देउवाप्रति कठोर बन्दै कोइराला समूह

विदुर खबर २०७९ असोज ९ गते ८:३८

नुवाकोट । निर्वाचन आयोगमा पार्टीको तर्फबाट पेस गरेको समानुपातिक बन्द सूची नसच्याए अर्को विकल्पका लागि तयार रहन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संस्थापनइतर समूूहका नेताहरूले चेतावनी दिएका छन् ।

Advertisement

‘समान अवसर र न्यायका निम्ति’ शनिबार काठमाडौंको नयाँ वानेश्वरमा खबरदारीसभा गरेका डा. शेखर कोइराला समूहका नेताहरूले सभापति देउवाले कार्यशैली नसच्याए अर्को विकल्प खोज्ने चेतावनी दिएका हुन् ।देउवा समूहले समानुपातिक बन्दसूची एकलौटी ढंगले बनाएर आयोगमा बुझाएको भन्दै ती नेताहरू आक्रोश पोखे ।

उनीहरूले नेतृत्वसँग कार्यकर्तालाई न्याय र पार्टीको निर्णय पारदर्शी हुनुपर्ने माग गर्दै बालुवाटारमा गठबन्धनको अखडा बनाएर पार्टी खुम्च्याउने खेल भइरहेको आरोप लगाए ।

Advertisement

गठबन्धनभित्र भागबण्डाको बखेडा कायमै रहिरहेको अवस्थामा कांग्रेसको आन्तरिक राजनीतिक बेमेल बढेसँगै सभापति देउवालाई सत्ता गठबन्धन दलहरूबीचको चुनावी एकतालाई कायम राख्दै आन्तरिक पार्टी व्यवस्थापन गर्न चुनौती थपिएको छ । देउवामाथि पार्टीको आन्तरिक समूह व्यवस्थापनलाई बेवास्ता गर्दै गठबन्धनको भागबण्डामा केन्द्रित भएको आरोप लगाउँदै संस्थापनइतर समूहले सार्वजनिक रूपमा खबरदारीसभा गरेर सच्चिन दबाब बढाएको नेपाली कांग्रेस प्रदेशनम्बर १ कार्यसम्पादन समितिका सदस्य कुमार लुइटेलले बताउनुभयो ।

खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रिक पार्टीका सभापति तानाशाही प्रवृति देखाएर फरक मत राख्नेहरूलाई पाखा लगाउने रणनीतिमा लागेकाले त्यसको विरुद्धमा खबरदारी गर्न बाध्य भएको बताउनुभयो ।प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले मङ्सिर ४ को निर्वाचनपछि पुनः प्रधानमन्त्री बन्ने रणनीतिका साथ विपक्षी दलहरूलाई समेत मिलाएर आफ्नो पक्षमा माहोल तयार गर्न लागेपछि पार्टीभित्र यो अवस्था आएको नेताहरूको भनाइ छ । खबरदारी भेलाको अध्यक्षता गर्दै कांग्रेस नेता जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्ने बताउनुभयो ।

Advertisement

पार्टीभित्र भएको अन्यायको खबरदारी बालुवाटारसम्म सुनाउनका लागि यो कदम चाल्नु परेको भन्दै उहाँले भन्नुभयो– ‘सभापति देउवाले चुनावपछि को प्रधानमन्त्री बन्नेबाहेक पार्टी र जनताका लागि केही गर्नुभएको छैन । पार्टीको आन्तरिक बेमेललाई नमिलाई गठबन्धनको बैसाखीले मात्रै खोलो तर्न सकिँदैन ।’ उहाँले पार्टीले बुझाएको समानुपातिकको बन्द सूचीमा समावेश नामहरू निर्वाचन आयोगले दिएको असोज १६ गतेसम्मको समयसीमभित्र नसच्याए आफूहरू विकल्प खोज्न बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो– ‘कांग्रेसमा ६०-४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रूख चिह्नमा भोट हाल्छौं ।’पार्टीको भातृसंगठनहरूको अस्तित्व नै मेट्न लागेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापति देउवालाई पार्टीभन्दा गठबन्धन प्यारो भएको बताउनुभयो । आचार्यले प्रश्न गर्नुभयो– ‘बिहानदेखि बेलुकासम्म कांग्रेसको लागि बालुवाटारमा बैठक हुँदैन । भ्रातृसंस्था लथालिङ्ग पारेर चुनावमा जान किन कांग्रेस खोजिरहेको छ ? उहाँले भ्रातृ संस्थालाई पूर्णता दिने पार्टीको निर्णय किन कार्यान्वयन भएन ?’ सभापतिले कांग्रेस नै गठबन्धनका सहयात्री दलहरूलाई जिम्मा लगाउने जस्तो कार्यशैली देखाएको आरोप लगाउनुभयो ।
नेता भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाउँदै भन्नुभयो– ‘समानुपातिकतर्फको नाममा एकलौटी गरिएको छ । केन्द्रीय सदस्यमा देउवालाई बहुमत छ भन्दैमा चुनावमा बहुमत आउँदैन । मत दिने त जनताले होला नि ?’

त्यस्तै, पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले कांग्रेस विचारको हो कि ब्रिफकेसको हो भनी प्रश्न गर्दै भन्नुभयो– ‘कांग्रेसमा विचार मरेको छ । जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ । बहुमतको नाममा विभेद गर्न पाइँदैन ।’ डोटीका नेता भरत खड्काले उम्मेदवार छनोट न्यायसंगत नभए शेखर पक्षले देशभर उम्मेदवारी दिने आँट गर्नुपर्ने बताउनुभयो । प्रचण्ड र माधव नेपालले बाँड्ने टिकट आफूहरूलाई स्वीकार्य नहुने उहाँको भनाइ छ ।

सभापति देउवाले पार्टीलाई प्राइभेट कम्पनी जस्तो गरी चलाउन खोजेको भन्दै यसैका विरुद्धमा सबैलाई न्याय दिलाउन देउवामाथि खवरदारी गरिएको कांग्रेस नेता गुरुराज घिमिरेले बताउनुभयो । ५० औं वर्षसँगै लडेका सहयात्री नेताहरूलाई छाडेर पाँच दलीय गठबन्धनका नाममा आफू र आफन्तहरूलाई मात्रै व्यवस्थापन गर्ने देउवाको रणनीतिविरुद्ध खरो रूपमा उत्रन आम कार्यकर्तालाई आग्रह गर्दै घिमिरेले भन्नुभयो– ‘पार्टी निर्माण गर्दा पार्टीभित्र समान अवसर र न्यायका निम्ति लडाइँ लड्नु पर्ने अवस्थाको परिकल्पना विपी कोइरालले गर्नुभएको थिएन । तर, अहिले आइपुग्दा यो परिस्थिति सिर्जना भयो । हामी अरू पार्टीसँग भिड्ने बेलामा आफ्नै पार्टीभित्र न्याय र अधिकार खोज्न विवश छौं । यसले हाम्रो लोकतान्त्रिक चरित्र र व्यवहार कहाँ पुग्दैछ भन्ने संकेत गर्दछ ।’

खबरदारीसभामा पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरेका देउवाले गठबन्धनका नाममा पार्टीका सहयात्री नेताहरूभन्दा अन्य दलका नेताहरूलाई नजिक राखेर व्यक्ति केन्द्रित राजनीति गर्न थालेको भन्दै कोइराला समूहले आक्रोश व्यक्त गरेका थिए ।लोकतान्त्रिक पार्टी कुनै गुट र सीमित कार्यकर्ताको मात्रै नहुने भन्दै खबरदारीसभालाई सम्बोधन गरेका नेताहरूले कांग्रेसलाई आम जनताको पार्टी बनाउनुपर्नेमा नेतृत्वले ‘डियर र नियर’ हरूको पार्टी बनाउन खोजेको आरोप लगाए । गठबन्धनका नाममा दैनिक १८ घण्टा समय खर्च गर्ने सभापतिले आफ्ना नेताहरूलाई १८ मिनेट समय दिन नसकेको उनीहरूको गुनासो थियो ।

उनीहरूले गठबन्धनका नाममा पार्टीको आन्तरिक व्यवस्थापनलाई बेवास्ता गरेर नेतृत्वले अरुको पार्टी बलियो बनाइदिन लागेको आरोप लगाए ।खबरदारीसभा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतका पदाधिकारीहरू भने अनुपस्थित थिए भने केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, दिनेश कोइराला, अजयबाबु शिवाकोटी, प्रकाश रसाइली स्नेही, विभिन्न प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

खबरदारी सभामा प्रदेश १ सभापतिका प्रत्यासी नेता गुरुराज घिमिरे, वागमती प्रदेश सभापतिका प्रत्यासी नेता जगदीश्वरनरसिंह केसी, कर्णाली प्रदेश सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाही, वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेत, नेता मनोजमणि आचार्यलगायतसहित सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूले विचार राखे । सम्बोधनका क्रममा अधिकांश नेताहरूले भ्रातृसंगठनको जिम्मेवारी तोक्दादेखि पार्टीको केन्द्रीय समितिमा मनोनयन र समानुपातिक सूचीमा उम्मेदवार छनोट गर्दासम्म सभापति देउवाले एकलौटी गरेको र प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा समेत त्यस्तै प्रवृत्ति दोहो¥याउने आशंका व्यक्त गरे । उनीहरूले नेतृत्वको प्रवृति विरुद्धमा विद्रोह गर्ने चेतावनीसमेत दिए ।

उनीहरूले नेतृत्वबाट न्यायोचित टिकट वितरण हुनुपर्ने, आन्तरिक सिट बाँडफाँटमा ४० प्रतिशत भाग दिनुपर्ने, पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने जस्ता मागहरू अघि सारेका छन् । चुनावमा भोट माग्न जनताका घरदैलो जानेबेलामा नेताहरूले पार्टीभित्रको रडाको व्यवस्थापन गर्न नसक्दा गठबन्ध गरे पनि नेपाली कांग्रेसप्रति आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम सकारात्मक नआउने देखिन्छ ।

नेपाल समाचारपत्रबाट ।

प्रतिक्रिया