समृद्धिको सपनालाई साकार पार्ने अभिभारा हामी पूरा गर्छौं : पराजुली

विदुर खबर २०७९ कार्तिक २३ गते ७:१८
गणेश पराजुली प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ७ राष्ट्रिय स्वतन्त्र पार्टी

नुवाकोट । गणेश पराजुली लामो समय देखि विभिन्न पेशा व्यवसाय र सामाजिक गतिविधिहरुमा संलग्न प्रतिष्ठित उद्यमी हुन् ।

Advertisement

मूलतः उनले विगत लामो समय देखि प्राकृतिक रेशाजन्य उत्पादन गाँजाबाट नेपालमा कपडाहरु उत्पादन गरी बाह्य मुलुकहरुमा निर्यात गर्दै आएका छन् । सकारात्मक एवं नवीनतम सोचका धनी पराजुली मुलुकको विकास र समृद्धि प्रति नै आफ्नो ध्यान सदैव केन्द्रित रहँदै आएको बताउँछन् ।

अब मुलुकको परिवर्तनको जिम्मेवारी दृढ अठोट र सकारात्मक योजना भएका उत्साहित युवा व्यक्तिहरुले लिनुपर्छ भन्ने मान्यता सहित आफूले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनी दावी गर्छन् । अग्रजका अनुभव र युवाहरुको उत्साहलाई साथमा लिँदै दिगो विकासका रणनीतिहरु तयार गरी तिनलाई सार्थक बनाउने विशेष योजना सहित भर्खर मात्रै आफ्नो पार्टीले यसपटकको चुनावी वाचापत्र सार्वजनिक गरेको पराजुलीले बताए ।

Advertisement

पराजुली नेपाल थुप्रै सम्भावनाले भरिएको र यहाँका अधिकांश प्राकृतिक स्रोतसाधनहरुको उपयोग हुन नसकेको स्थितिमा यहीँका सम्भावनाहरुबाट समृद्धि सपना साकार पार्न सकिने कुरामा जोड दिन्छन् । अहिले पनि मुलुकका युवाहरुले सही तवरले स्थान पाउन नसकेकोमा उनी चिन्तित छन् ।

विभिन्न उत्पादनमूलक क्षेत्रहरुमा आफ्नो लगानी विविधिकरण गरेका पराजुली नेपाली युवा एवं व्यावसायिक क्षेत्र माझ बढी परिचित समेत छन् । लायन्स क्लब, नेपाल निर्यात परिषद् लगायतका विभिन्न सामाजिक संस्थाहरुमा समेत संलग्न पराजुली मुलुकको विकासको निम्ति युवा शक्तिको सही उपयोग हुनुपर्ने कुरामा विशेष जोड दिन्छन् । सही व्यक्ति नीति निर्माण तथा नेतृत्व तहमा पुग्न सकेको खण्डमा मुलुकले अपेक्षाकृत परिणाम हासिल गर्न सक्ने कुरामा जोड दिन्छन् ।

Advertisement

यसपटक तपाईले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट नै किन उम्मेदवारी दिनुभयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पराजुली मुलुकको विकासको लागि कटिबद्ध उत्साहित स्वतन्त्र व्यक्तिहरुलाई एकत्रित गरिरहेको अहिलेको जल्दोबल्दो र भविष्य बोकेको एकमात्र राजनीतिक पार्टी यही ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै भएको र यसै दलले मुलुकको भाग्य र भविष्यको रुपरेखा कोर्न सक्ने देखेर आफू यस पार्टीमा संलग्न भई यसै पार्टीबाट उम्मेदवारी दिएको बताउँछन् । साथै पराजुली यस ‘राष्ट्रिय स्वतन्त्र पार्टी’बाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरु आफ्ना एजेण्डा एवं वाचाहरुलाई साकार पार्न सक्षम रहेकाले ढुक्क भएर घण्टी चुनाव चिन्हमा मतदानको लागि आग्रह समेत गर्दछन् ।

मंसीर ४ मुलुकको दिगो भविष्य निर्माणको लागि निर्णायक घडी हुने भएकोले कोही कसैबाट प्रभावित नभई आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गर्न समेत पराजुली मतदाताहरुलाई आग्रह गर्दछन् । साथै नेपालको लागि यो पार्टी नयाँ भएपनि घरदैलो कार्यक्रमको क्रममा जनताको उत्साह र उमङ्गले आफूहरुलाई निरन्तर रुपमा अघी बढ्न थप बल प्रदान गरेको दावी समेत गर्छन् उनी ।

जनतालाई सूचनाको हक प्रति जागरुक बनाउने
‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले सुशासन सहितको समृद्धिलाई विशेष महत्व दिएको पराजुलीको धारणा छ । यसका लागि सरकारका सबै तह र निकायबाट हुने सेवाप्रवाहलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने कार्य पहिलो सर्त हुने पराजुलीको दावी छ ।

सार्वजनिक निकायबाट प्रवाह हुने सेवा सेवाग्राहीमैत्री बनाउनको लागि व्यवस्थित सूचना सम्प्रेषण कार्यको भूमिका अत्यन्तै महत्वपूर्ण हुने कुरामा समेत उनी जोड दिन्छन् । सबै नागरिकहरुको चाहना सुशासन सहितको समृद्धि नै भएकोले मुलुकमा भएका विकृति, विसङ्गति र भ्रष्टाचारको उन्मूलन गर्न सबै नागरिकमा सचेतना जागरणको भूमिका अत्यन्तै महत्वपूर्ण रहने पराजुलीको बुझाई छ ।

