काम के गर्नुभयो ? १, २, ३ नम्बर दिएर भन्न सक्नुहुन्छ ? रामशरण महतले पुल सिचाइ कुलोमा बजेट हालेको छु भन्थे तपाईं स्कुल खोले भन्नुहोला । स्कुल त नुवाकोटमा राणाकै पालादेखी खुलेकै होनि । अहिले पनि उच्च शिक्षा पढ्न अधिकांश नुवाकोटे बिद्यार्थी काठमाडौं नै जानुपर्छ । एउटा उद्योगसम्म छैन । मेरा पिताजीहरुले खोलि दिनु भएको बट्टार क्याम्पसबाहेक अरु कुन छ ? वि.स. २०४२ मा स्थापना भएको त्यै क्याम्पसले हाम्रो इज्जत धानिरहेको छ । तर तपाईं त त्यो क्याम्पस खोल्ने बेलामा नि असन्तुष्ट हुनुहुन्थ्यो रे । बरु डा. लोहनीले सहयोग गरेका थिए रे ।

१६. तपाईंसँग चुनाव जित्ने रणनीति छ, होला । तर, तपाईसँग मानवीय सम्वेदना र भावना छैन । ल छातिमा हात राखेर भन्नुस, तपाईंसँग वि.स. २०३८ सालदेखि पछि लागेर हिड्ने थुप्रै मान्छे म चिन्छु । उनीहरुको अवस्था कति टिठलाग्दो छ देख्नुभयो ? केवल तिनिहरुकै लागि भए पनि केही काम गर्दिएको भए कति राम्रो हुन्थ्यो ।

१७. बहुदलपछी तपाई कांग्रेस बन्नु भयो । एउटा समूह सधै तपाईंको पछि लाग्यो । तर तपाईका पछि लाग्ने थुप्रै क्षमता भएका राजनीतिक कार्यकर्ता अहिले पनि सडकमा छन् । उनीहरूले कहिल्यै मौका पाए ? अहिले पनि सम्झिन्छु प्रमोदहरी गुरागाई, कृष्ण कुइँकेलजस्ता क्षमता भएका मान्छे तपाईंसँङ्ग लागेकै कारण जिन्दगीमा निकै पछि परे, पारिए ।

बिष्णु आचार्य, ध्रुव अधिकारी, डिल्लीप्रसाद उप्रेती र बिष्णु अधिकारीलाई मात्र हैन । तपाईंले त कांग्रेसको संस्थापक नेताकै रुपमा सम्मानित बद्रीराम भण्डारीलाई समेत घात गर्नुभयो । त्यो घातको परिणती भोलिका दिनमा तपाईंका सन्ततीले भोग्ने नै छन् । न तपाईंले कार्यकर्ताको संरक्षण गर्नुभयो, नत आम जनताकै हित हेर्नु भयो ।

तपाईं सत्तामा हुँदा नियुक्ती पाएका र फाइदा लिएका नामहरु सम्झनुहुन्छ ? त्यसमा तपाईंका आफन्त र नातेदारबाहेक अरु को छन ?

१८. तपाईं कहिल्यै सबैको हुन सक्नुभएन । कांग्रेस बन्दा पनि जहिल्यै एउटा सङ्किर्ण कोटरीको मात्र बन्नुभयो । र त्यो कोटरीका मान्छेलाई पनि आफ्नो दास मात्रै बनाउनुभयो । कहिल्यै माथी उठ्न दिनु भएन ।

जिल्लामा होस कि केन्द्रमा एउटा सानो गुट खडा गर्ने र त्यसैको आडमा धाक धम्की जमाउँदै आफूमात्र फाइदा लिनुभयो । तपाईंकै पछि लागेका कारण पार्टीमा कुनै उन्नति गरेका एकजना छन् ? कसैलाई बनाउनु भयो ? अवसर आएको बेला पनि आफ्नै भाइ भतिजाबाहेक तपाईंले कसैलाई सक्षम देख्नु नै भएन ।

तपाईंका कार्यकर्तालाई अनियमित रुपमा जागिए दिएकै कारण एकजना जिल्ला शिक्षा अधिकारीको जागिर गयो । तिनले तपाईंलाई सरापेको सुन्ने कान मेरै हो ।

