सुमनविक्रम पाण्डेप्रति मतदाताको आकर्षण बढ्दो

विदुर खबर २०७९ कार्तिक २४ गते १०:३३
नुवाकोट। नुवाकोट क्षेत्र नं. २ का मतदाताहरु नयाँ अनुहारलाई मतदान गर्ने पक्षमा बढी देखिएका छन् ।
राजनीतिक दलको सोच र घोषणा पत्र पुराना र भद्दा भएको अनि उम्मेदवारहरुको अनुहार पुरानै भएको भन्दै मतदाताहरु नयाँ अनुहारको खोजीमा छन् । यसै पटकको चुनाबबाट राजनीतिक यात्रा थालेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई नयाँ अनुहारको खोजी गरिरहेका मतदाताहरुको रोजाईमा पार्न थालेका छन् ।
नुवाकोट क्षेत्र नं. २ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डेको उम्मेदवारी परेको छ । बैद्धिक र पर्यटनको क्षेत्रमा अन्तरािष्ट्रय स्तरमा नाम कमाइसकेका पाण्डेलाई तथस्ट रहेका र पुराना दलबाट वाक्क भएका नागरिकहरुले रोज्न थालेका छन् । विदुर नगरपालिका वडा नं. २ का पुष्प खड्का भन्छन्– यसपालि नयाँ अनुहारनै छान्ने हो, हामी बुढापाका र युवापुस्ताबीच छलफल सुरु भएको छ, हामी यो पटक घण्टीमा मतदान गछौं ।’
विदुर, बेलकोगढी नगरपालिका, तारकेश्वर, म्यागङ, किस्पाङ गाउँपालिकामा उनी जस्ता धेरै युवाहरु अहिले सुमनविक्रम पाण्डेले केही गर्ने सम्भावना रहेको भन्दै आफ्नो पुराना दलमा निष्क्रिय रहन थालेका छन् । पुराना नेताहरुले आराम गर्नुपर्ने र जुनकुनै पार्टीबाट आएको भएपनि युवाहरुलाई नेतृत्वको जिम्मेवारी दिनुपर्ने धारणा राख्छन् विदुर नगरपालिका वडा नं. ३ का दीपक ढुङ्गाना ।
उनले मंगलवार मात्रै पुरानो दलसंगको ३० वर्ष लामो आफ्नो सम्बन्ध अन्त्य भएको घोषणा गर्दै पाण्डेसंग हातेमालो गरेका छन् । ‘सुमनविक्रम पाण्डेसंग विकास निर्माणका लागि भिजन देखियो, अन्य उम्मेदवारहरु जितेपछि आफ्नै दलको तालसुरमा नाच्न थाल्छन्, पाण्डे भए जनतालाई बिर्सिएर स्वार्थमा लाग्ने छैन भन्ने हामीले विश्वास पाएका छौं’ ढुङ्गानाले भने ।
विदुर र बेलकोगढी नगरपालिकाका युवा पुस्तामा पनि यही भाव रहेको बुझिएको छ । सुमन पाण्डे आर्थिक प्रलोभनमा फस्नुनपर्ने र भ्रष्टाचार गर्नुनपर्ने भएकै कारण उनीसंग सम्भावना रहेको उनीहरुले बताउने गरेका छन् । चुनावका बेला नागरिहरुलाई दिइने आश्वासन भोट जम्मा गर्नका लागि मात्रै हुने बुझाई आम मतदाताको रहेको छ । बेलकोगढी नगरपालिका वडा नं. ९ का रोशनी पन्त आफ्नो चुल्हो चौकाको सहयोग नेताबाट नखोजेको सामुहिक हितको कामका लागि अपेक्षा गरिएको बताउँछन् । उनी जस्तै सुमित्रा तिवारी पनि विकास निर्माणमा आएको रकममा आँखा नगाड्ने नेतानै छान्नु पर्ने बताउछन् ।
‘नुनतेल किन्देउ भन्न नेता चाहिएको होइन, हामीले यो मौसममा चार बोरा मल पाउनुपर्नेमा पाँच किलो पाउँदा पनि मन बुझाएका छौं, किन्नुपर्ने सामाग्री हो त्यो सित्तैमा मागेको पनि होइन, हामी सामुहिक काम र विकासमा सुको नखाने नेतालाई यो पाली भोट हाल्ने हो ।’ उनी थप्छन्– ‘पुराना अनुहार त नयाँ गाडी फेर्न मात्रै चुनावमा उठेका हुन्, गरे सुमन पाण्डेले केही गर्लान् नभए हाम्रो पालामा नुवाकोटको विकास यत्ति हो’ तिवारीले भने ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख जितेन्द्र अर्याल समेत अहिले खुलेर सुमनविक्रम पाण्डेको पक्षमा लागेका छन् । पुराना दलबाट नयाँ पुस्ताले केही पाउने सम्भावना नदेखिएको ठोकुवा गर्दै उनी परिवर्तनका लागि स्वतन्त्र पार्टीसंग आशा जागेको बताउँछन् ।