स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने मुख्य एजेण्डा
राष्ट्रिय स्वतन्त्र पार्टीले देशको आगामी मार्गचित्र कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा सम्पूर्ण विषयवस्तुहरुलाई समेटेर भर्खर मात्र (यही कात्तिक १७ गते) चुनावी वाचापत्र सार्वजनिक गरेको छ । जसमा मूलतः स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने र प्रधानमन्त्री कार्यकारी हुनुपर्ने मुख्य एजेण्डालाई प्राथमिकतामा राखेको छ । जसमा राष्ट्रपति हुनको लागि कुनै राजनीतिक दलमा नलागेको स्वतन्त्र व्यक्ति हुनुपर्ने बुँदालाई विशेष जोड दिइएको छ ।

चुनावी वाचाहरुलाई वास्तविकतामा बदल्नेछौं
वेथितिको अन्त्य गरी सही प्रणाली बसाउन सकेमात्र मुलुकमा सुशासन कायम हुने र यसबाट नै समृद्धिको यात्रा तयार हुने पराजुलीको धारणा छ । अहिले सम्मका सबैजसो राजनीतिक दलहरुले तयार पार्ने घोषणापत्रका बुँदाहरुमा सुशासन र समृद्धिका योजना समेटिएपनि त्यसलाई सही अर्थमा वास्तविकताका बदल्ने शाहस कसैबाट हुन नसकेको स्थिति रहँदै आएको छ । यस प्रणालीलाई चिर्नको लागि नै राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको उनी बताउँछन् ।

युवा जनशक्तिमा विशेष जोड
मुलुक बनाउने भनेको युवाहरुले हो । सोहीकारण सम्भावना बोकेको युवाहरुलाई नेपालमा नै कसरी अवसरको सृजना गर्न सकिन्छ भन्ने मान्यता सहित युवाहरुका योजनामा आफू केन्द्रित रहने पराजुली बताउँछन् । नेपाली युवाहरुका मुद्धाहरुलाई पहिलेबाट नै नजिकबाट महसुस गरेका पराजुलीले युवाका एजेण्डालाई विशेष महत्व सहित अघी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अहिले नेपालमा युवाहरुको सङ्ख्या अधिक रहेको अवस्था छ । यो स्थिति मुलुकको समृद्धिको लागि सुनौलो अवसर हो । अवस्था सधैं एउटै रहँदैन । आगामी २५–३० बर्ष पछाडि नेपालमा युवाहरुको भन्दा प्रौढ र वृद्धवृद्धाहरुको बाहुल्यता हुनेछ । त्यो समयमा मुलुकको राष्ट्रिय आर्थिक भार अत्यन्तै बढेर जानेछ । यसैकारण अहिले नै नेपालका युवाहरुलाई समृद्ध राष्ट्र निर्माणको लागि कसरी खटाउने भन्नेमा मुलुकका राजनीतिक दलहरु अत्यन्तै गम्भीर बन्नुपर्ने जरुरी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सम्म सबै राजनीतिक दलहरुले पूर्वाधार विकासलाई मात्रै समृद्धिको आधारको रुपमा मान्दै आएकोमा अब युवाहरुमा गरिने शिक्षा, स्वास्थ्य र जीवनशैलीको गुणस्तरीयता अभिवृद्धि सहितका कार्यक्रमलाई सँगसँगै अघी बढाए मात्र हाम्रो सपना साकार हुने कुरालाई विशेष जोड दिएको पराजुलीको ठहर छ ।

यसैकारण युवाहरुलाई आवश्यकता अनुसारका विभिन्न तालिम एवं सीप प्रदान गरेर क्षमता विकास एवं उत्पादन केन्द्रित गराई आत्मनिर्भरता सहितको समृद्ध मुलुक निर्माण गर्न तर्फ केन्द्रित गर्नुपर्नेमा समेत पराजुलीले जोड दिएका छन् । अहिले थुप्रै नेपाली जनशक्तिले विभिन्न बाह्य मुलुकहरुमा पुगेर उत्कृष्ट प्रदर्शनी गरिरहेको अवस्थामा आगामी दिनमा ती क्षमतावान् जनशक्तिलाई नेपालमा भित्र्याएर काममा लगाउन सक्ने गरी नीतिगत आधार तयार पार्ने कार्यमा समेत आफूहरुको महत्वपूर्ण भूमिका रहने पराजुलीको धारणा छ ।

अन्त्यमा,सही अर्थमा समृद्धि सपना साकार पार्नको लागि नयाँ योजना र अवधारणलाई भित्र्याउनुपर्ने र कतिपय परम्परागत मान्यतालाई तोड्दै समय र परिस्थिति बमोजिम वर्तमान एवं भविष्यलाई सोचेर अघी बढ्नुपर्ने आवश्यकता औंल्याएका पराजुली भविष्य समृद्ध भएको देख्ने चाहने मतदाताहरुलाई घण्टी चुनाव चिन्हमा मतदान गरी आफ्नो सपना साकार पार्न आग्रह गर्दछन् ।

साथै नेपाली जनताहरुले सकारात्मक परिवर्तनको लागि अहिलेका राजनीतिक दलको विकल्प समेत खोजिरहेको स्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी उपयुक्त विकल्प हुनेमा सबैलाई आग्रह गर्दछन् ।

प्रतिक्रिया