असोजदेखि सवारी लाइसेन्समा नयाँ मापदण्ड

विदुर खबर २०७९ भदौ २९ गते ७:२०

नुवाकोट । वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ ।

Advertisement

संघीय सरकारको यातायात व्यवस्था विभागले तयार गरेको निर्देशिकाअनुसार ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाअनुसारको मापदण्ड लागू गर्न लागिएको वाग्मती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए । ‘अन्य प्रदेशले नयाँ मापदण्ड लागू गरिसकेका छन् ।

हामी पनि असोज १ बाट लाइसेन्सको परीक्षा हुने पाँचै यातायात कार्यालयबाट नयाँ निर्देशिकाअनुसार परीक्षा सञ्चालन गर्नेछौं,’ उनले भने । प्रदेशको हेटौंडामा एउटा र काठमाडौंमा चारवटा स्थानबाट लाइसेन्सको परीक्षा सञ्चालन हुन्छ । चालु आर्थिक वर्षभित्रै चितवन र सिन्धुलीको खुर्कोटबाट पनि लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

नयाँ निर्देशिकाअनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइएको छ । मोटरसाइकलको परीक्षामा कहींकतै छोए वा भुइँ टेकेमा अनुत्तीर्ण नहुने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन । रेखा छोएमा पाँच अंक घट्नेछ । एक पटक खुट्टाले भुइँमा टेके पाँच अंक घट्नेछ ।

युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक र ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्नेछ । अंक घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन । खाल्टाखुल्टीमा एक पटकसम्म भुइँ टेकेमा पाँच र एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अंक घट्ने व्यवस्था गरिएको छ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अंक घट्ने व्यवस्था निर्देशिकामा रहेको छ । हेलमेटको लक नलगाई सवारी चलाएमा पनि चार अंक घट्नेछ ।

Advertisement

प्रतिक्रिया