नुवाकोटको सिसडोलमा अवरोध हुँदा उपत्यकाको फोहोर उठेन

विदुर खबर २०७९ वैशाख २१ गते २०:०५

नुवाकोट । पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ ।

Advertisement

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाण्डाै उपत्यकाका नागरिकले भोग्नुपरेको छ ।  पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाण्डाै उपत्यकाको १८ पालिकाकाे फोहर व्यवस्थापन कार्य रोकिएको छ ।

अहिले फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटमा रहेकाे सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो । 

Advertisement

काठमाण्डाै महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहर व्यवस्थापन गरे पनि नियमित परेको वर्षा र स्थानीयले फोहरको गाडी लैजान नदिने भनेपछि अहिले फोहर लैजाने काम पूर्ण रुपमा ठप्प भएको छ । लामो समयसम्म सडकमा फोहर थुप्रिँदा आवतजावत गर्न समस्या भएको छ ।

फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । उहाँका अनुसार २०७० सालदेखि सुरु गरिएको सडक अहिले‍सम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । 

Advertisement

‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, राईले भन्नुभयो, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ सिसडाेल भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । अहिले फोहर व्यवस्थापन भइरहेको ठाउँभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लैजाने गरिन्छ ।  

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गएकाे फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको व्यवस्थापन हुन सकेन ।

नियमित पानी पर्न सुरु गरेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आउँदाे दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने काठमाण्डाै महानगरकाे भनाइ छ । फोहरकै करण आउने दिन उपत्यकामा ठूलो समस्या आउने भन्दै प्रमुख राई त्यस समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताउनुहुन्छ । 

प्रतिक्रिया