आज बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

विदुर खबर २०७९ साउन २६ गते ७:५७

नुवाकोट । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ।

Advertisement

हाल देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  दिउँसो  मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Advertisement

यस्तै आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी  प्रदेशको थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको महाशाखाले जनाएको छ।

Advertisement

शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहने मौसम शनिबार प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी  प्रदेश र कर्णाली प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ।

साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया