पेट्रोल लिटरको १९९ पुग्यो, ग्याँसको मूल्य यथावत

विदुर खबर २०७९ असार ६ गते ७:३७

नुवाकोट । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ।

Advertisement

आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ।  यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। 

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ।

Advertisement

खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ। एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रूपैयाँ छ।

निमगले यसअघि जेठ २६ गते पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो। भारतीय आयल कर्पोरेसन (आईओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको निगमले बताएको छ।

Advertisement

निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१.१४ रूपैयाँ घाटा छ। ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ।

नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा दुई अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमले बताएको छ।

प्रतिक्रिया