३४ वर्षपछि धार्के-सितापाइला सडकको स्तरोन्नति प्रक्रिया सुरु

विदुर खबर २०७९ वैशाख १ गते १९:३१

नुवाकोट ।  नागढुंगा-नौबिसे सडकको विकल्पका रूपमा रहेको धार्के-सीतापाइला सडक ट्रयाक खोलेको ३४ वर्षपछि स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ।

Advertisement

सडक सम्पन्न गर्नका लागि चाहिने बजेट सरकारले ५५ करोड रुपैयाँको सुनिश्चित गरिदिएपछि यसको निर्माणका लागि ठेक्का आह्वान गरिएको छ।

सडक डिभिजन कार्यालय नुवाकोटले धार्के-सितापाइला सडकको धादिङ खण्डको धार्केदेखि ठुलो खोलासम्म १४ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको हो। यसका लागि एक वर्षको समयावधिमा निर्माणको काम सक्ने गरी ठेक्काको प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन नुवाकोटका प्रमुख अम्रितमणि रिमालले बताए। 

Advertisement

ठुलो खोलादेखि सितापाइलासम्म १० किलोमिटर रहेको छ। सितापाइलादेखि रामकोट सम्मको ५ किलोमिटर सडक ६ देखि ११ मिटरसम्म कालोपत्रे नै भइसकेको छ। रामकोटदेखि काठमाडौं-धादिङको सीमाना ठूलो खोलासम्मको बाँकी ५ किलोमिटर सडकमा भने अहिले धमाधम काम भइरहेको प्रमुख रिमालले बताए।

२०७८ साउन १५ गते ठेक्का सम्झौता भएको उक्त सडकको काम निर्धारित समयमा सकिएमा आगामी साउनभित्र अधिकांश ठाउँमा १२ मिटर चौडा सडक कालोपत्रे हुनेछ। सितापाइलादेखि रामकोटसम्मको सडक स्तरोन्नती गर्न  सरकारले २७ करोड रुपैयाँ खर्चेको थियो।

Advertisement

रामकोटदेखि ठूलो खोलासम्मको सडक स्तरोन्नतिका लागि यो वर्ष ३५ करोड ३० लाख रुपैयाँको ठेक्का लगाइएको थियो। उक्त सडक कान्छाराम-सिएम-वेदान्शी जेभीले स्तरोन्नती गरिरहेको छ।

पछिल्लो समय नागढुंगा-मुग्लिन सडक चार लेनको बनाउने योजनाअनुसार ठेक्का लागि सकेको छ। यसको पनि आगामी बैशाखबाट निर्माण कार्य सुरु हुँदै छ। त्यसैले सरकारले धार्के-सितापाइला सडकलाई विकल्पको रुपमा लिएको  छ। 

यो सडक खण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ) देखि रामकोट-भीमढुङ्गा-महेशफाँट हुँदै धार्के पुग्नेछ। सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यस सडक खण्डको चौडाइ १२ मिटर हुने डिभिजन कार्यालयले जनाएको छ। तर कतै मूआब्जाको विवाद नमिल्दा योभन्दा पनि कम चौडाईको सडक तयार हुनेछ।  यो सडक खण्ड दुई लेनको हुनेछ।

यो सडक खण्डमा ढुवानी गर्ने ठुलो सवारीहरु भने चल्न पाउने छैनन्। ‘एकतर्फीरुपमा भने कन्टेनर पनि चल्न सक्छन्। ‘तर त्यसका लागि सम्भव नहुन पनि सक्छ,’ रिमालले भने, ‘बिचबिचमा सडक साँघुरो हुने भएकाले साइड दिन अप्ठेरो हुने देखिन्छ।’

अर्कोतर्फ, यस सडकको निर्माण कार्य समयमा सकिए मात्र नागढुंगा-मुग्लिन सडक विस्तारको काम अघि बढाउन सकिने विभागको भनाइ छ। यो सडक नबनेसम्म सवारी आवागमनका लागि नागढुंगा-मुग्लिन सडक नै प्रयोग गर्नुको विकल्प नभएकाले त्यसलाई चार लेनमा विस्तारको योजनामा काम गर्न असम्भव छ।

यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुँदै काठमाडौं आउजाउ गर्ने यात्रुलाई सहज हुनेछ भने नागढुंगा-मुग्लिन सडक चार लेनको पार्ने क्रममा धार्केदेखि काठमाडौंतर्फको यातायात व्यवस्था पनि सहज हुने रिमाल बताउँछन्। दुरीका हिसाबले पनि नौबिसे-नागढुंगा रुटभन्दा धार्के-सीतापाइला सडक काठमाडौं प्रवेशका लागि छोटो पर्छ। 

तर काठमाडौं आउजाउमा अहिले प्रयोग हुँदै आएको प्रमुख सडकको विकल्पमा यसलाई हेरिएको भए पनि हाल यो बाटोमा साना सवारी मात्र आवतजावत गर्ने मिल्ने भएकाले यसलाई फराकिलो पारेर कालोपत्रे नगरी सुख नभएको पनि रिमालको भनाइ छ। अब हुने सडक स्तरोन्नतिले मात्र यो सडकमा गाडीहरु चलाउनका लागि सहज हुने उनी बताउँछन्।

२०४४ सालमै ट्रयाक खोलिएको यो सडक त्यसयता सामान्य स्तरोन्नति हुँदै आएको भए पनि लगभग ज्युँका त्युँ छ भन्दा फरक पर्दैन। सोही कारण अझैसम्म पनि साना सवारी साधन समेत बाह्रैमास चल्न सक्ने अवस्थामा छैन यो सडक। उपत्यका प्रवेश तथा बाहिर जानका लागि ट्राफिक चाप व्यवस्थापनका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको यो सडक स्रोत अभावकै कारण वर्षौंदेखि निर्माणकै चरणमा अल्झिएको थियो। 

प्रतिक्रिया