सत्ता प्राप्ति र बहिर्गमनको दौडधुपमा नेताहरू
नुवाकोट । आसन्न मङ्सिर ४ को निर्वाचनलाई लक्षित चुनावी कार्यक्रममा शीर्ष नेतासहित उम्मेदवारको दौडधुप बढेको छ ।
गत बिहीबारदेखि दोस्रो चरणको प्रचार अभियान शुरू गरेका दल तथा उम्मेदवारहरूले मतदातालाई आफ्नो पक्षमा पार्न भेला र आमसभालाई प्राथमिकतामा राख्दै घरदैलो अभियानमा दौडधुप बढाएका हुन् ।
यसै क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह जिल्ला डडेलधुराका नागरिकसँग मत माग्न भ्याई नभ्याई छ । कात्तिक १७ गतेदेखि डडेलधुरामा रहेका सभापति देउवाले जिल्लाका सबै स्थानीय तहमा आमसभा सकेर सोमबार गठबन्धनका उम्मेदवारलाई मत माग्न धनगढी पुग्नुभएको छ ।
गृह जिल्लाको चुनावी सभा सकेर धनगढी पुगेका देउवा त्यहाँका नेता कार्यकर्तासँग भेटघाट गर्ने, पार्टीभित्र देखिएका असन्तुष्टि मेटाउने र गठबन्धनका पक्षमा मत बढाउने कोसिसमा हुनुहुन्छ । उहाँले उम्मेदवार चयनका समयमा असन्तुष्ट बनेका र बागी उम्मेदवारी दिएका नेताहरूलाई समेत बोलाएर सम्झाउने र गठबन्धनका उम्मेदवालाई चुनाव जिताउनका लागि खट्न निर्देशन गर्नुभएको छ ।
धनगढी–५ मा कांग्रेस नेता पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त क्षेत्रमा कांग्रेसका आधिकारिक उम्मेदवार डिल्लीराज पन्तसहित गठबन्धनका उम्मेदवालाई सकस देखिने भएपछि देउवाले बागी उम्मेदवारलाई बोलाएर सुझाएको बताइएको छ । दुईदिने धनगढी बसाइपछि देउवा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका दार्चुला, बैतडीलगायत पडाही जिल्लामा जाने कार्यक्रम रहेको छ । उक्त जिल्लाको संयुक्त सभालाई माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सम्बोधन गर्न पुग्नुहुनेछ ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत हप्ता झापास्थित आफ्नै निर्वाचन क्षेत्रको चुनावी अभियान भ्याएर पश्चिम कञ्चनपुरसम्म पुगेर आमसभा गरिसक्नुभएको छ । सोमबार उहाँले गण्डकी प्रदेशका तीन जिल्ला कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्नुभएको नेकपा एमालेले जनाएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा कम्मर कसेर मतदाता फकाउने अभियानमा हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफ्नै निर्वाचन क्षेत्र रौतहटमै मतदातासँग व्यस्त हुनुहुन्छ । पार्टीका शीर्ष नेताहरू देशभरको निर्वाचनमा आवश्यकताअनुसार दौडधुपमा लागिरहँदा अन्य उम्मेदवारहरू पनि आफ्नो चुनावी क्षेत्रमा खटेर लागेका छन् ।
सत्ता प्राप्ति र सत्ता बहिर्गमनको प्रतिस्पर्धामा लागेका उनीहरूले अनेकन आश्वासन दिएर भए पनि मतदातालाई आफ्नो पक्षमा पार्ने कसरतमा केन्द्रित रहेको स्थानीय नेताहरूले बताएका छन् । ठूला साना दलदेखि स्वतन्त्रहरूले समेत आफ्नो गच्छेअनुसारको प्रचारप्रसार सामग्रीसहित खर्चबर्च गरेर लागेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले गत बुधबारयता नै दर्जनौं भेटघाट र सभालाई सम्बोधन गरिसकेका छन् । नेताहरूको दौडधुपले व्यापकता पाएसँगै निर्वाचनको माहोल एकाएक तातेको छ ।
