बजार नियन्त्रणको दायित्व बिर्संदै स्थानीय तह
नुवाकोट । संघीय संरचनासँगै बजार अनुगमनको दायित्व प्रदेश तथा पालिकालाई दिइएको छ ।
संविधानको अनुसूची ८ ले दिएको अधिकारअनुसार पालिकामा बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा स्थानीय तहको हो । तर बजार अनुगमनमा पालिकाको रुचि छैन । अनुगमनमा पालिका सक्रिय नहुँदा एकातर्फ बजारभाउ बढ्दो क्रममा छ भने अर्कोतर्फ नियन्त्रणबाहिर गएको पनि छ । प्रदेश र पालिकाकै लापरबाहीका कारण कतिपय जिल्लामा सर्वसाधारण म्याद नाघेका वस्तु उपभोग गर्न बाध्य छन् ।
‘०७२ सालमा संविधान आयो । त्यहाँ उल्लिखित अधिकारअनुसार कानुन/कार्यविधि बनाएर तत्काल बजार अनुगमन गर्नुपर्थ्यो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर, उपभोक्ताप्रति जिम्मेवार नहुँदा बजार अस्तव्यस्त भयो । पालिकाहरू उपभोक्ताप्रति जिम्मेवार नै भएनन् ।’ पालिकासँगै बजार अनुगमन र मूल्य नियन्त्रणको दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पनि हो । संविधानले पूर्ण भूमिका पालिकालाई दिए पनि नीतिनियम बनाउने निकाय वाणिज्यले हो । तर पालिकाले जिम्मेवारी पूरा नगर्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको वाणिज्यका अधिकारी नै बताउँछन् ।
‘प्रदेश र पालिका भनेको घरआँगनका सरकार हुन् । तर उनीहरू सक्रिय नहुँदा अनुगमन प्रभावकारी भएन,’ वाणिज्य विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने, ‘७७ जिल्लाका ७ सय ७३ पालिकामा अनुगमनका लागि अधिकृत तोकेका छौं । तर, अहिलेसम्म प्रभावकारी काम भएको छैन । पालिकामा पत्राचार गरे पनि सक्रियता देखाएनन् ।’ वाणिज्यले उपभोक्ता संरक्षण ऐन ०७५ कार्यान्वयन गर्न पालिकामा निरीक्षण अधिकृत तोकेको हो । पालिकाले अनुगमन नगरिदिँदा विभागले प्रतिदिन ४/५ टोली खटाए पनि प्रभावकारी हुन नसकेको दाबी गरिएको छ ।
‘वाणिज्यले नीति बनाउने हो, हाम्रो काम सहजीकरण गरिदिने हो । तर अनुगमन गर्नुपर्ने बाध्यता छ,’ शर्माले भने, ‘अहिले साबिकबमोजिम ४/५ टोली अनुगमन गरिरहेका छौं । अनुगमनको संख्या कम भए पनि नमुना ल्याएर परीक्षण गर्न दिएका छौं ।’
पछिल्लो समय अख्तियारको उजुरीका आधारमा होटल, रेस्टुराँ र खाद्यान्न पसलमा केन्द्रित गरिएको छ । पानीको गुणस्तरका विषयमा पनि अनुगमन भइरहेको जनाइएको छ । ‘पानीको जारमा अनुगमन र नमुना परीक्षण गर्दा कोलिफर्मको मात्रा अत्यधिक देखियो । कोलिफर्म शून्य हुनुपर्नेमा ३ सय प्रतिशतभन्दा बढी देखियो,’ शर्माले भने, ‘गुणस्तरमा खेलबाड गर्नेलाई अधिकतम ३ लाख रुपैयाँसम्म जरिवाना गरेका छौं ।’ गुणस्तरका हकमा अनुगमन गर्ने दायित्व भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो । पछिल्लो समय पानीमा समस्या देखिएको खाद्यकी महानिर्देशक मतिना जोशी वैद्यले बताइन् । ‘प्रतिदिन दुई टोलीबाट अनुगमन गरेका छौं । तर विडम्बना गाडीको सुविधा छैन । अनुगमन गर्नकै लागि बजेट पनि छैन, यति हुँदाहुँदै पनि काम भइरहेको छ,’ उनले भनिन्, ‘जिल्लामा डिभिजन कार्यालयबाट पनि अनुगमन भइरहेको छ ।’
विशेषगरी प्रशोधित पानी, डेरी, बजार र दुग्ध उद्योगमा पनि अनुगमन भइरहेको उनको भनाइ छ । यद्यपि अनुगमन मुख्यतः पानी उद्योगलाई नै लक्ष्य गरिएको उनले बताइन् । ‘सिल जारभन्दा खुला जारको पानीमा बढी समस्या देखिएको छ, उपभोक्ताले कोतरिएको जारको पानी प्रयोग गर्न भएन । सफा जार, खाद्य प्रविधिको कोड भएको जारको मात्रै पानी प्रयोग गर्नुपर्यो,’ उनले भनिन् । खाद्यले विशेषगरी खाद्यवस्तुको गुणस्तर निरीक्षण गर्छ । सिमेन्ट, रड, डन्डी, लत्ताकपडालगायतको गुणस्तर र तौलको अनुगमन गुणस्तर तथा नापतौल विभागले गर्ने हो ।
गुणस्तर विभागका महानिर्देशक दीनानाथ मिश्रले पनि बजार अनुगमन भइरहेको दाबी गरे । ‘दिनदिनै एकदुई टोली खटाएका हुन्छौं । एनएस लिएका वस्तु, सिमेन्ट, रडलगायत वस्तुलाई केन्द्रित अनुगमन भइरहेको छ,’ उनले भने । केन्द्र सरकारका निकायले अनुगमन गरिरहेको दाबी गरे पनि बजार भने सुधार छैन । उपभोक्ता अधिकारकर्मी भने सर्वसाधारण नुनदेखि सुनसम्ममा ठगिएको दाबी गर्छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणको बहाना बनाउँदै धेरैजसो खाद्यवस्तु र निर्माण सामग्रीको भाउ बढेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले पत्रकार सम्मेलन गरेर देशभरै एकसाथ अनुगमन गर्ने बताए पनि त्यो विषय भाषणमा मात्र सीमित भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
कान्तिपुर दैनिकबाट साभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया