तीन सातापछि खुल्यो कर्णाली राजमार्ग

विदुर खबर २०७९ कार्तिक ८ गते १३:३३

नुवाकोट । १९ देखि २५ असोजसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।

Advertisement

पहिरोका कारण झन्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । दैलेखोला–जुम्लासम्म १०४ किलोमिटरमध्ये ४० किमि सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुको जनजीवन प्रभावित भएको थियो ।

सडक डिभिजन जुम्ला र नेपाली सेनाको दिनरात खटाइले अपेक्षा गरिएभन्दा छिटो कर्णाली राजमार्ग खुलेको हो । सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले २० दिनपछि सोमबार राति साढे ८ बजेबाट कर्णाली राजमार्ग खुलेको बताए । सडक खुलाउन सडक डिभिजन जुम्लाको एक सयभन्दा बढी जनशक्ति फिल्डमा खटिएका थिए । यस्तै, नेपाली सेनाको नन्दाबक्स गणको ५० जनाको टोली राँचुलीमा क्याम्प नै बसेको थियो ।

Advertisement

दिनरात नभनी साढे दुई हप्तामै राजमार्ग खुलाउन सफल भयौ । तिहारमा कर्णालीबासीलाई उपहारका रुपमा राजमार्ग खुलाउने लक्ष्यअनुसार काम गरेका हौ । सोमबार राति साढे ८ बजेदेखि सडक सञ्चालनमा आएको छ,’ श्रेष्ठले भने ।

तिहारमा घर जान नपाएर अलपत्र परेका नागरिक सडक खुलेपछि उत्साहित भएका छन् । राजमार्गको धनडा सडक खण्डबाट पहिरो पन्छाउने काम सम्पन्न भएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

Advertisement

सडक अवरुद्ध भएपछि आत्तिएका कर्णालीबासीलाई चाँडै राहत दिन कार्यक्षेत्रभन्दा बाहिर कालिकोट क्याम्प बस्ने गरी सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले बताए । ‘यसपालिको विपदमा प्रभावित नागरिकलाई राहत उद्धार तथा पुर्नस्थापनाका लागि सेना गाउँमै खटिएको छ । सोहीअनुसार सडक डिभिजनको समन्वयनमा पहिरो पन्छाउनेदेखि ब्लाष्टिङ गरेर सडक खुलाउन सेना सक्रिय भएको थियो,’ उनले भने ।

सडक खुलेपनि तत्काल सुरक्षित यात्रा हुने छैन । बाढीपहिरोले सडकको दुरावस्था भएकाले यसको स्तरोन्नतिका लागि संघीय सरकारले विशेष प्याकेजसहित बजेटको व्यवस्थापन गर्न जरुरी रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया