जिसस नुवाकोटको प्रमुखमा सागरको चर्चा

विदुर खबर २०७९ जेठ १० गते २०:१५

नुवाकोट । स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति गठनको बाटो खुलेको छ ।

Advertisement

जिल्ला समन्वय समिति स्थानीय तह निर्वाचन ऐन ०७३ अनुसार अब गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिका प्रमुखमा उमेदवार हुन पाउने छन । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउने नियममा व्यवस्था रहेको छ ।

स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै नुवाकोटमा सबैको ध्यान जिल्ला समन्वय समितिको तर्फ मोडिएको छ । जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रको मत बढी रहेको कारण माओवादी केन्द्रले नेतृत्व पाउने निश्चितजस्तै भएको छ ।

Advertisement

अहिले माओवादी केन्द्रको तर्फबाट विदुर–१२ का रामचन्द्र पौडेल (सागर) को नाम जिल्ला समन्वय समितिको अध्यक्षको रुपमा चर्चामा आउन थालेको छ । नेकपा माओवादी केन्द्रको वडा तहमा रहेका सबैभन्दा बढी सिनियर नेताको रुपमा परिचति छन् ।

माओवादी केन्द्रको विदुर नगर इन्चार्ज तथा जनयुद्धका घाइते समेत रहेका पौडेल रसहिद बिमला पौडेलका सहोदर दाजु समेत हुन । लामो समय माओवादी केन्द्रबाट राजनिति गरेका उनले अहिलेसम्म कुनैपनि सार्वजनिक पद घारणा गरेका छैनन ।

Advertisement

सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीवित जिल्ला समन्वयमा समेत गठबन्धन हुने भएकोले समन्वय अध्यक्ष माओवादीले पाएपछि उप–प्रमुख कांग्रेसले पाउने छ । यस्तै गठबन्धनका दलहरुवीच छलफल गरेर सदस्यको बाँडफाँड गर्ने समेत दलहरुको तयारी रहेको छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा बाग्मति प्रदेशसभाका सांसद हिरानाथ खतिवडाले जिल्ला समन्वयमा आफुहरु संख्याको आधारमा पहिलो बनेकोले अध्यक्ष स्वत आफ्नो पार्टीले पाउने बताए । उनले माओवादी केन्द्रबाट समन्वय प्रमुखमा रामचन्द्रको संभावना वलियो रहेको समेत बताए ।

यस्तै नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले जिल्ला समन्वय समितिको गठनको विषयमा गठबनधनको दल माओवादीसँग अनौपचारिक छलफल भइरहेको बताए । समन्वय गठनको विषयमा सामान्य छलफल भएको छ तर नेतृत्व कसले लिने भन्ने विषयमा छलफल भएको छैन महतले विदुर खबरसँग भने ।

जिल्ला समन्वय समिति नुवाकोटमा कुल मत २४ रहेकोमा माओवादी केन्द्रसँग १२ मत छ भने नेपाली कांग्रेससँग ११ र नेकपा एमालेसँग १ मत रहेको छ ।

जिसस उपप्रमुख कांग्रेसले लिएको खण्डमा विदुर १३ का निर्वतमान वडाध्यक्ष दलवहादुर तामाङ वा बेलकोटगढी ७ की महिला वडा सदस्य गमला लामाको नाम चर्चामा छ ।

कसरी हुन्छ समन्वय समिति गठन ?
जस्तो नुवाकोटमा १२ स्थानीय तह छन । जिल्ला समन्वय समितिमा १२ स्थानीय तहबाट निर्वाचित भएका सबै सदस्यहरु उमेदवार बन्न पाउँछन ।

तर, मताधिकार भने १२ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी जम्मा २४ जनाले मात्रै मत दिन पाउने छन् । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुनेछन । समितिमा तीन सदस्य महिला अनिवार्य हुने नियममा व्यवस्था रहेको छ ।
अन्य पाँच सदस्यहरु गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरुबाट उमेदवार भएर आउनेछन । र, उनीहरु पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुनेछन ।

जिल्ला समन्वय समिति कार्यकारी हुनेछ भने जिल्ला सभा कार्यकारी नहुने र वर्षको एकपटक यसको सभा हुने ऐनमा व्यवस्था रहेको छ ।
स्थानीय तह निर्वाचन सम्पन्न भएर सबै निर्वाचितहरुले सपथ लिएपछि जिल्ला समन्वय समितिको प्रक्रिया सुरु हुनेछ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समिति निर्वाचनका लागि सूचना प्रकाशित गर्ने व्यवस्था रहेको छ ।

गाउँपालिकामा गाउँ कार्यपालिका र गाउँसभा गठन हुनेछ भने नगरमा नगर कार्यकापलिका र नगरसभाको गठन हुने नियममा व्यवस्था रहेको छ । गाउँसभालाई व्यवस्थापकीय अधिकारी हुन्छ । यो समितिले ऐन नियम बनाउने सबै अधिकार राखेको हुन्छ ।

प्रतिक्रिया