१९. नेपालीको औसत आयु अहिले ७१ बर्ष हो । तपाई त्यो नाघेर पनि ७८ बर्ष कटिसक्नुभो । राज्यले नै आफ्ना कर्मचारीलाई ५८ बर्ष भएपछि तेरो दिमागले काम गर्दैन्, बूढो भइस भनेर अवकाश दिन्छ । तपाईंको त्यो अबकाश लिने उमेर कटेको पनि २० बर्ष भैसक्यो । ५० बर्ष त राजनीतिमै बिताइसक्नुभयो ।

अब आएर दर्जनौं रोगले गाँजेको त्यो बूढो दिमागमा कुनै नवीन सिर्जना फुर्ला र ? युवा अवस्थामा देश बनाउँछु भनेर उम्लेको सोच सत्तामा पटकपटक पुग्दा केही गर्न सक्नुभएन । अब के नै पो गर्नुहोला र ।

२०. केन्द्रमा पनि कहिले गिरिजाको, कहिले गणेशमानको, कहिले खुमबहादुरको र कहिले देउबाको फेर समातेर आफ्नो फाइदा मात्र हेर्नुभयो । तपाईंसँग न कुनै आदर्श र ईमान छ, न त कुनै लोकतान्त्रिक पद्धतिप्रतिको बचनबद्धता ।

२१. तपाई र तपाईंको भाईहरु पार्टीको निर्णायक तहमा हुँदा कहिल्यै लोकतन्त्रको अभ्यास गर्नुभयो ? आफूसङ्ग असहमत हुनेहरूलाई सधै सिध्याउन लागिपर्ने तपाईंको शैली पुर्णतः अधिनायकवादी हो । तपाईं कांग्रेस बन्न सुहाउने मान्छे नै हैन । सदस्यता लिनुमात्र कांग्रेस हुनु हैन, कांग्रेस हुन ईमान र विवेक पनि चाहिन्छ ।

वास्तवमा अर्जुन दाई, तपाई एउटा डेट एक्सपायर औषधि हो । जसले नुवाकोटे जनताको रोग निको पार्न सक्दैन । बरु बिषको काम गर्छ । जुग बदलियो । ब्यबस्था बदलियो । समय कहाँ पुग्यो । प्रबिधि झनै फेरियो । तर तपाईंको शैली, तपाईंको उम्मेदवारी र जनताको अवस्था फेरिएन । अझै नुवाकोटलाई बिगार्न कति तम्सिनुहुन्छ ?

२२. यदि तपाईंमा लोकतान्त्रिक आदर्श र ईमान हुनुहुन्थ्यो भने आजभन्दा १० बर्ष अगाडी नै नेतृत्व सुम्पेर युवा पुस्तालाई अघि बढाउनुहुन्थ्यो । तर तपाई अझै पनि जालझेल गरेर आफै आउँदै हुनुहुन्छ । यसले पनि पुष्टि गर्छ कि, तपाईंको राजनीति भनेको तपाईं एक्लैको लागि हो, नुवाकोटका जनताको लागि हैन ।

२३. हामीले खोजेको गगन थापाजस्तो डाइनामिक नेतृत्व हो । जो १० बर्ष राजनीति गर्छु अनि रिटाएर हुन्छु भनेर ३ बर्ष अघि नै घोषणा गरेर बसेका छन् । तपाईं त आफ्नै ज्वाईंसङ्ग चुनाव लडेर आफू बाहेक कसैलाई स्विकार्दिन भन्ने दम्भ बोक्नुहुन्छ । यसर्थ पनि हाम्रो सोच, हाम्रो विवेक र हाम्रो ईमानले तपाईंलाई नेता मान्न दिदैन । तपाईंलाई भोट हाल्न मन मान्दैन । किनकि आम जनता नै परिवर्तनको पक्षमा छन् । त्यसैले अर्जुन दाई यसपटकलाई ‘नो’ ।

(दिनेश आचार्य वरिष्ठ पत्रकार हुन्, उनले समसामयिक राजनीतिक, आर्थिक र विशेषगरी सेयर बजार सम्वन्धी विश्लेषण गर्छन् ।)

प्रतिक्रिया