नुवाकोटमा डोरीले गाडी तान्नु पर्ने अवस्था अन्त्य गर्‍यौं : सांसद तामाङ

विदुर खबर २०७९ असोज १२ गते ८:२४

नुवाकोट । नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले जिल्लामा गाडी डोरीले तान्नु पर्ने अवस्था अन्त्य गरेको बताउनुभएको छ ।

Advertisement

एक टेलिभिजनलाई मंगलबार अन्तर्वार्ता दिनुहुँदै सांसद तामाङले २०७४ को निर्वाचन जित्ने बेलासम्म नुवाकोटका प्रायः सबै सडक पूर्वाधार अस्तव्यस्त रहेकोमा आफ्नो कार्यकालमा निकै सुधार भएको बताउनुभएको हो । ‘मध्यपहाडी हाइवेको कुरा गरौं । हामी जित्दै गर्दा प्राय: सबै खण्डमा बर्खायाममा डोरीले गाडी तान्नु पर्ने अवस्था थियो, त्यसको अन्त्य भाछ,’ उहाँले थप्नुभयो, ‘गंगटेदेखि गोल्फुभन्जाङ जाने सडक, काठमाडौं झोर जागातदेखि नुवाकोट छहरे पुग्ने सडक त्यस्तै थियो । पानी परेको बेलामा हिँड्नै गाह्रो, हिउँदमा चस्मा, मास्क लगाएर हिँड्नुपर्ने, धुलै धुलै भएर मान्छे नचिन्ने अवस्था थियो । आक्रोशित जनताले आक्रमण नै गर्ला जस्तो अवस्था पार गरेर केही खण्डबाहेक छहरे-टोखा कालोपत्रे, ढलान भएको छ ।’

केही ठाउँमा निर्माण जारी रहेको र त्यसले पनि हिजोको तुलनामा निर्माणले गति लिएको उहाँले बताउनुभयो । आफूले संसद्‌मा रहेर जनजीविकाका मुद्दामा पटक-पटक ध्यानाकर्षण गराउने, शिक्षा तथा स्वास्थ्य समितिमा रहेर कानुन निर्माण र जिल्लाका मतदाता र आम नागरिकका समस्यालाई सम्बोधन गर्न निरन्तर खटिएको पनि उहाँले बताउनुभयो । नुवाकोटमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि काम भइरहेको उल्लेख गर्नुहुँदै सांसद तामाङले तीन तहका सरकारसँग पनि आफूहरुले समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

Advertisement

जिल्लामा विकास निर्माण र अन्य समस्या समाधान गर्ने विषयमा पूर्णरुपमा सन्तुष्ट नहुँदा नहुँदै पनि जनताले कस्तो नेतालाई भोट दिएर पठाएछौं भनेर नाक खुम्च्याउनुपर्ने अवस्था आफूले सिर्जना नगराएको उहाँले दाबी गर्नुभयो । जिल्ला विकासका लागि कोरोना भाइरस महामारीका कारणले जति पहल गर्नुपर्ने त्यो नभएको स्वीकार्नुहुँदै उहाँले अब जितेपछि त्यसलाई गति प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गठबन्धनका तर्फबाट नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने लगभग निश्चित बनिसक्नुभएका तामाङले जित्न कुनै समस्या नरहेको बताउनुभयो । ‘हाम्रो जितको आधार जनताको विश्वास हो । अर्कोकुरा त्यस निर्वाचन क्षेत्रमा बलियो शक्ति माओवादी केन्द्र र नेपाली कांग्रेस नै हो । गठबन्धन गरेर हामी चुनावमा गइराखेका छौं । स्थानीय तहको चुनावले पनि त्यो पुष्टि गर्छ,’ उहाँले भन्नुभयो, ‘४५ वडामा कांग्रेस र माओवादीले १८/१८ , ७ पालिकाहरुमा ४ अध्यक्ष कांग्रेसले र ३ अध्यक्ष माओवादीले जितेको छ । ७ उपाध्यक्षमध्ये माओवादी ५ र कांग्रेसले २ मात्र जितेको छ । गठबन्धन एउटा र जनताको बीचमा विश्वासिलो ढंगले काम गरेकोले पनि हामी जित्छौं ।’

Advertisement

प्रतिक्रिया