आजबाट कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियान शुरू

विदुर खबर २०७९ भदौ १० गते ९:०२

नुवाकोट । नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी आजदेखि १५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

Advertisement

पहिलो चरणको यो अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने छ । लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले अभियानले आगामी निर्वाचनमा कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै बलियो बनाउने बताउनुभयो ।

अभियानले कुन ठाउँमा पार्टीको अवस्था के छ र कसरी सुधार गर्न सकिन्छ भन्ने तल्लो तहसम्म पुगेर छलफल गर्छ’, पुनले भन्नुभयो– ‘कांग्रेसप्रति जनताको अपेक्षा के रहेछ भनेर बुझ्ने र के गर्दा कांग्रेसप्रति जनताको विश्वास लिन सकिन्छ भन्नेबारे पनि बृहत् रूपमा छलफल गरिन्छ ।’

Advertisement

उहाँले अभियानमा कांग्रेसको मात्र नभएर गठबन्धनमा रहेका अन्य दलको पनि अवस्था बुझ्ने र निर्वाचनमा कुन दललाई टिकट दिँदा जित्न सकिन्छ भन्ने विषय पनि उठाइने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा देखिएका आपसी द्वन्द्वलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रदेश कार्यसमितिले पनि प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाइएको पनि जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धनको अवस्थाका साथै कांग्रेसको सम्भावनाका बारेमा अभियान केन्द्रित हुने बताउनुभयो । ‘यो अभियानले कांग्रेसलाई थप ऊर्जाशील र गतिशील बनाउँछ, अरू पार्टीसँग तालमेलको मोडेलका बारेमा पनि विशेष छलफल हुन्छ’, महरले भन्नुभयो– ‘कांग्रेसप्रति जनताको धेरै अपेक्षा छ, जनताको अपेक्षालाई कांग्रेसले कसरी सम्बोधन गर्न सकिन्छ भन्ने उपाय पनि खोजिन्छ ।’

Advertisement

महरले स्थानीय तहको जस्तै यो अभियान पनि सबै वडासम्म पुग्ने बताउनुभयो । महरले कांग्रेसले र गठबन्धनले जित्ने हरेक उपायका बारेमा अन्य दलसँग छलफल हुने जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य धना खतिवडाले आगामी निर्वाचन कांग्रेसका लागि अवसर भएको बताउनुभयो । ‘जिल्लामा खटिएका साथीहरुले त्यहाँको अवस्था जस्तो छ त्यस्तै रिपोर्ट ल्याउनुपर्छ अनि मात्र कसरी जाने भन्ने योजना गर्न सकिन्छ’, उहाँले भन्नुभयो– ‘अभियानले हाम्रा सवल र दुर्बल पक्ष के छन् र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्छ ।’

खतिवडाले स्थानीय तहको निर्वाचनबाट पार्टीले र गठबन्धनले पाठ सिकेकाले जहाँ जसको बलियो सम्भावना छ त्यसलाई आधार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा जितेकालाई यो गठबन्धनबाट फेरि पनि टिकट दिनुपर्छ भन्ने तर्क व्यावहारिक नभएको बताउनुभयो । उहाँले त्यति बेला र अहिलेको परिस्थिति फरक भएकाले सचेत रहन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका कांग्रेस प्रवक्ता प्रचण्डविक्रम न्यौपानेले अभियानले कांग्रेसका र गठबन्धनका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने बताउनुभयो । ‘केन्द्रको नीतिअनुसार गठबन्धन भएकाले हामीले अरू दललाई पनि मिलाएर लानुपर्ने भएकाले सबैको अस्तित्व स्वीकार्ने गरी टिकट बाँडफाँट हुनुपर्छ भन्ने साझा धारणा तयार गर्न अभियान सार्थक हुने छ’, प्रवक्ता न्यौपानेले भन्नुभयो– ‘स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मानेर सिट बाँडफाँट गर्न सकियो भने हामीलाई र गठबन्धनलाई फाइदा हुन्छ भनेर छलफल गरिरहेका छौं ।’

गत शनिबार पार्टी प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर यो अभियान चलाइने जानकारी दिनुभएको थियो । कांग्रेसले दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारी दर्तापछि हुनेछ । तेस्रो तथा निर्णायक अभियान प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने पनि जनाउनुभएको छ ।

प्रवक्ता महतले नागरिकले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने, नागरिकको भावना अनुसार रूपान्तरण र विकास परियोजनाबारे नागरिकसँगै छलफल गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा नागरिकलाई जानकारी गराउने र चुनावमा कांग्रेसको जितका लागि वातावरण बनाउने उद्देश्यसहित अभियानमा जान लागेकोे बताउनुभयो ।

स्थानीय तहलाई लक्षित गरी कांग्रेसले ‘घर–घर जाऊँ कांग्रेस जिताऔं’ अभियान शुरु गरेको थियो । अभियान फागुन २९ देखि एक महिना चलेको थियो ।

प्रतिक्रिया