गत शुक्रबार माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ का प्रतिनिधिसभा उम्मेदवार पुष्पकमल दाहालले ५ वटा सभालाई सम्बोधन गर्नुभएको थियो भने अहिले उहाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएको नेकपा माओवादीले जनाएको छ । दाहाल गठबन्धन दलका कार्यकर्ता फकाउन र विकासको आश्वासन बाँड्दै मतदाता रिझाउन व्यस्त हुनुहुन्छ । उहाँले हालसम्म गोरखा–२ का ५० भन्दा बढी ठाउँमा मतदातालाई भेटघाट गरिसक्नुभएको छ । बूढीगण्डकी बहुउद्देश्यीय परियोजना, बेनीघाट आरुघाट लार्के सडकलगायत राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकतामा राख्ने योजना दाहालको छ । वर्षौंदेखि बन्द गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने विषयलाई समेत दाहालले प्राथमिकतामा राख्नुभएको छ ।
राप्रपाबाट उम्मेदवार बनेकालाई मत माग्न अध्यक्ष राजेन्द्र लिङ्देनसमेत शनिबार गोरखा पुग्नुभएको थियो । चुनावलक्षित जिल्लाभरका उम्मेदवारको संयुक्त आमसभा पालुङटारमा आयोजना गरिएको राप्रपा गोरखाले जनाएको छ । दोस्रो चरणको चुनाव प्रचार अभियानमा नेताहरूको दौडधुप बढेसँगै मतदाताहरूमा समेत भोट हाल्ने चासो बढ्न थालेको स्थानीयहरू बताउँछन् । केही दिन अघिसम्म चुनावका विषयमा खासै मतलव नगर्ने मतदाताहरू अहिले एकाएक चुनावी चासोतिर लागेको सोलुखुम्बुका युवा पुष्कर बाँस्तोलाले बताउनुभयो । सोलुखुम्बुमा २०४८ देखि निरन्तर चुनाव लड्दै आएका बलबहादुर केसी गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।
सभापति देउवाका समकालीन नेता केसी जिल्लाका दूर दराजका गाउँगाउँ पुगेर मत मागिराख्नुभएको बास्तोलाले बताउनुभयो । उम्मेदवारको सक्रियतासँगै मतदातामा समेत चुनावी रौनक छाएको बास्तोलाको भनाइ छ । सबैजसो पार्टीका शीर्ष नेता र अन्य उम्मेदवारले आफ्नो क्षेत्रका मतदातासँग दुईपटक परिक्रमा गरिसकेका छन् । उनीहरूले आफ्नो पार्टीको चुनावी घोषणापत्रसहित स्थानीय घोषणापत्रसमेत बनाएर नागरिकमाझ चुनावी एजेन्डा पस्कँदै मत संकलनमा सक्रिय देखिएको नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता लीलाबल्भव दाहाल (काका) ले बताउनुभयो ।
खेती भित्र्याउने समय भएकाले उम्मेदवारका एजेन्डा सुन्न समय छुट्याउन नागरिकलाई खासै फुर्सद नदेखिए पनि युवापुस्ताका मतदाताले चुनावी अभियानमा साथ दिएर हिँड्न थालेको उहाँको अनुभव छ । जिल्लामा केही दिन यता चुनावी माहोल गर्मागर्मी हँुदै गएको दाहालले बताउनुभयो । अधिकांश उम्मेदवारहरू अहिले मतदाता भेट्न घरघर पुग्ने र आफ्नो एजेन्डा कार्यन्वायन गरेरै छाड्ने वाचा कसम खाइरहेका छन् । तर, मतदाताहरूले भने उम्मेदवारका एजेन्डा प्रति खासै विश्वास गरिहालेको अवस्था छैन ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी गठबन्धनका नेताहरूबीच प्रमुख प्रतिस्पर्धा देखिए पनि यो निर्वाचनमा सानाठूला राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी २ हजार ४ सय १२ रहेका छन् । बीचमा केही उम्मेदवारले मनोनयन फिर्ता लिए पनि बाँकी रहेका उम्मेदवाहरू गाउँगाउँमा मत माग्न व्यस्त छन् ।
यो निर्वाचनमा सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसको नेतृत्वमा मााओवादी–नेकपा एकीकृत समाजवादीसहितको पाँचदलीय गठबनधन र प्रमुख प्रतिपक्षी दल नेकपा एकालेको नेतृत्वमा राप्रपा–जसपालगायतका सात दलको मोर्चाबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । दुवै गठबन्धन दलका नेताहरू आफ्ना कार्यकर्तासँगै स्वतन्त्र मतदातालाई रिझाउन चुनावी मैदानमा व्यस्त देखिएका छन् । यो दौडमा को पहिलो हुने र आगामी सत्ता सम्हाल्ने भन्ने प्रतिस्पर्धा निकै रोचक हुँदै गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया