सत्ता प्राप्ति र बहिर्गमनको दौडधुपमा नेताहरू

विदुर खबर २०७९ कार्तिक २२ गते ७:५८

नुवाकोट । आसन्न मङ्सिर ४ को निर्वाचनलाई लक्षित चुनावी कार्यक्रममा शीर्ष नेतासहित उम्मेदवारको दौडधुप बढेको छ ।

Advertisement

गत बिहीबारदेखि दोस्रो चरणको प्रचार अभियान शुरू गरेका दल तथा उम्मेदवारहरूले मतदातालाई आफ्नो पक्षमा पार्न भेला र आमसभालाई प्राथमिकतामा राख्दै घरदैलो अभियानमा दौडधुप बढाएका हुन् ।

यसै क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह जिल्ला डडेलधुराका नागरिकसँग मत माग्न भ्याई नभ्याई छ । कात्तिक १७ गतेदेखि डडेलधुरामा रहेका सभापति देउवाले जिल्लाका सबै स्थानीय तहमा आमसभा सकेर सोमबार गठबन्धनका उम्मेदवारलाई मत माग्न धनगढी पुग्नुभएको छ ।

Advertisement

गृह जिल्लाको चुनावी सभा सकेर धनगढी पुगेका देउवा त्यहाँका नेता कार्यकर्तासँग भेटघाट गर्ने, पार्टीभित्र देखिएका असन्तुष्टि मेटाउने र गठबन्धनका पक्षमा मत बढाउने कोसिसमा हुनुहुन्छ । उहाँले उम्मेदवार चयनका समयमा असन्तुष्ट बनेका र बागी उम्मेदवारी दिएका नेताहरूलाई समेत बोलाएर सम्झाउने र गठबन्धनका उम्मेदवालाई चुनाव जिताउनका लागि खट्न निर्देशन गर्नुभएको छ ।

धनगढी–५ मा कांग्रेस नेता पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त क्षेत्रमा कांग्रेसका आधिकारिक उम्मेदवार डिल्लीराज पन्तसहित गठबन्धनका उम्मेदवालाई सकस देखिने भएपछि देउवाले बागी उम्मेदवारलाई बोलाएर सुझाएको बताइएको छ । दुईदिने धनगढी बसाइपछि देउवा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका दार्चुला, बैतडीलगायत पडाही जिल्लामा जाने कार्यक्रम रहेको छ । उक्त जिल्लाको संयुक्त सभालाई माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सम्बोधन गर्न पुग्नुहुनेछ ।

Advertisement

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत हप्ता झापास्थित आफ्नै निर्वाचन क्षेत्रको चुनावी अभियान भ्याएर पश्चिम कञ्चनपुरसम्म पुगेर आमसभा गरिसक्नुभएको छ । सोमबार उहाँले गण्डकी प्रदेशका तीन जिल्ला कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्नुभएको नेकपा एमालेले जनाएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा कम्मर कसेर मतदाता फकाउने अभियानमा हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफ्नै निर्वाचन क्षेत्र रौतहटमै मतदातासँग व्यस्त हुनुहुन्छ । पार्टीका शीर्ष नेताहरू देशभरको निर्वाचनमा आवश्यकताअनुसार दौडधुपमा लागिरहँदा अन्य उम्मेदवारहरू पनि आफ्नो चुनावी क्षेत्रमा खटेर लागेका छन् ।

सत्ता प्राप्ति र सत्ता बहिर्गमनको प्रतिस्पर्धामा लागेका उनीहरूले अनेकन आश्वासन दिएर भए पनि मतदातालाई आफ्नो पक्षमा पार्ने कसरतमा केन्द्रित रहेको स्थानीय नेताहरूले बताएका छन् । ठूला साना दलदेखि स्वतन्त्रहरूले समेत आफ्नो गच्छेअनुसारको प्रचारप्रसार सामग्रीसहित खर्चबर्च गरेर लागेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले गत बुधबारयता नै दर्जनौं भेटघाट र सभालाई सम्बोधन गरिसकेका छन् । नेताहरूको दौडधुपले व्यापकता पाएसँगै निर्वाचनको माहोल एकाएक तातेको छ ।

गत शुक्रबार माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ का प्रतिनिधिसभा उम्मेदवार पुष्पकमल दाहालले ५ वटा सभालाई सम्बोधन गर्नुभएको थियो भने अहिले उहाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएको नेकपा माओवादीले जनाएको छ । दाहाल गठबन्धन दलका कार्यकर्ता फकाउन र विकासको आश्वासन बाँड्दै मतदाता रिझाउन व्यस्त हुनुहुन्छ । उहाँले हालसम्म गोरखा–२ का ५० भन्दा बढी ठाउँमा मतदातालाई भेटघाट गरिसक्नुभएको छ । बूढीगण्डकी बहुउद्देश्यीय परियोजना, बेनीघाट आरुघाट लार्के सडकलगायत राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकतामा राख्ने योजना दाहालको छ । वर्षौंदेखि बन्द गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने विषयलाई समेत दाहालले प्राथमिकतामा राख्नुभएको छ ।

राप्रपाबाट उम्मेदवार बनेकालाई मत माग्न अध्यक्ष राजेन्द्र लिङ्देनसमेत शनिबार गोरखा पुग्नुभएको थियो । चुनावलक्षित जिल्लाभरका उम्मेदवारको संयुक्त आमसभा पालुङटारमा आयोजना गरिएको राप्रपा गोरखाले जनाएको छ । दोस्रो चरणको चुनाव प्रचार अभियानमा नेताहरूको दौडधुप बढेसँगै मतदाताहरूमा समेत भोट हाल्ने चासो बढ्न थालेको स्थानीयहरू बताउँछन् । केही दिन अघिसम्म चुनावका विषयमा खासै मतलव नगर्ने मतदाताहरू अहिले एकाएक चुनावी चासोतिर लागेको सोलुखुम्बुका युवा पुष्कर बाँस्तोलाले बताउनुभयो । सोलुखुम्बुमा २०४८ देखि निरन्तर चुनाव लड्दै आएका बलबहादुर केसी गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ।

सभापति देउवाका समकालीन नेता केसी जिल्लाका दूर दराजका गाउँगाउँ पुगेर मत मागिराख्नुभएको बास्तोलाले बताउनुभयो । उम्मेदवारको सक्रियतासँगै मतदातामा समेत चुनावी रौनक छाएको बास्तोलाको भनाइ छ । सबैजसो पार्टीका शीर्ष नेता र अन्य उम्मेदवारले आफ्नो क्षेत्रका मतदातासँग दुईपटक परिक्रमा गरिसकेका छन् । उनीहरूले आफ्नो पार्टीको चुनावी घोषणापत्रसहित स्थानीय घोषणापत्रसमेत बनाएर नागरिकमाझ चुनावी एजेन्डा पस्कँदै मत संकलनमा सक्रिय देखिएको नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता लीलाबल्भव दाहाल (काका) ले बताउनुभयो ।

खेती भित्र्याउने समय भएकाले उम्मेदवारका एजेन्डा सुन्न समय छुट्याउन नागरिकलाई खासै फुर्सद नदेखिए पनि युवापुस्ताका मतदाताले चुनावी अभियानमा साथ दिएर हिँड्न थालेको उहाँको अनुभव छ । जिल्लामा केही दिन यता चुनावी माहोल गर्मागर्मी हँुदै गएको दाहालले बताउनुभयो । अधिकांश उम्मेदवारहरू अहिले मतदाता भेट्न घरघर पुग्ने र आफ्नो एजेन्डा कार्यन्वायन गरेरै छाड्ने वाचा कसम खाइरहेका छन् । तर, मतदाताहरूले भने उम्मेदवारका एजेन्डा प्रति खासै विश्वास गरिहालेको अवस्था छैन ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी गठबन्धनका नेताहरूबीच प्रमुख प्रतिस्पर्धा देखिए पनि यो निर्वाचनमा सानाठूला राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी २ हजार ४ सय १२ रहेका छन् । बीचमा केही उम्मेदवारले मनोनयन फिर्ता लिए पनि बाँकी रहेका उम्मेदवाहरू गाउँगाउँमा मत माग्न व्यस्त छन् ।

यो निर्वाचनमा सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसको नेतृत्वमा मााओवादी–नेकपा एकीकृत समाजवादीसहितको पाँचदलीय गठबनधन र प्रमुख प्रतिपक्षी दल नेकपा एकालेको नेतृत्वमा राप्रपा–जसपालगायतका सात दलको मोर्चाबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । दुवै गठबन्धन दलका नेताहरू आफ्ना कार्यकर्तासँगै स्वतन्त्र मतदातालाई रिझाउन चुनावी मैदानमा व्यस्त देखिएका छन् । यो दौडमा को पहिलो हुने र आगामी सत्ता सम्हाल्ने भन्ने प्रतिस्पर्धा निकै रोचक हुँदै गएको छ ।

प्रतिक्रिया