जिल्लाकै लागि आवश्यक पर्ने कर्णधारहरु जसरी पनि बैदेशिक रोजगारीमा जान चाहाने र उद्योगधन्दा नुवाकोटमा स्थापना गर्ने परिकल्पनासम्म नेताहरुले नगरेका कारण भविष्य कहालिलाग्दो देखिएको बताउँछन् । ‘राम्रो कुरा यो यो छ भनेर पुराना दलको भन्न सकिने अवस्था नै रहेन’, अर्यालले भने– ‘सम्भावना भनेको नुवाकोटको क्षेत्र नं. २ मा सुमन पाण्डेले गर्लान् कि भन्ने मात्रै हो, उनी निर्वाचित भए सिङ्गै नुवाकोटको भलो हुने मैले देखेको छु ।’
उनी जस्तै धारणा राख्छन् विदुर नगरपालिका वडा नं. ७ का कुमार सापकोटा र तारकेश्वर गाउँपालिका वडा नं. ५ का सुर्यबहादुर तामाङ । सुमनविक्रम पाण्डेसंग विकासको र अग्रगामी जिल्ला निर्माणको प्रष्ट खाका भएकोले उनको पछि लागेको सापकोटा र तामाङको तर्क रहेको छ । गर्नसक्ने कामको सूची पाण्डेले बनाएका उनीहरु बताउछन् । उनी आफैमा आर्थिक रुपमा सम्पन्न भएका कारण पनि आर्थिक अनियमितता, सुखसुविधाका लागि पद दुरुपयोग हुनेमा शंका गरिरहनु नपर्ने तामाङले बताए । ‘अरु नेताको पो उद्योगधन्दा, व्यवसाय केही छैन, त्यही पदलाई कमाई खाने भाँडो बनाउँछन्, सुमन पाण्डेलाई त त्यसो गर्न नपर्ने रहेछ, त्यही भएर यसपटक मेरो भोट र सहयोग उनलाई’ कुमार सापकोटाले भने ।
नुवाकोटको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेको राष्ट्रिय स्वततन्त्र पार्टीका सुमनविक्रम पाण्डे पर्यटन व्यवसायी हुन् । प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका पाण्डे साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेष्टुराँलगायत विभिन्न विधाका व्यवसायका साथै ट्रेकिङ एजेन्टस एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष, एयरलाइन अपरेर्टस एसोसियसन (आवान) को महासचिवसमेत छन् । उनी नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्यसमितिको सदस्यलगायत विभिन्न व्यावसायिक नेतृत्वमा पुगिसकेका छन् ।
यसै बीच, राष्ट्रिय स्वतन्त्र पार्टीले ‘हामी र हाम्रो बाचा’ भनेर मतदाता समक्ष प्रतिबद्धता सार्वजनिक गरेको छ । आम निर्वाचनहरूमा बढीभन्दा बढी नागरिक सहभागितालाई प्रवद्र्धन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य पाँच बुँदालाई अघि सारेको हो । जुन निम्नानुसार रहेको छ ।
१. हाल बसोबास गरिरहेकै ठाउँ (देश वा विदेश) बाट आफ्नो स्थायी बसोवास रहेको निर्वाचन क्षेत्रका लागि मतदान गर्ने व्यवस्था ‘अनुपस्थित मतदान पद्धती’ लागू गरिनेछ ।
२. नयाँ जनमतका लागि निर्वाचनमा जाँदा अघिल्लो चुनावकै मत संख्याका आधारमा मतपत्रमा चुनाव चिन्हको क्रमाबक निर्धारण गर्नु न्यायोचित नहुने भएकाले गोला प्रथाबाट क्रमाबक तय गरिनेछ ।
३. ‘राइट टु रिजेक्ट’ (कसैलाई भोट दिन्न भनी मत दिने अधिकार), ‘राइट टु रिकल’ (जनप्रतिनिधिलाई फिर्ता बोलाउनेअधिकार) व्यवस्था अनिवार्य लागू गरिनेछ ।
४. राष्ट्रिय निर्वाचनहरुमा विद्युतीय मतदान यन्त्र (इलेक्ट्रोनिक भोटिब मेसिन) प्रयोग गरिनेछ ।
५. संवैधानिक व्यवस्था अनुसार प्रत्यक्ष निर्वाचनमा न्यूनतम ३३ प्रतिशत महिला उम्मेदवार कायम नगर्ने दललाई चुनावी प्रक्रियामा सहभागी हुन नदिने व्यवस्था गरिनेछ ।

प्रतिक्रिया