नुवाकोटमा जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादीको गठबन्धन हुने

विदुर खबर २०७९ जेठ २५ गते १४:४९

नुवाकोट । नुवाकोटमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ ।

Advertisement

नुवाकोटमा जिल्ला समन्वय समिति गठन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गरेका छन् ।

बुधवार नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महत र माओवादी केन्द्रका नुवाकोटका संयोजक पुष्प लामिछानेविच जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको हो ।

Advertisement

सहमति अनुसार माओवादी केन्द्रले जिल्ला समन्वय समितिको प्रमुखसहित ३ सदस्य पाउने छ भने नेपाली कांग्रेसले उपप्रमुख सहित ४ सदस्य पाउने भएको छ ।

जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन । नुवाकोटमा जिसस गठनको लागि कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन ।

Advertisement

जिल्लाका १२ वटा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको गरी २४ जना मतदाता छन । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख ÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षबाहेकका मतदाता हुँदैनन ।

निर्वाचित जनप्रतिनिधिहरूको अंकगणितको आधारमा नुवाकोटमा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । माओवादीको ४ जना प्रमुख र ८ जना उपप्रमुख छन ।

त्यस्तै, नेपाली कांग्रेसको ७ जना प्रमुख र ४ जना उपप्रमुख छन भने नेकपा एमालेले एक स्थानिय तहमा प्रमुख जितेको छ ।

समन्वय समिति प्रमुख र उपप्रमुखसहित नौं सदस्यीय हुन्छ । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ ।

अन्य पाँच सदस्य गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यमध्येबाट हुनेछन । उनीहरू जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखजस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

नुवाकोटमा जिल्ला समन्वय समिति गठन गर्न बहुमत १३ जना आवश्यक हुन्छ । ठूलो दलको हैसियतले माओवादी र कांग्रेसले तालमेल गर्दा बहुमत पुग्छ । यी दुई दल मिल्दा २३ मत हुने देखिएको छ ।

प्रतिक्रिया